News 24 Television
सिनेमा संवाद : बजार, कन्टेन्ट र व्यावसायिकतामाथि मन्थन

पोखरा । चलचित्र पत्रकार संघ नेपाल कास्कीको आयोजनामा पर्यटकीय गाउँ ल्वाङमा भएको ‘सिनेमा संवाद’ चलचित्रका विभिन्न विषयमा छलफल गरी सकिएको छ । 

सिनेमा संवादको चौथो संस्करण नेपाली चलचित्र क्षेत्रका विविध आयाम, चुनौती र सम्भावनाबारे चलचित्रकर्मी, पत्रकार र स्थानीयबीच गहन छलफल भएको थियो । कार्यक्रमको दोस्रो दिन शनिबार गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार विमला भण्डारीले ‘क्लाप’ गरी उद्घाटन गरेको कार्यक्रममा उनले सिनेमा समाजको ऐना मात्र नभई विचारको संवाहक र आर्थिक समृद्धिको इन्जिन भएको बताइन् । उनले आजको डिजिटल युगमा फैलिएका भ्रमपूर्ण र मिथ्या सूचना चिर्न चलचित्रकर्मीले जिम्मेवार भूमिका खेल्नुपर्ने र कलाकारहरू केवल विज्ञापनका पात्र नभई समाजका रोल मोडल बन्नुपर्नेमा जोड दिइन् । 

माछापुच्छ्रे गाउँपालिकाकी उपाध्यक्ष सीता अधिकारी र वडा नं ८ का वडाध्यक्ष राम गुरुङले यस्ता कार्यक्रमले ग्रामीण पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने धारणा राखे । पहिलो दिनको साँझ स्थानीय ल्वाङ होमस्टेमा ‘सिनेमा साँझ’ समेत आयोजना गरिएको थियो । जहाँ कलाकार र स्थानीयबीच सांगीतिक र भावनात्मक साटासाट भएको थियो । 

उद्घाटन सत्रपछि सिनेमाका प्राविधिक, व्यावसायिक र सिर्जनात्मक पक्षमा केन्द्रित रहेर चारवटा छुट्टाछुट्टै सत्रमा संवाद सञ्चालन गरिएको थियो । पहिलो सत्रमा ‘ग्लोबल मार्केटमा नेपाली सिनेमा’ विषयमा लेखक तथा निर्देशक सामिप्यराज तिमिल्सिनाले नेपाली सिनेमा बर्लिन र कान्स जस्ता प्रतिष्ठित महोत्सवमा पुगिसकेकाले अब बजार विस्तारमा ध्यान दिनुपर्ने बताए । उनले ‘उनको स्वीटर’ ले विदेशबाट ६ करोड र ‘जेरी एण्ड टप’ ले साढे ३ करोडको व्यापार गरेको तथ्यांक प्रस्तुत गर्दै नेपाली फिल्मको बजार विश्वव्यापी भइसकेको दाबी गरे । अभिनेत्री बेनिशा हमालले बलियो कथा भए बजेटले सिर्जनालाई नरोक्ने अनुभव सुनाइन् ।

b52f6dc2-92bf-4ba3-be3f-c0def52fa5f8-1778416942.jpg
दोस्रो सत्रमा ‘नयाँ पुस्ता र नेपाली सिनेमा’ बारे छलफल भएको थियो । नायिका आचल शर्माले पुराना पुस्ताको कडा मेहनत र अनुशासनलाई पछ्याउँदै नयाँ पुस्ताले सिर्जनात्मक र फरक विषयवस्तु पस्कनुपर्ने बताइन् । उनले परम्परागत कथावाचनको शैली तोड्न नयाँ पुस्ता तयार रहेको उल्लेख गरिन् । नायक सलोन बस्नेतले चलचित्र निर्माणको प्रणालीमा रहेका कमजोरी सुधार्नुपर्ने बताए भने नायिका सनिशा भट्टराईले महिला सशक्तीकरणका विषयमा थप चलचित्र बन्नुपर्नेमा जोड दिइन् ।

तेस्रो सत्र ‘सिनेमामा द्वन्द्व’ विषयमा केन्द्रित रह्यो । अभिनेता निखिल उप्रेतीले द्वन्द्वलाई दार्शनिक ढंगले परिभाषित गर्दै यो केवल कुटाकुट नभई परिस्थितिको स्पष्टता भएको बताए । उनले विश्व बजारमा द्वन्द्वप्रधान फिल्मको वर्चस्व रहेको चर्चा गर्दै नेपाली फिल्मले स्वदेशमै विदेशी फिल्मको प्रभाव कम गर्नुपर्नेमा जोड दिए । निर्देशक मनोज पण्डितले भने ९० प्रतिशत फिल्मले निर्मातालाई रुवाइरहेको यथार्थ सुनाउँदै दर्शकलाई अनुभूति गराउने गरी गुणस्तरीय सिनेमा बनाउनुपर्ने तर्क गरे । उनले विदेशी चलचित्रले नेपालबाट वार्षिक २५ देखि ३० करोड रुपैयाँ लैजाने गरेको तथ्यांक समेत प्रस्तुत गरे ।

अन्तिम सत्रमा ‘कन्टेन्ट क्रिएटर भर्सेस नेपाली सिनेमा’ विषयमा संवाद भयो । कन्टेन्ट क्रिएटर इस्टु कार्की र महेश भण्डारीले सामाजिक सञ्जाल र सिनेमा एकअर्काका परिपूरक भएको बताए । कार्कीले आफू पैसाका लागि भन्दा पनि समाजमा प्रभाव पार्ने पात्र निभाउन रुचाउने बताइन् भने भण्डारीले कलाकारितामा प्यासनसँगै पैसाको हिसाब–किताब पनि महत्वपूर्ण हुने यथार्थलाई स्वीकार्नुपर्ने औंल्याए । 

संघका अध्यक्ष सन्तोष बस्यालले यस कार्यक्रमले चलचित्रकर्मी र पत्रकारबीचको सम्बन्धलाई थप सुमधुर बनाउने विश्वास लिएका छन् । संवादमा भएका छलफलका विषय बस्तु नेपाली चलचित्रको दायरा फराकिलो बनाउने उनको भनाइ थियो । 

घान्द्रुक, सिक्लेस र घलेगाउँपछि ल्वाङमा सम्पन्न यो चौथो शृखंलाले नेपाली सिनेमाको विकासका लागि नयाँ बहसको सुरुवात गरेको संस्थापक अध्यक्ष श्रीराम सिग्देल र पूर्व अध्यक्ष अरुण गिरीले बताए । 

ककार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधवप्रसाद बराल लगायतले सिनेमा संवाद पछिल्लो समय एउटा स्थापित ब्राण्ड बनेको चर्चा गरे । नेपाली चलचित्रको पर्दामा देखिने कलाकारहरूलाई आफ्नै गाउँमा पाउँदा ल्वाङका स्थानीय बासिन्दाहरू समेत हर्षित देखिएका थिए ।

प्रकाशित मिति: आइतबार, वैशाख २७, २०८३  १८:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update