News 24 Television
सुदूरपश्चिममा आधारभूत अस्पताल अलपत्र, वर्षौदेखि निर्माण सुस्त

डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका २ केदारअखडामा निर्माणाधीन १५ शैयाको आधारभूत अस्पताल अलपत्र अवस्थामा रहेको छ । समयमै अस्पताल भवन निर्माण नहुँदा स्थानीयवासी आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुन बाध्य भएका छन् । 

डोटीको बोगटान फुड्सिल गाउँपालिका–२ मा १५ शैयाको आधारभूत अस्पताल निर्माण अलपत्र छ । निर्माण कम्पनीको लापरबाही, कठिन भौगोलिक अवस्था र सरकारी निकायको कमजोर अनुगमनले परियोजना प्रभावित भएको हो । 

२०७८ असार १८ मा गाउँपालिका र सिएम–प्रसन्न जेभीबीच सम्झौता भई २०७९ असार २९ मा सम्पन्न हुनुपर्ने भवन अझै जग र पिल्लरमै सीमित छ । १६ करोड ८५ लाख लागतको काममा कम्पनीले २ करोड ९० लाख पेश्की लिएको छ । स्थानीयवासी आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित छन्। गुनासो बढिरहेको बताउँछन् । 

डोटीका सात स्थानीय तहमा पाँच वर्षअघि शिलान्यास गरिएका आधारभूत अस्पताल अझै सम्पन्न भएका छैनन् । अधिकांश भवन निर्माण अलपत्र छन् भने केहीमा प्रगति न्यून छ । २०७७ मङ्सिर १५ मा ३९६ स्थानीय तहमा आधारभुत अस्पताल एकैसाथ शिलान्यास गरिएको थियो । ढिलाइप्रति स्थानीय जनप्रतिनिधिहरूले असन्तुष्टि जनाएका छन् भने आधारभूत स्वास्थ्य सेवा प्रभावित भएको छ ।

पटक–पटक ताकेता गर्दा पनि निर्माण व्यवसायीले कामलाई प्राथमिकता नदिएको गाउँपालिकाको आरोप छ । पटक पटक समय थप गर्दा पनि कामको प्रगती सुन्य रहेको र प्रदेश सरकारले पनि सम्पन्न गर्न चासो नदिएकापालिका अध्यक्ष आरोप लगाउँछन् ।  

यता निर्माण व्यवसायी भने कठिन भौगोलिक अवस्था र सडक पहुँचको अभावका कारण काम प्रभावित भएको बताउँछन् । वर्षमा करिब छ महिनामात्र सडक सञ्चालन हुने र वर्षायाममा सडक अवरुद्ध हुँदा निर्माण सामग्री ढुवानी गर्न समस्या भएको उनीहरुको दाबी छ । 

सरकारले अघि सारेको यो योजना अनुसार धेरै जिल्लामा तोकिएका अस्पताल अझै अपूरै छन् । वर्षौँदेखि ढिलाइ हुँदा स्थानीय नागरिक प्रभावित भएका छन् । प्रभावकारी पहल नभए स्वास्थ्य सेवा विस्तारको लक्ष्य कागजमै सीमित हुने देखिन्छ ।

प्रकाशित मिति: बिहीबार, जेठ २१, २०८३  ०८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update