काठमाडौँ । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरज शर्मा नियुक्त भएका छन्। गत भाद्र ३० गते बसेको इसेवा सञ्चालक समितिको बैठकले असोज १२ गतेदेखि लागू हुने गरी शर्मालाई चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।
नवनियुक्त शर्मासँग बैंकिङ तथा वित्तीय क्षेत्रमा २५ वर्षभन्दा बढीको अनुभव छ। उनी ट्रान्जेक्सन बैंकिङ, कार्ड प्रणाली, डिजिटल रूपान्तरण तथा रिटेल बैंकिङ क्षेत्रका अनुभवी मानिन्छन्। बैंकिङ तथा डिजिटल वित्तीय सेवामा उनको लामो अनुभव, नेतृत्व क्षमता र विज्ञताले कम्पनीको रणनीतिक प्राथमिकतालाई अघि बढाउन र आगामी यात्रालाई थप सुदृढ बनाउन ठूलो योगदान पुग्ने विश्वास इसेवा सञ्चालक समितिले लिएको छ।
यसैबीच, इसेवाका निवर्तमान प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काको चार वर्षे कार्यकाल सफलतापूर्वक पूरा भएको छ। २०७९ असोज १२ मा सीईओ नियुक्त भएका खड्काको नेतृत्वमा इसेवाका दर्ता भएका प्रयोगकर्ताको सङ्ख्या १ करोड ४० लाख र मर्चेन्टको सङ्ख्या ६ लाख नाघेको छ।
खड्काकै कार्यकालमा डिजिटल कर्जा, फाइनान्स ३६०, इसेवा सर्कल, बिजनेस एप, दृष्टिविहीनका लागि ‘टकब्याक’ फिचर तथा नेपाली भाषामा एप सञ्चालन जस्ता नवीन सेवा र फिचरहरू विस्तार भएका थिए। इसेवा परिवारले निवर्तमान सीईओ खड्कालाई सफल कार्यकालका लागि धन्यवाद दिँदै आगामी व्यावसायिक एवं व्यक्तिगत जीवनको सफलताको शुभकामना व्यक्त गरेको छ।


