काठमाडौं । विवादित ब्यवसायी दिपक भट्ट २६ अर्ब बिगो सहितको सम्पत्ति शुद्धीकरण कसुरको अनुसन्धानका लागि झण्डै ३ महिना अगाडिदेखि थुनामा छन ।
उनी माथि अहिले धितोपत्र सम्बन्धिको कसुर र बैंकिङ कसुरमा अनुसन्धान जारी भएकै बेला गत बिहिवार पुनर्बीमा कम्पनीबाट करिब २४ करोड रुपैयाँ हिनामिना गरी परिवारमार्फत रकम वैध बनाइएका आरोपमा भट्टसहित १४ जना व्यक्ति र कम्पनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा ठगी र सम्पत्ति शुद्धीकरणको गम्भीर मुद्दा दर्ता भएको छ । यस प्रकरणमा बीमा सम्बन्धी कसुरमा १ अर्ब ६९ करोड ८४ लाख रुपैयाँ र सम्पत्ति शुद्धीकरणतर्फ १ अर्ब ७६ करोड ४० लाख रुपैयाँ बिगो दाबी गरिएको छ ।
सर्वसाधारण नागरिक र सरकारी बैंकहरूको समेत लगानी रहेको पुनर्बीमा कम्पनीबाट झन्डै २४ करोड रुपैयाँ हिनामिना गरी आफ्नै घर–परिवारभित्र रकम घुमाएर बैध बनाइएको प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंबाट दिपक भट्टसहित १४ जना व्यक्ति र कम्पनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा गत बिहिवार दायर भएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल बीमा प्राधिकरणको संयुक्त छानबिनपछि दीपक भट्ट, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा हिमालयन रि–इन्स्योरेन्सका तत्कालीन अध्यक्ष शेखर गोल्छा, बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवाल र तत्कालीन सीईओ उपासना पौडेलविरुद्ध मुद्दा दायर गरिएको छ ।
त्यसमध्ये बीमा सम्बन्धी कसुरमा एक अर्ब ६९ करोड ८४ लाख ३५ हजार ४४९ रुपैयाँ बिगो दाबी गरिएको छ भने सम्पत्ति शुद्धीकरणतर्फ एक अर्ब ७६ करोड ४० लाख बिगो दाबी गरिएको छ ।
सरकारी वकिलले दायर गरेको ७६ पृष्ठको अभियोगपत्र अनुसार यो घोटालाको मुख्य योजनाकार व्यापारी दीपक भट्ट हुन् भने उनलाई कानुनविपरीत लाइसेन्स दिनुका साथै नक्कली बिल सदर गर्ने काममा उद्योगी शेखर गोल्छादेखि बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष सिलवाल र उच्च कर्मचारीहरूले साथ दिएको देखिन्छ ।
नक्कली ब्रोकरमार्फत २३ करोड ९२ लाख अपचलन
जीवन बीमा कम्पनीहरूले पुनर्बीमा गर्दा कुनै बिचौलिया वा ब्रोकर चाहिन्न,उनीहरू सिधै पुनर्बीमा कम्पनीसँग कारोबार गर्छन्। तर, व्यापारी दीपक भट्टले त्यहीँभित्रबाट करोडौँ रुपैयाँ निकाल्न एउटा चलाखीपूर्ण प्रपञ्च रचे । भट्टले आफ्नी सासु अञ्जना नेपालको नाम अगाडि सारेर एलियन्ट इन्स्योरेन्स ब्रोकर्स नामको कम्पनी खोले। नेपालका १४ वटा ठूला जीवन बीमा कम्पनीहरू नेपाल लाइफ, एसियन लाइफ, सिटिजन लाइफ, आईएमई लाइफले हिमालयन रिसँग गरेको पुनर्बीमा व्यापार एलियन्ट कम्पनीले मध्यस्थता गरेर ल्याइदिएको हो भन्दै झूटा कागज तयार गरे ।
