काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली ३ सातापछि अस्पतालबाट डिस्चार्ज भएका छन् । जेनजी आन्दोलनको घटना छानविन आयोगको प्रतिवेदन कार्यान्वयन गर्न भन्दै प्रहरीले ओलीलाई अनुसन्धानका लागि चैत १४ गते पक्राउ गरेको थियो । यसपछि स्वास्थ्य जाँच गर्दा ओलीको पित्तथैलीमा स्टोन देखिएपछि उनी प्रहरी नियन्त्रणकाबीच महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना भएका थिए । यहीबीचमा सर्वोच्च अदालतले ओलीलाई नियन्त्रणबाहिरै राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । यसबीचमै चैत ३० गते पत्थरीको शल्यक्रिया गरिएका ओली शुक्रबार अस्पतालबाट डिस्चार्च भएका छन् ।
अस्पतालमा ओलीको २२ दिन
– चैत १४ गते प्रहरी नियन्त्रण लगत्तै शिक्षण अस्पतालमा भर्ना
– चैत १५ गते ओलीको मल्टिपल स्वास्थ्य समस्या : उनमा हाइड्रोनेफ्रोसिस, मधुमेह, मेलिटस, उच्च रक्तचाप, हाइपोथायरायडिज्म र कोलेलिथियासिस अर्थात स्टोनको समस्या देखिए
– चैत १९ गते अस्पतालको बेडबाटै भिडियोमार्फत अदालतमा बयान
– चैत २८ गते पुनः स्वास्थ्य परीक्षण
– चैत ३० गते स्टोनको शल्यक्रिया
– बैशाख ५ गते डिस्चार्ज
पक्राउ पर्दा पनि हिरासत नबसेका ओली
ओलीलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रण गरेपनि हिरासतमा भने राखेन । प्रहरी नियन्त्रण लगत्तै ओलीलाई स्वास्थ्य परीक्षणका लागि टिचिङ हस्पिटल लगियो । तर अस्पतालले नै उनको अवस्था जटिल रहेको भन्दै एनेक्स १ को शय्या नम्बर ५०१ मा चिकित्सकको निगरानीमा भर्ना गरियो ।
यसपछि निरन्तर उपचारमा रहेका ओलीले कुनै दिन हिरासत बस्नु परेन । बरु उनको उपचार जारी रहँदै चैत २३ गते सर्वोच्चले २६ गतेसम्ममा अनुसन्धान गरिसक्न आदेश दियो । सो मितिभन्दा बढी म्याद नथप्न दिइएको आदेश अनुसार नै ओली चैत २६ गते कानूनी रुपमा हिरासतमुक्त भए । यसकारण उनी स्वास्थ्यको कारणले नै प्रहरी नियन्त्रणमा रहेपनि हिरासत बस्न परेन । उता सँगै पक्राउ परेका पूर्वगृहमन्त्री एवं काँग्रेस नेता रमेश लेखक भने प्रहरी हिरासतमै बस्नुपरेको थियो ।
ओली डिस्चार्ज तर पार्टी विरामी नै !
पार्टी अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा नेकपा एमालेभित्र असन्तुलित वातावरण बनेको प्रष्ट छ । चाहे संसदीय दलको नेता चयनको विषयमा होस् वा रामबहादुर थापा बादलले संसदमा गरेको सम्बोधनको विषयमा नै किन नहोस् एमालेमा दोस्रो तहका नेताहरुबीच असन्तुष्टि र तिक्तता देखन्छि । हाल निर्वाचनको परिणामलाई लिएर वाम एकता गर्ने चर्चासम्म आइपुग्दा एमालेभित्रको असन्तुष्टि धेरै हदसम्म प्रकट भइसकेका छन् । ओली अस्पतालमा रहेका बेला अर्का प्रचण्डसँग भेट भएको विषयले पनि एमालेमा अर्को तरङ्ग ल्याएको छ ।
ओली र प्रचण्डबीच वाम एकता गर्ने विषयमा छलफल भएको आशंकाबीच नेताहरु पक्ष विपक्षमा उत्रिएका छन् । यो विषयमा केहीले पार्टी एकता हुनुपर्ने पक्षमा बहस गरेका छन् भने केहीले यसलाई स्वार्थको खेल भनिरहेका छन् । एमाले पूर्व महासचिव सुरेन्द्र पाण्डेले हाल पार्टी एकताको बहस चलाउनुलाई स्वार्थको मिलनको रुपमा व्याख्या गरेका छन् । उनले पार्टी एकता विचार र दृष्टिकोणको मिलनले मात्रै हुने भनेका छन् ।
उता उपाध्यक्ष विष्णु पौडेलले पनि फेसबुकमा स्टाटस लेख्दै निर्वाचनको पराजयलाई समीक्षा गरेर पार्टी सुदृढीकरण गर्नुपर्ने भनेका छन् । यसबाहेक अन्य विषय एमालेको प्राथमिकतामा नहरेका भन्दै वाम एकताको हल्ला कस्लो चलाइरहेका छ ? भनेर पौडेलले प्रश्न गरेका छन् । उनले लेखेका छन्, ‘यथार्थबाट अन्यत्र ध्यान मोड्नेगरी पर्दा भित्रबाट वामपन्थी एकताको असान्दर्भिक चर्चा कस्ले, किन चलाईरहेका हुन् ?’ तर उता अध्यक्ष ओली निकट नेता एवं एमाले सचिव महेश बस्नेतले भने आफूलाई वामपन्थी भन्ने र एमालेमै जोडिएकाहरुले पनि वाम एकताको चर्चामा अनेक टिप्पणी गर्नु असान्दर्भिक भएको तर्क गरेका छन् ।
उनले भनेका छन्, ‘प्रचण्ड–ओलीको सद्भावपूर्ण भेटलाई असंख्य अर्थ लगाएर ‘कम्यिनिष्ट पार्टी एकता भयो भने त बर्बादै हुन्छ’ भन्ने शैलीमा समाजवाद र जनवाद मन नपराउने र मुलुकको समृद्धि, विकास र राष्ट्रिय हित नचाहने शक्तिहरूले विरोध गर्नु त स्वाभाविक हो । तर आफूलाई वामपन्थी भन्न रुचाउने अझ एमालेकै नामसँग जोडिएका कतिपय नेताहरूले समेत अनावश्यक हल्ला र टीकाटिप्पणी गरेको सुन्दा भने अचम्म लाग्छ ।’
नेताहरुको यी अभिव्यक्तिहरुले पनि एमालेभित्र निर्वाचनपछि चरम विचलन रहेको प्रष्ट पार्दछ । यसमा पनि मुख्यतः पार्टी कमजोर भएको अवस्थामा एमालेलाई नै सुदृढ गरेर लैजाने वा अन्य दलहरुसँग एकता गरेर जाने भन्ने विषयमा चरम मतभेद रहेको देखिन्छ । ओलीको डिस्चार्जपछि अब एमाले वाम एकताको पक्षमा जाला वा एक्लै अघि बढ्ला भन्ने विषय पनि नि¥क्यौल हुने देखिन्छ ।
