News 24 Television
मिथिला शर्माले गुरुहरूको नाममा स्थापना गरेको सम्मान प्रदान

काठमाडौँ । अभिनेत्री तथा नृत्यांगना मिथिला शर्माले आफ्ना कला गुरुहरूको सम्झना र सम्मानमा स्थापना गरेको सम्मान प्रदान गरिएको छ । गुरु पूर्णिमाको अवसरमा आयोजित विशेष कार्यक्रममा विभिन्न विधाका स्रष्टालाई उक्त सम्मान प्रदान गरिएको हो ।

नेपाल पूर्व प्रहरी कलाकार संघको दोस्रो वार्षिकोत्सव तथा तेस्रो स्रष्टा सम्मान कार्यक्रमका अवसरमा बुधबार प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा सम्मान समारोह आयोजना गरिएको थियो । कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यता रहेको थियो ।

समारोहमा हास्य कलाकार तथा निर्देशक सन्तोष पन्तलाई ‘हाडा एन्ड पाल हास्य वाङ्मय साधना सम्मान २०८३’ प्रदान गरियो । गायक तथा संगीतकार डा. किरण प्रधानलाई ‘गोपाल योञ्जन संगीत साधना सम्मान २०८३’ बाट सम्मानित गरिएको छ ।

त्यस्तै नृत्यांगना विमल श्रेष्ठ क्षेत्रीलाई ‘राजपाल थापा नृत्य साधना सम्मान २०८३’ प्रदान गरिएको छ । साहित्यकार तथा गीतकार उपरथी राजेन्द्र थापाले ‘चेतन कार्की गीति वाङमय साधना सम्मान २०८३’ प्राप्त गरेका छन् ।

अभिनेता तथा नेपाल प्रहरीका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक अर्जुनजंग शाहीलाई ‘नेपाल पूर्व प्रहरी कला साधना सम्मान २०८३’ प्रदान गरिएको छ । यो सम्मान पहिलोपटक प्रदान गरिएको आयोजकले जनाएको छ ।

समारोहमा सम्मानित व्यक्तित्वहरूको कलायात्रा तथा योगदान समेटिएका भिडियो सामग्री पनि प्रस्तुत गरिएको थियो । भिडियोमा उनीहरूको व्यक्तिगत तथा कलात्मक यात्रामा जीवनसाथीले पु¥याएको साथ र सहयोगलाई समेत स्मरण गरिएको थियो ।

सम्मान ग्रहण गर्ने व्यक्तित्वका जीवनसाथीलाई समेत कार्यक्रममा मञ्चमा बोलाएर सम्मान गरिएको थियो । प्रहरी महानिरीक्षक दानबहादुर कार्की, पूर्व प्रहरी महानिरीक्षक मोतिलाल बोहरा, अन्य पूर्व प्रहरी महानिरीक्षक तथा सम्बन्धित क्षेत्रका वरिष्ठ कलाकारले संयुक्त रूपमा सम्मान प्रदान गरेका थिए ।

कला, संस्कृति तथा नेपाल पूर्व प्रहरी कलाकार संघको गतिविधिमा योगदान पुर्याउने अन्य व्यक्तित्वलाई पनि कार्यक्रममा मायाको चिनो प्रदान गरिएको थियो ।

संघकी वरिष्ठ सल्लाहकार मिथिला शर्माले आफ्ना गुरुहरूको योगदानलाई आगामी पुस्तासम्म पु¥याउने उद्देश्यले उनीहरूको नाममा सम्मान स्थापना गरेको बताइन् । उनका अनुसार चेतन कार्की, गोपाल योञ्जन, राजपाल थापा र ध्रुवरत्न हाडाको योगदानलाई स्मरण गर्दै गुरु दक्षिणाका रूपमा सम्मानको सुरुआत गरिएको हो ।

कार्यक्रममा संघका संस्थापक छत्रबहादुर गुरुङले कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा पूर्व प्रहरी कलाकार संघले निरन्तर काम गरिरहेको बताए । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले अवकाशप्राप्त प्रहरी कर्मचारीलाई पनि प्रहरी परिवारसँग निरन्तर जोडिराख्न यस्ता कार्यक्रमले भूमिका खेल्ने धारणा राखे ।

समारोहमा पूर्व तथा वर्तमान नेपाल प्रहरीसँग सम्बन्धित कलाकारहरूले गीत, संगीत र नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा मिथिला शर्माले समेत सरप्राइज प्रस्तुति दिँदै आकर्षक नृत्य प्रस्तुत गरेकी थिइन् ।

प्रकाशित मिति: शुक्रबार, साउन १५, २०८३  १६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update