काठमाडौँ । औषधि व्यवसायमा आवद्ध व्यवसायीहरुले औपधिको गुणस्तर, मूल्य र मापदण्डको एकरुपता कायम गर्न सरकारको ध्यानाकर्षण गरेका छन् । औषधि व्यवसायको क्षेत्रमा रहेको समस्या प्रति सरकार गम्भीर नभएको गुनासो गदै व्यवसायीहरुले औषधिजन्य समस्याको तत्काल समाधान गर्न आग्रह गरेका छन् । शनिवार नेपाल औषधि व्यवसायी संघ ललितपुर जिल्लाको छैठौ साधारण सभामा सहभागी औषधि व्यवसायीहरुले औषधि बजारको समस्यालाइ सहजीकरण गर्नु पर्ने माग गदै आयातमा रहेको समस्यालाई हटाउन माग गरेका हुन् ।
औषधिको मूल्य, व्यवस्थापन र बजारको मापदण्डलाई प्रभावकारी बनाउनु पर्ने माग व्यवसायीहरुले राखेका छन् । डलरको मूल्यमा भएको बढोत्तरी र इन्धनको बढ्दो संकटको कारण औषधिको आयातमा समस्या आएको हुदाँ सरकारले औषधिको आयात र मूल्यमा रहेको समस्या समाधान गर्नु पर्ने माग व्यवसायीको रहेको छ ।औषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकालले औषधि बजारमा रहेको समस्या समाधान गर्न विभाग गम्भीर रहेको बताउँदै बजार अनुगमनलाई प्रभावकारी बनाउने बताए । बिभागको महानिर्देशक ढकालले औषधि व्यवसायीले आफनो सेवालाई जिम्मेवार बनाउनुको साथै व्यवसायिक निष्ठा अनुरुप काम गर्न आग्रह गरे ।

औषधि व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष रामचन्द्र शर्माले सरकारी निकायहरुको ढिलासुस्तिको कारण औषधि व्यवसायीहरु समस्यामा परेको गुनासो गरे ।
व्यवसायी संघका केन्द्रीय कोषाध्यक्ष सम्राटमान जोशीले औषधि व्यवसायको क्षेत्रमा रहेको समस्या समाधान गर्न सरकार गम्भीर हुनु पर्ने बताए । नेपाल औषधि व्यवसाय संघ बागमति प्रदेशका अध्यक्ष ध्रुव नारायण श्रेष्ठले औषधि बजारमा एमआरपी,गुणस्तर र कमिसनको बिषयमा समस्या रहेकोले त्यसको लागि सरकार गम्भीर हुनु पर्ने बताए । नेपाल औषधि व्यवसायी संघ ललितपुरका अध्यक्ष इन्द्रवीर महर्जनले औषधि बजारलाई व्यवस्थितर मर्यादित बनाउन सरकार र निजी क्षेत्र दुवै जिम्मेवार भए मात्र बजार सहज र सेवामुखी हुन सक्ने बताए ।
कार्यक्रममा औषधि व्यवसायमा आवद्ध व्यवसायीहरुले औषधि बजारलाई व्यवस्थित र मर्यादित बनाउन सबै पक्ष जिम्मेवार हुनु पर्नेमा व्यवसायीहरुले जोड दिएका छन् । कार्यक्रमा व्यवसायीहरुले म्याद गुज्रेका औषधिको व्यवस्थापन र गुणस्तर मापदण्ड र मूल्यको एकरुपता लगायतका बिषयमा सरकारले स्पष्ट नीति रयोजना ल्याउन माग गरेका छन् । बजारमा रहेको अस्वस्थ प्रतिस्पर्धा र व्यवसायिक असुरक्षा लगायतका समस्या प्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।
