News 24 Television
भयावह बन्दै पारिवारिक कलह, हत्यापछि आत्महत्याको सिलसिला बढ्यो !
HATYA-AATMAHATYA

काठमाडौँ । काठमाडौंको सीतापाइलामा बुधबार विहान एकै परिवारको चार जना मृत भेटिए । पारिवारिक कलहका कारण परिवारकै सदस्यले श्रीमति, छोरी र नातिनीको हत्या गरी आफूले आत्महत्या गरे । १२ दिनअघि मात्रै ललितपुरमा पनि यस्तै किसिमको घटना भयो । पारिवारिक कहलका कारण हत्या र आत्महत्याका घटनाहरु बढेका छन् ।

काठमाडौंका सीतापाइलामा बुधबार विहान एकै परिवारका ३ जना मृत अवस्थामा फेला परे । नागार्जुन नगरपालिका ६ बैरागटोलमा एक महिला र दुई बालिकाको हत्या भएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । सोलुखुम्बुको दुधकुण्ड नगरपालिका घर भई बैरागटोल बस्दै आएकी ईश्वरी श्रेष्ठ, उनकै ८ वर्षकी छोरी अनिशा र साढे २ वर्षकी नातिनी शिवानीको शव भेटिएपछि घटनास्थल आइपुगेको प्रहरीले केही पर रुखमा झुण्डिरहेको अवस्थामा ईश्वरीको श्रीमान राजु घिमिरे भन्ने काजी विकको शव फेला पा¥यो । राजुले श्रीमति, छोरी र नातिनीको हत्या गरेपछि आफूले पनि आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

राजुले आफन्तलाई फोन गरी आफूले हत्या गरेको जानकारी गराएका थिए । अनिशा काजीकी ईश्वरीपट्टीको छोरी हुन् भने शिवानी ईश्वरीको अघिल्लो श्रीमानबाट जन्मेका छोराको छोरी हुन् । पारिवारिक कहलका कारण राजुले हत्या गरी आत्महत्या गरेको प्रहरीको आशंका छ । हत्याको योजना बनाएर राजुले कक्षा ८ मा पढ्ने छोरालाई पैसा लिन भन्दै घरबाहिर पठाएका थिए ।

यसअघि १२ दिनअघि मात्रै माघ २७ गते ललितपुरमा पनि यस्तै घटना भएको थियो । ललितपुर महालक्ष्मी–४ ओचु हाइटमा दुई नाबालिक छोराछोरीको हत्या गरी आमाले आत्महत्या गरेकी थिइन् । आफ्नै कोखबाट जम्मिएको ६ वर्षीय छोरा अश्वेत महर्जन र दुई वर्षीया रिबा महर्जनको हत्या गरी आमा ३६ वर्षीया रविना महर्जनले घरको तीन तलामाथिबाट हामफालेर आत्महत्या गरेकी थिइन् । तीन तले घरको फ्लाइटमा बस्दै आएकी रविनाले दुई बालबालिकाको हत्या गरी सोही घरबाटै हामफालेर आत्महत्या गरेकी थिइन् । जतिबेला रविनाको श्रीमान रवि महर्जन आफ्नै पसलमा थिए । ललितपुरकै रैनाथे उनीहरु सम्पन्न परिवारकै हुन् । रविना र उनको श्रीमान रवि महर्जनबीचको सम्बन्ध राम्रै रहेको बताइए पनि पारिवारिक कहलका कारण रविनाले घटना घटाइन् ।

दुई महिनाअघि मात्रै मंसिरको पहिलो हप्ता धनकुटामा पनि यस्तै प्रकृतिको घटना भयो । धनकुटा नगरपालिका १ निगालेमा एक पुरुषले श्रीमति र छोराको हत्या गरी आफूले आत्महत्या गरेका थिए । श्रीमती भीमा गुरुङ र १० वर्षका छोरा आयुषको हत्या गरी ३६ वर्षीय टीका गुरुङले झुन्डिएर आत्महत्या गरेका थिए । ६ वर्षकी छोरी भने बाँच्न सफल भएकी थिइन् । ज्यालामजदुरी गर्दै जीविकोपार्जन गर्दै आएका उनीहरुको पनि पारिवारिक कहलका कारण परिवारकै नास भयो ।

आर्थिक प्रलोभन, गरिबी तथा पारिवारिक कलहका कारण परिवार भित्र नै अपराधिक गतिविधिहरु बढ्दै गएका छन् । पारिवारिक ब्यवस्थापनमा समस्या आउँदा यस्ता घटनाहरु बढ्दै गएको समाजशास्त्रीहरुको बुझाइ छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  ०९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update