म्याग्दी । म्याग्दीमा जटिल रोगका झण्डै तीन सय बिरामीमध्ये १६९ जना मिर्गौला रोगी छन् । बेनी अस्पतालमा २०७६ देखि डाइलाइसिस सेवा सञ्चालन हुँदै आएकोमा गण्डकी प्रदेश सरकारबाट थप तीन मेसिन प्राप्त भएपछि अहिले ४० जनाले डाइलाइसिस सेवा लिइरहेका छन् ।
जिल्ला भित्रका स्थानीय तहसँग भएको तथ्यांक अनुसार म्याग्दीमा मिर्गौला सम्बन्धी समस्याबाट १६९ जना पीडित छन् । जसमध्ये १०८ जना मिर्गौला फेल भएका, ५६ जनाले डाइलाइसिस गराइरहेका र ५ जनाले मिर्गौला प्रत्यारोपण गरेका छन् । जटिल रोगका बिरामीले पाउने सुविधा प्राप्त गर्ने जिल्लाका ६ वटै स्थानीय तहका २९० जना बिरामीमध्ये १६९ जना मिर्गौला सम्बन्धी समस्याका छन् ।
प्रदेश अस्पतालमा अन्य जिल्लाका बिरामीले समेत डाइलाइसिस गराउने भएकाले म्याग्दीका अझै कयौं नागरिक जिल्ला बाहिरका अस्पतालमा सेवा लिन बाध्य छन् । बेनी अस्पतालमा तीन वटा मेसिन थपिएपछि बिरामीको प्रतीक्षा सूची शून्य बनाउने अभियान जारी रहेको निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा. हेमन्त बाँस्तोलाले बताए ।
बेनी अस्पतालमा २०७६ फागुनमा गण्डकी प्रदेश सरकारको बजेटबाट सात वटा डाइलाइसिस मेसिन जडान गरी छ वटा सञ्चालनमा ल्याइएको र एउटा रिजर्भमा राखिएको तत्कालिन अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए । सुरुमा दैनिक दुई सिफ्टमा १२ जनाले सेवा लिने गरेका थिए । हाल बिहान ७ बजेदेखि राति १० बजेसम्म तीन सिफ्टमा ९ वटा मेसिनबाट दैनिक २७ जनाले डाइलाइसिस सेवा लिइरहेका छन् । जिल्लामै सेवा पाउँदा समय र पैसाको बचत हुनुका साथै झण्झट कम भएको सेवाग्राहीका आफन्त बताउँछन् ।
प्रदेश सरकारको सहयोगमा थप तीन वटा मेसिनबाट विस्तारित डाइलाइसिस सेवाको स्वास्थ्य मन्त्री लक्ष्मणबहादुर पाण्डेले शुभारम्भ गरेका छन् । उनले पालो पर्खनुपर्ने र अन्य जिल्लामा जानुपर्ने बाध्यता अन्त्य गर्दै नागरिकलाई स्वास्थ्य सेवाको प्रत्याभूति गराउने बताए । म्याग्दीमा जटिल रोगका बिरामीमध्ये ६० प्रतिशतभन्दा बढी मिर्गौलाका बिरामी भएकाले डाइलाइसिस सेवा जनताका लागि बरदान बनेको छ ।
