दैलेख । असार महिना नेपाली किसानका लागि सबैभन्दा व्यस्त समय हो । यही महिनामा धान रोपाइँसँगै गाउँघर हरियालीले ढाकिन्छ, खेतबारीमा किसानको चहलपहल बढ्छ र रोपाइँका गीतले वातावरण गुन्जायमान बन्छ । तर समयसँगै खेतीपातीको स्वरूप परिवर्तन हुँदै गएको छ ।
मजदुरको अभाव, वैदेशिक रोजगारीको आकर्षण र कृषि यान्त्रीकरणका कारण रोपाइँको परम्परागत रौनक हराउँदै गएको छ । जुन दृश्य अहिले दैलेखमा पनि देखिन्छ ।
असारसँगै दैलेखका किसान धान रोपाइँमा व्यस्त छन् । केही दिनअघिको वर्षापछि अधिकांश खेतमा पानी जमेकाले रोपाइँ तीव्र बने पनि विगतजस्तो सामूहिक उत्साह र रौनक भने हराउँदै गएको छ । पहिले गाउँभरिका किसान मिलेर रोपाइँ गर्ने, महिलाले रोपाइँ गीत गाउने र पुरुषले खेत तयारी गर्ने परम्परा अहिले विस्तारै लोप हुँदै गएको छ ।
किसानका अनुसार वर्षासँगै बदेलको आतंक पनि बढेको छ । बदेलले बालीमा क्षति पु¥याउँदा कतिपयले धान खेती नै छोड्न थालेका छन् ।
रोपाइँसँग जोडिएका मौलिक गीत र परम्परा पनि हराउँदै गएका छन् । सामूहिक श्रम, हाँसो र लोकसंस्कृतिको प्रतीक मानिने रोपाइँ अहिले बदलिँदो सामाजिक परिवेशसँगै फरक बन्दै गएको स्थानीयको भनाइ छ ।
युवाहरू वैदेशिक रोजगारीमा जान थालेपछि कृषि मजदुरको अभाव चुलिएको छ । यसले कतिपय खेतीयोग्य जमिन बाँझै रहने अवस्था सिर्जना गरेको छ । कृषि विकास कार्यालयले अनुदानमा कृषि उपकरण, उन्नत बीउ, प्राविधिक परामर्श र सिँचाइ विस्तारका कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।
कार्यालयका अनुसार जिल्लामा हालसम्म करिब ५८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । ४३ हजार १ सय हेक्टर खेतीयोग्य क्षेत्रमध्ये ७ हजार ९ सय २५ हेक्टरमा धान खेती हुने गरेको छ ।
धान रोपाइँ कृषि उत्पादनसँगै नेपाली संस्कृति, सहकार्य र मौलिक परम्परासँग जोडिएको पर्व पनि हो । कृषि आधुनिकीकरणसँगै रोपाइँका मौलिक गीत र संस्कृतिको संरक्षण गर्न सके उत्पादनसँगै सांस्कृतिक पहिचान पनि जोगाउन सकिने अपेक्षा गरिएको छ ।
