News 24 Television
दोस्रो 'ग्लोबल स्टार अवार्ड- २०२६' सम्पन्न : बसुन्धरा भुसालदेखि पल शाहसम्म सम्मानित

काठमाडौँ । दक्ष इन्टरनेशनलको आयोजनामा राजधानीमा 'ग्लोबल स्टार अवार्ड-२०२६' को दोस्रो संस्करण भव्य रूपमा सम्पन्न भएको छ। सुकेधारास्थित होटल मर्क्यूरमा आयोजित समारोहमा कला, संगीत, पत्रकारिता, समाजसेवा, शिक्षा र स्वास्थ्यलगायत विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने स्रष्टाहरूलाई सम्मान गरियो। कार्यक्रममा वरिष्ठ अभिनेता निर शाह प्रमुख अतिथि र हास्य कलाकार मदनकृष्ण श्रेष्ठ विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

समारोहमा वरिष्ठ अभिनेत्री बसुन्धरा भुसाललाई 'दिग्गज अभिनेत्री सम्मान' र वरिष्ठ लोकगायक एवं पत्रकार रामप्रसाद खनाललाई 'अति विशिष्ट सम्मान' प्रदान गरियो। त्यसैगरी, चर्चित मोडल पल शाहलाई 'ग्लोबल स्टार अफ द डिकेड' र वरिष्ठ गायिका सुनिता लुइँटेललाई 'जीवित धरोहर सम्मान' बाट विभूषित गरियो। यम बराल, रमेश बुढाथोकी, र यमन श्रेष्ठलगायतका कलाकारहरू पनि विभिन्न विधामा सम्मानित हुनुभयो।

Samman-1778840827.jpg
पत्रकारिता क्षेत्रबाट अखण्ड भण्डारी, कल्पना शर्मा र वीरेन्द्र जैरुलगायतले 'पत्रकारिता विशेष सम्मान' प्राप्त गर्नुभयो भने उर्मिला श्रेष्ठलाई 'सर्वोत्कृष्ट राष्ट्रसेवक सम्मान' प्रदान गरियो। यस्तै, भजन गायक रेशम सापकोटालाई 'संगीत रत्न' र विभिन्न व्यावसायिक विधामा सक्रिय व्यक्तित्वहरूलाई 'ग्लोबल स्टार सम्मान' बाट पुरस्कृत गरियो। कार्यक्रममा भारतका आचार्य प्रशान्त र प्रदीप फुटेलालाई समेत अन्तर्राष्ट्रिय विधामा सम्मान गरिएको थियो।

प्रमुख अतिथि निर शाह र पूर्व उपसभामुख इन्दिरा राना मगरले सम्मानित व्यक्तित्वहरूलाई बधाई दिँदै नेपाली मौलिक कला र संस्कृतिको जगेर्नामा यस्ता अवार्डले ऊर्जा थप्ने विश्वास व्यक्त गर्नुभयो। आयोजक संस्थाका अध्यक्ष र कार्यक्रम निर्देशक राजेन्द्र लुइँटेलले समाजमा सकारात्मक प्रभाव पार्ने स्रष्टाहरूको योगदानलाई उजागर गर्नु नै अवार्डको मुख्य उद्देश्य रहेको बताउनुभयो।

अन्तमा, सांगीतिक र सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो। आयोजकले आगामी वर्षहरूमा पनि यस अवार्डलाई अझ परिष्कृत र व्यापक बनाउँदै निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै समापन गर्नुभयो। देशभरका सयभन्दा बढी स्रष्टाहरूको उपस्थिति रहेको यो समारोह सभ्य र व्यवस्थित रूपमा सम्पन्न भएको थियो।

c7ee3432-6847-45fd-acfb-70dc96428dd2-1778840858.jpg

fed6d71f-1f34-4e4c-84be-c25dc8198468-1778840843.jpg

प्रकाशित मिति: शुक्रबार, जेठ १, २०८३  १६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update