कैलाली । कैलालीको गेटामा निर्माण भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय अब सञ्चालन हुने सम्भावना बढेको छ । नयाँ सरकार गठनसँगै लामो समयदेखि अलमलमा परेको यो महत्वाकांक्षी परियोजना अघि बढ्ने संकेत देखिएको हो ।
यो विश्वविद्यालय तत्काल सञ्चालनमा ल्याउन २ अर्ब ५८ करोड रकम बजेट सुनिश्चित भएको छ । करिब ६ अर्ब रुपैयाँभन्दा बढी लगानीमा निर्माण गरिएको कैलालीकको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विगत केही वर्षदेखि सञ्चालनविहीन अवस्थामा छ ।
५१ हेक्टर क्षेत्रफलमा फैलिएको ४२ वटा आधुनिक संरचना भए पनि यहाँ न पढाइ सुरु भएको छ, न त स्वास्थ्य सेवा पूर्ण रूपमा सञ्चालनमा आएको छ । भौतिक संरचना बनेको लामो समय देखि अलमलमा परेको कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय आगामी शैक्षिक सत्रबाट सञ्चालनमा आउने भएको छ ।
यसैबीच, प्रधानमन्त्री बालेन्द्र शाहले विश्वविद्यालय सञ्चालनमा चासो देखाएका छन् । सुदूरपश्चिमका सांसदहरुले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि रणनीतिक योजनामा राखेर बजेट विनियोजन गर्न प्रधानमन्त्री शाहको ध्यानाकर्षण गराएका थिए ।
विश्वविद्यालय सञ्चालनका लागि तत्काल करिब २ अर्ब ५८ करोड रुपैयाँ आवश्यक पर्ने बताइएको छ । प्रारम्भिक चरणमा एमबीबीएस सहित चिकित्सा शिक्षा सुरु गर्ने तयारी भइरहेको छ ।
जहाँ पहिलो चरणमा ५० जना विद्यार्थी भर्ना गर्ने योजना रहेको छ । नयाँ सरकारले विश्वविद्यालय सञ्चालनका लागि आवश्यक बजेट र कानुनी प्रक्रियालाई प्राथमिकता दिएर नयाँ शैक्षिक सत्रबाट पठनपाठन सुरु गर्ने खबरले सुदूरपश्चिमबासीमा उत्साह छाएको छ ।
हालै सम्पन्न प्रतिनिधि सभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीले दुई तिहाई नजिक बहुमत हासिल गरेसँगै पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को नेतृत्वमा सरकार गठन भएको छ ।
बिश्वबिद्यालय संघर्ष समितिका संयोजक लोकराज पाण्डे (आगो)ले सुदूरपश्चिमवासीको लामो समयदेखिको सपना साकार हुने दिन नजिकिएको बताए ।
यो विश्वविद्यालयको कानुनी प्रक्रिया पनि मुख्य चुनौती बनेको छ । शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक विगत दुई वर्षदेखि प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा थन्किएको छ ।
नयाँ सरकारले गेटामा शैक्षिक कार्यक्रम सुरु गर्न र अस्पतालको सेवालाई विस्तार गर्न कानुनी र व्यावहारिक बाटो खोल्नु पर्नेछ ।
कैलाली क्षेत्र नं. ५ बाट निर्वाचित सांसद डा. आनन्दबहादुर चन्दले गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय आगामी शैक्षिक सत्रदेखि सञ्चालनमा आउने बताए ।
यस अघि सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र टीकापुर अस्पताललाई यस विश्वविद्यालयसँग आबद्ध गर्ने विषयमा प्रदेश सरकारले स्वीकृति दिइसकेको छ ।
विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुनिलकुमार जोशीले नयाँ शैक्षिक सत्रबाट चार वटा संकायमा पठनपाठन सुरु गर्ने तयारी भइरहेको बताए ।
त्यस्तै विश्वविद्यालय सभाको बैठक पहिलोपटक चैत २५ गते बिहान ९ बजेदेखि विश्वविद्यालय परिसरमै आयोजना हुने भएको छ ।
यसअघिका तीन विश्वविद्यालय सभा (सिनेट)को बैठक संघीय राजधानीमा भएकोमा पहिलोपटक विश्वविद्यालय रहेकै स्थानमा बैठक बोलाइएको हो । बैठकमा विश्वविद्यालयसँग सम्बन्धीत नियमावली, विभिन्न कार्यविधिहरूको मनोनयन तथा अनुमोदन,आर्थिक नियमावली र खरिद नियमावलीका विषयमा छलफल हुने छ ।
विश्वविद्यालय सभा बैठकमा शिक्षामन्त्री सस्मित पोखरेल लगायत शिक्षा सचिव, स्वास्थ्य सचिव, चिकित्सक शिक्षा आयोगका उपाध्यक्ष, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष तथा मुख्यमन्त्री लगायत १७ जनाको सहभागिता रहने छ । विश्वविद्यालयमा यसै शैक्षिक सत्रबाट एमबीबीएस लगायत चिकित्सा शिक्षा अध्ययनको तयारी भईरहेको छ ।
