News 24 Television
ममताको खोजी अझै अधुरै, अदालतमा आमाले सुनाइन् पीडा

काठमाडौं । दुई वर्षअघि अमेरिकामा मारिएकी नेपाली नर्स ममता काफ्ले भट्टको हत्या प्रकरण अमेरिकी अदालतमा विचाराधिन छ । यो घटनाले धेरै पीडा र प्रश्नहरू जन्माएको छ । अमेरिकी अदालतमा उनकी आमा गीता काफ्ले र साथी सरिता न्यौपानेले दिएका बयानले घटनालाई फेरि चर्चामा ल्याएको छ । 

एउटी आमाले छोरीको सुखी जीवन, राम्रो घरपरिवार र नातिनातिनासँग रमाउने सपना देखेकी हुन्छिन् । तर त्यही छोरी विवाह गरेर हजारौँ किलोमिटर टाढा अमेरिका पुगेपछि अचानक सम्पर्कविहीन् भइन् भने आमाको मनमा कस्तो पीडा होला ? ममता काफ्ले भट्ट, एउटी नेपाली चेली, एउटी छोरी, एउटी श्रीमती र सानी छोरीकी आमा ।

आफ्नो भविष्य सुन्दर बनाउने सपना बोकेर अमेरिका पुगेकी ममता नर्सका रूपमा काम गर्थिन् । परिवारसँग सुखी जीवन बिताउने र आफ्नो सन्तानको भविष्य बनाउने सपना उनका पनि थिए । तर, सन् २०२४ जुलाई २९ मा आमासँग भिडियो कुराकानी गरेपछि परिवारसँग उनको नियमित सम्पर्क हुन सकेन । अगस्ट १ मा उनी काममा नगएपछि र भोलिपल्ट प्रहरीले उनको घरमा जाँच गरेपछि घटना गम्भीर बनेको थियो । त्यसयता ममताको अवस्था स्पष्ट हुन सकेको छैन ।

आमाको बयानले देखाएको पीडा

अदालतमा बयान दिँदै ममताकी आमा गीता काफ्लेले आफूहरूबीच प्रायः बिहान र बेलुका फेसबुकको म्यासेनजर, भिडियो कलमा कुराकानी हुने गरेको बताएकी छन् । छोरीसँग सम्पर्क हुन छाडेपछि उनले पटकपटक फोन गर्ने प्रयास गरिन् । ज्वाइँ नरेश भट्टसँग सम्पर्क गर्दा ममता साथीहरूसँग बस्न गएको जवाफ पाएको उनको बयानमा उल्लेख छ । 

छोरीको खबर नपाएपछि गीता नेपालबाट अमेरिका पुगिन् । तर छोरी कहाँ छिन् र उनलाई के भयो भन्ने प्रश्नको जवाफ पाउने उनको प्रतीक्षा अझै सकिएको छैन ।

साथीको बयानले उठाएका प्रश्न

अमेरिकी अदालतमा ममताकी साथी सरिता न्यौपानेले ममता वैवाहिक समस्याका कारण आफ्नो घरमा झन्डै दुई साता बसेको बताएकी छन् । उनको बयानअनुसार, घरायसी विवादका क्रममा नरेशले ममतामाथि हात उठाएका थिए र उनको अनुहारमा नीलडाम देखिएको थियो । 

सरिताले ममतामाथि आर्थिक तथा व्यक्तिगत नियन्त्रण गरिएको आरोपसमेत लगाएकी छन् । यी साक्षीका बयानको अन्तिम मूल्याङ्कन अदालतले प्रमाणका आधारमा गर्नेछ ।

अदालतमा मुद्दा, परिवारमा प्रतीक्षा

ममता बेपत्ता भएको घटनामा उनका श्रीमान् नरेश भट्टमाथि हत्या, शव लुकाउने र शवको अपमान गर्नेसम्बन्धी आरोप लगाइएको छ । 

अभियोजन पक्षले रगत तथा डीएनएसम्बन्धी प्रमाण, घरमा भेटिएका रगतका दाग र विद्युतीय अभिलेखलाई आफ्नो मुद्दाका आधारका रूपमा प्रस्तुत गरेको छ । तर ममताको अवशेष अहिलेसम्म फेला परेको छैन । नरेशले आफूमाथिका आरोप अस्वीकार गर्दै आएका छन् । अदालतबाट अन्तिम निर्णय नआएसम्म उनलाई दोषी ठहर गर्न मिल्दैन । यता ममताकी सानी छोरीको भविष्यबारे पनि अनेक प्रश्न छन् । एउटी बालिकाले आफ्नी आमासँग बिताउन पाउनुपर्ने बाल्यकाल र मायाको अभावलाई कुनै समाचारले पूर्ण रूपमा व्यक्त गर्न सक्दैन । 

ममताको परिवारका लागि अब सबैभन्दा ठूलो आवश्यकता सत्यको खुलासा र न्यायिक प्रक्रियाको निष्पक्ष निष्कर्ष हो । अदालतले के निर्णय गर्छ, ममताको अवस्थाबारे थप के तथ्य बाहिर आउँछन् र परिवारले कहिले जवाफ पाउँछ—यी प्रश्नको उत्तर अझै बाँकी छन् ।

प्रकाशित मिति: सोमबार, असोज २६, २०८३  ०९:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update