News 24 Television
फ्लेम अवार्ड्समा  नेपालको दबदबा, ५ एजेन्सीले जिते १७ अवार्ड

काठमाडौँ । फ्लेम अवार्ड्स एशिया २०२६ मा नेपाली विज्ञापन तथा मार्केटिङ कम्युनिकेसन्स क्षेत्रले उत्कृष्ट प्रदर्शन गरेको छ । नेपालका पाँच एजेन्सीले विभिन्न विधामा कुल १७ अवार्ड जित्दै क्षेत्रीय मञ्चमा आफ्नो बलियो उपस्थिति देखाएका छन् । नेपालले जितेका अवार्डमा १३ गोल्ड, ३ सिल्भर र १ ब्रोन्ज रहेका छन् । नयाँ दिल्लीस्थित ताज भिभान्त, द्वारकामा शुक्रबार आयोजित समारोहमा विजेता एजेन्सीलाई अवार्ड प्रदान गरिएको हो । 

यस वर्ष आउटरीच नेपाल, लेमन, डिजिटल इन, स्टर्म कम्युनिकेसन्स नेपाल र एमएमएम ल्याब्सले अवार्ड जितेका हुन् । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डका लागि तयार गरिएका क्रिएटिभ क्याम्पेनले उपभोक्ता अन्तर्दृष्टि, नवीनता, सिर्जनशीलता, प्रविधि, समुदाय संलग्नता र मापनयोग्य प्रभावका आधारमा विभिन्न विधामा सम्मान प्राप्त गरेका हुन् ।

0ce2c919-cc03-4f30-a42c-db71a7ddea6e-1786623490.jpg
फ्लेम अवार्ड्स एशियाले भारत तथा एसियाका उदीयमान बजारमा उत्कृष्ट मार्केटिङ र कम्युनिकेसन कार्यलाई सम्मान गर्दै आएको छ । भारतसहित दक्षिण एसियाका अग्रणी एजेन्सी तथा संस्थाबीचको कडा प्रतिस्पर्धामा नेपाली एजेन्सीहरूको यो सफलता विशेष मानिएको छ । यस वर्षको जुरीको नेतृत्व सन्तोष देसाइले गरेका थिए । भारत, बङ्गलादेश, नेपाल, भियतनाम, फिलिपिन्स र श्रीलंकालगायतका देशका ४० भन्दा बढी जुरी सदस्यले प्रविष्टिको मूल्यांकन गरेका थिए । 

आउटरीच नेपालका संस्थापक उज्ज्वल शाक्यले उपलब्धिलाई नेपालको मार्केटिङ कम्युनिकेसन्स उद्योगका लागि गर्वको क्षण भन्दै नेपाली प्रतिभा, सिर्जनशीलता र महत्वाकांक्षाको पहिचान भएको बताएका छन् । यस सफलताले नेपाली क्रिएटिभ, डिजिटल, इभेन्ट तथा एक्टिभेसन एजेन्सीहरू क्षेत्रीय स्तरमै प्रतिस्पर्धा गर्न सक्षम रहेको देखाएको शाक्यको भनाइ छ ।  

cb14c72e-2c78-4841-a993-52c3277dc693-1786623502.jpg
 

प्रकाशित मिति: बिहीबार, साउन २८, २०८३  १८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update