म्याङ्दी । म्याग्दीको बेनी नगरपालिका ४ स्थित म्याग्दी नदीको किनारमा प्राकृतिक रुपमा बिरेनुनको गन्ध आउने ५० डिग्री सेल्सीयस तापक्रममा निस्कने तातोपानीलाई संकलन गरेको पोखरीमा स्नानको व्यवस्था मिलाइएको छ ।
यो पोखरीमा स्नान गरेमा छाला, ग्यास्ट्रिक, वाथ, चोटपटक लागेको स्वास्थ्य समस्या निको हुने विश्वास रहेको छ । यही विश्वासका कारण हरेक वर्ष करिब ५० हजार जति तातोपानी कुण्डमा नुहाउन जाने गर्छन् ।
हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीदेखि पश्चिमतर्फ ९ किलोमिटरको दुरीमा रहेको कुण्डमा स्नानका लागि देशका विभिन्न ठाउँका साथै विदेशीहरु पनि आउने गर्दछन् । तातोपानी कुण्ड व्यवस्थापन समितिका अनुसार गत आर्थिक वर्षमा नेपालका ६० भन्दा बढी जिल्ला तथा कोरिया, जापान, पोल्याण्ड, भारत, रसिया, इजरायल, युक्रेन र स्कटल्याण्डका नागरिक समेत आएका थिए ।
कुण्डमा नुहाउनका लागि आर्थिक वर्ष २०८०\०८१ मा १९ हजार चार सय तीन, ०७९\०८० मा १८ हजार दुई सय ५८, आर्थिक वर्ष ०७८\०७९ मा १० हजार नौ सय २०, ०७७\०७८ मा सात हजार छ सय ९१ बिरामीले स्थान गरेका थिए ।
कोभिड १९ को कारणले भएको लकडाउनको समयमा आर्थिक वर्ष ७७\७८ मा साढे सात हजार आएका थिए । नुहाउन आउनेहरुको चाप अनुसार महिला, पुरुषको समूह बनाएर नुहाउने ब्यवस्था मिलाइएको हुन्छ । प्रकृतिको बरदानका रुपमा निस्कने तातोपानीमा नुहाउन तथा अवलोकन गर्नका लागि वर्षेनी ५० हजार भन्दा बढी मानिसहरु आउने गर्दछन् ।
तातोपानी संकलन गरिएको तलाउमा १० दिन स्नान गर्न प्रतिव्यक्ति तीन सय ५० शुल्क तिर्नुपर्छ । प्रवेश शूल्कको १३ प्रतिशत सरकारलाई कर र २५ प्रतिशत बेनी नगरपालिकालाई बुझाउने गरिएको छ ।
कुण्डमा स्नानका लागि आएकाहरुबाट प्रवेश शुल्क वापत गत आर्थिक वर्षमा ७१ लाख २१ हजार चार सय ५०, आर्थिक वर्ष २०८०\०८१ मा ६७ लाख ९१ हजार ५० र आर्थिक २०७९\०८० मा ६३ लाख ९० हजार तीन सय रुपियाँ तातोपानी कुण्डले संकलन गरेको थियो । तातोपानी कुण्ड कुनै समय म्याग्दी नदि किनारमा वेवारीसे अवस्थामा थियो ।
२०४२ साल देखि यसलाई व्यवस्थित गर्दै लगिएको हो । २०६५ सालमा तातोपानी कुण्ड व्यवस्थापन समिति गठन भए सँगै भौतिक पूर्वाधार निर्माण तथा अन्य व्यवस्थापन गर्दै अहिलेको अवस्थामा पुगेको हो ।
ग्यास्ट्रिक, गानोगोला, लडेर लागेको चोट तथा हातखुट्टा मर्किएको जस्ता समस्याका लागि पनि तातोपानीले निको हुने विश्वास गरिन्छ । तातोपानीमा शरिर डुबाउने र पानी सेवन गर्नाले स्वास्थ्यलाई फाइदा गरेको महशुस गर्ने गरेको बिरामीहरु बताउँछन् । नियमित रुपमा वर्षको एक पटक कम्तीमा पनि एक हप्ता तातोपानी कुण्डमा प्राकृतिक उपचारका लागि आउनेहरुको संख्या धेरै छ ।
खाना नरुच्ने, अपच हुने, ढाड दुख्ने समस्या निको भएकाले धेरै जसो हरेक बर्ष तातोपानी डुब्न आउने गर्दछन् । तातोपानीमा प्राकृतिक उपचार गराउँदा अस्पताल धाउने समय र औषधी किन्दा हुने खर्चको बचत समेत हुने गरेको स्थानीय बताउँछन् ।
हिजोआज दैनिक एक हजार दुई सय जनाले तातोपानी कुण्डमा स्नान गर्ने गरेका छन् । ‘बिहान ५ः३० देखि साँझ ५०ः३० बजेसम्म महिला र पुरुषको छ वटा समूह बनाएर स्नानको ब्यवस्था मिलाइएको छ । असोज–कात्तिक, मंसिर, पुष, माघ, फागुन, चैत र बैशाख महिना तातोपानी कुण्डमा स्नान गर्ने सिजनका रुपमा लिइन्छ भने वर्षाको ३ महिना भने मानिसको चाप अलि कम हुन्छ ।
तातोपानी क्षेत्रमा बसोबास गर्नका लागि प्रति दिन १५ सय मानिस बस्ने क्षमता रहेको छ । सहज तरीकाले १५ सय बस्न सक्ने भए पनि २२ देखि २५ सय सम्म मानिसहरु तातोपानी क्षेत्रमा एक रातमा बस्न सक्छन् ।
यसवर्ष चुनावका कारण फागुन महिनामा तातोपानी स्नान गर्न आउनेहरुको संख्या केही कम भएको थियो । चुनावलगत्तै तातोपानीमा चहलपहल र चाप बढेको छ । तातोपानी कुण्डमा स्नानका लागि देशका विभिन्न ठाउँबाट आएका पाहुनाहरुले होटल र होमस्टे भरिने गरेको छ ।
स्वास्थ्यलाभसँगै पर्यटन प्रवद्र्धनका लागि स्थानीयका साथै स्थानीय तहले पनि ध्यान दिएको खण्डमा यो क्षेत्रमा आन्तरीक तथा बाह्य पर्यटकहरुको आगमन बढ्ने देखिन्छ ।
नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजीको परीक्षण अनुसार यहाँको तातोपानी ५३ डिग्री सेल्सियस तापक्रम रहेको छ ।
