इलाम । नेपालमा पहिलो पटक चिया रोपिएको इलाममा चिया खेती शुरु भएको १६२ वर्ष पुगेको छ । वि.सं. १९२० मा जंगबहादुर राणाका ज्वाई तत्कालिन बडाहाकिम गजराजसिंह थापाले इलाममा चिया खेती शुरु गरेका थिए ।
अहिले अधिकांश किसान चिया र अलैची खेतीमा संलग्न छन् । चिया र अलैचीको यति पुरानो इतिहास भएको इलाममा निर्माण भइरहेको चिया तथा अलैची अनुसन्धान केन्द्र अन्तिम चरणमा पुगेको छ ।
चिया र अलैँचीको उर्वर भूमि इलाममा अनुसन्धान केन्द्र स्थापनाको काम अन्तिम चरणमा पुगेको छ । इलाम नगरपालिका–१ साँखेजुङमा चिया तथा अलैँची अध्ययनका लागि केन्द्र स्थापना हुँदैछ । यसका लागि स्थानीयले ५० रोपनी जग्गा दान गरेका छन् ।
हाल भवन निर्माण कार्य सम्पन्न भइसकेको छ । राष्ट्रिय व्यावसायिक कृषि अनुसन्धान कार्यक्रम अन्तर्गत केन्द्र स्थापना गरिएको हो । जग्गा व्यवस्थापन र संयोजन इलाम नगरपालिकाले गरेको छ । आगामी साउन–भदौमा उद्घाटन गर्ने तयारी गरिएको छ ।
अनुसन्धान केन्द्रका लागि एक सय रोपनीभन्दा बढी जमिन आवश्यक हुने बताइएको छ । इलाम नगरपालिकाले १६० रोपनी जमिन सिफारिस गरेर पठाएको छ ।
जिल्लामा चिया र अलैँचीमा धेरै किसान संलग्न छन् । केन्द्र स्थापना भएपछि किसानलाई राहत मिल्ने अपेक्षा छ । जग्गा खोजी र व्यवस्थापनमा नगरपालिका सक्रिय देखिएको छ ।
केन्द्र सञ्चालनमा आएपछि यसले प्राविधिकलाई थप दक्ष बनाउन मद्दत गर्ने बताइएको छ । स्वदेश तथा विदेशबाट अध्ययन, अवलोकन र अनुसन्धानका लागि आउने भएकाले पर्यटक संख्या बढ्ने अपेक्षा समेत गरिएको छ । इलामको चिया १०% नेपाल, ७०% भारत र २०% तेस्रो मुलुकमा निर्यात हुन्छ ।
इलाममा चिया तथा अलैची अनुसन्धान केन्द्र बन्दै
