News 24 Television
कांग्रेसमा हिन्दु राष्ट्रको एजेण्डा प्रवेश, राप्रपा हौसिँदै सडकमा
HINDURASTRAMA-BAHAS
  • सुजन चालिसे

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले एक वर्षअघिदेखि ‘राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति संरक्षण महाअभियान’ चलाइरहेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाह पनि विभिन्न समूह तथा धार्मिक कार्यक्रममा सहभागी हुँदै आएका छन् । धार्मिक अभियन्ताहरुले पनि कुनै न कुनै रुपबाट सक्रियता बढाउँदै लगेका छन् । नेपाली कांग्रेसको एउटा समूह ‘सनातन धर्म’लाई पार्टीमा जर्बजस्त प्रवेश गराउन उद्दत छन् । यहिबीचमा राजतन्त्रको वकालत गर्दै आएको पार्टी राप्रपाले ‘हिन्दु राष्ट्र’ स्थापनाको मागसहित निर्णायक आन्दोलनको घोषणा गरेको छ । नेपाललाई हिन्दु राज्य बनाउन सम्भव छ त ?

नेपाली कांग्रेसको जारी महासमिति बैठकमा एउटा समूह हिन्दु राष्ट्रको एजेण्डा बनाउन जोडतोडले लाग्यो । पुरक प्रस्ताव नै पेश गर्ने तयारी गरे पनि प्रस्ताव पेश हुन पाएन भने महासमिति बैठकको एजेण्डा पनि बन्न सकेन । पार्टी केन्द्रीय सदस्य शंकर भण्डारी नेतृत्वको सनातनी समूहमा २२ जना थिए । वैठकमा यो विषय एजेण्डा नबनेपछि यो समूहले हस्ताक्षर अभियान नै चलायो । हालसम्म कांग्रेसका ४२ जना केन्द्रीय सदस्य र ९ सय बढि महासमिति सदस्यले हस्तक्षर गरिसकेका छन् । हिन्दुराष्ट्र घोषणा महाअभियानले हिन्दु राष्ट्रबारे औपचारीक प्रस्तावलाई महासमिति बैठकमा पेश गर्नुपर्ने भनी भाग राखे पनि सभापति शेरबहादुर देउवाले वर्तमान परिस्थितीमा यो प्रस्ताव ल्याउनु उचित नहुने भन्दै रोकिदिए । तर केहि महिना अघि भने स्वयं देउवाले नै हिन्दु राष्ट्रका पक्षमा पार्टीभित्र बहस चलाउन सकिने बताएका थिए ।

देउवाको सोही अभिव्यक्तिलाई आधार मानेर सम्भवतः नेपाली कांग्रेसको एउटा समुहले जारी महासमिति बैठकमा यो विषयलाई प्रवेश गराउने प्रयास गरेको थियो । तर कांग्रेस कुनै जातीय अथवा वर्गविशेषको पार्टी नभएकाले यो विषय महासमिति बैठकमा आधिकारीक प्रस्ताव नबन्ने भन्दै रोकियो ।

महासमिति बैठकमा यो विषय एजेण्डा नै नबने पनि कांग्रेसको एउटा समूह धर्म निरपेक्षताको विरोधमा सक्रिय छ । यता राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राष्ट्रको एजेण्डासहित बुधवारबाटै निर्णायक आन्दोलनको सुरुवात गरेको छ । राप्रपाले बुधबार नै प्रधानमन्त्रीलाई ४० बुँदे ज्ञापनपत्र बुझाउँदै देशब्यापी प्रदर्शन थालेको छ । राप्रपाको सर्वकालीन एजेण्डामा हाल नेपाली कांग्रेसले समेत वहस गर्न थालेको अवस्थामा राप्रपा थप हौसिएको छ ।

हिन्दु राष्ट्र पक्षधर राजनीतिक विश्लेषकहरु माओवादीबाहेकका दलहरुमा हिन्दु राष्ट्रको बहस चल्ने गरेकोे दाबी गर्छन् । ८० प्रतिशत बढि नेपालीले संविधानमा धर्म निरपेक्षता प्रवेश हुनुलाई अझैपनि स्वीकार नगरेको राजनीतिक विश्लेषक शास्त्रदत्त पन्त दाबी गर्छन् । त्यसैले राजनीतिक तहले प्रयास गरे हिन्दुराष्ट्र पुनस्थापनामा जनताले साथ दिने उनको तर्क छ ।

पछिल्लो समय कांग्रेसभित्र यो विषय जोडदार ढंगले उठ्नु र राप्रपा लगायतका अन्य शक्तिहरुले पनि यो विषयमा सशक्त प्रदर्शन सुरु गर्नुले हिन्दुराष्ट्र पक्षधरको आन्दोलन बलियो बन्ने देखिन्छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update