हिमालयन रिले एलियन्ट कम्पनीलाई कामै नगरी कमिसन बापत भन्दै पहिले २८ करोड रुपैयाँ पेस्की दियो । त्यसै मध्येबाट पछि २३ करोड ९२ लाख रुपैयाँ कमिसन खर्च भएको भन्दै कागजात मिलाएर फस्र्यौट गरियो ।
छानबिन टोलीले जब नेपालका १४ वटा जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सीईओहरूसँग सोधपुछ गर्यो, तब ठूलो रहस्य खुल्यो । जीवन बीमा कम्पनीका सीईओहरूले लिखित कागज गर्दा जीवन बीमाको पुनर्बीमा गर्दाकुनै ब्रोकर राखिएको छैन ।
कानुनअनुसार ब्रोकर आवश्यक पनि नपर्ने, एलियन्ट ब्रोकर्सलाई पनि कसैले पनि नचिनेको र कुनै सम्झौता पनि नभएको भन्दै जवाफ दिए । हिमालयन रिले कमिसन खर्च देखाएको भए त्यो सरासर गैरकानुनी र फर्जी हो भन्दै जीवन बीमा कम्पनीका सीईओहरूले अनुसन्धान अधिकृतहरुसँग लिखित बयान दिए । यसबाट के प्रमाणित भयो भने, हिमालयन रि–इन्स्योरेन्सले कामै नभएको ठाउँमा नक्कली कागजात खडा गरेर झन्डै २४ करोड रुपैयाँ दीपक भट्टको परिवारको कम्पनीमा पठाइयो ।
अवैध रकम कसरी बैध बनाइयो ?
अवैध रूपमा निकालिएको पैसा दीपक भट्टको हातमा पुग्नका लागि सात वटा चरणहरू पार गरेको अनुसन्धानमा गर्दा देखिन्छ । पहिलो चरणमा हिमालयन रि–इन्स्योरेन्सबाट २८ करोड रुपैयाँ पेस्कीका रूपमा सासु अञ्जना नेपाल अध्यक्ष रहेको एलियन्ट ब्रोकर्सको बैंक खातामा गयो भने दोस्रो चरणमा आर्थिक वर्ष सकिएको ५ महिनापछि पुरानो मिति राखेर फर्जी बिल र भौचर बनाइयो अनि, २३ करोड ९२ लाख रुपैयाँ खर्च अनुमोदन गरियो। तेस्रो चरणमा उक्त रकम गैरकानुनी हो भन्ने लुकाउन एलियन्ट कम्पनीले राज्यलाई ३ करोड ५८ लाख रुपैयाँ अग्रिम कर तिरिदियो, ताकि भोलि कसैले सोधे कर तिरिसकेको वैधानिक नाफा हो भन्न पाइयोस् ।
अब चौथो चरणमा कर कटाएर बाँकी रहेको रकममध्ये २१ करोड १५ लाख रुपैयाँ सासु अञ्जना नेपाललाई कम्पनीको नाफा अर्थात लाभांश भनेर महालक्ष्मी विकास बैंकको खातामा हालिएको अभियोग पत्रमा उल्लेख छ । पाँचौँ चरणमा सासु अञ्जनाले छोरीलाई दिएको भन्दै उक्त २१ करोड १५ लाख रुपैयाँ चेक काटेर आफ्नी छोरी दीपक भट्टकी श्रीमती आयुष्मा नेपाल भट्टको सिद्धार्थ बैंकको खातामा पठाइन् भने छैठौँ चरणमा आयुष्माको खाताबाट त्यो सम्पूर्ण रकम उनका श्रीमान् दीपक भट्टको सिद्धार्थ बैंकको खातामा सारियो ।
अनि, अन्तिम चरणमा भट्टले त्यो पैसा आफ्ना पुराना बैंकिङ कर्जा तिर्न, व्यावसायिक साझेदार शंकरलाल अग्रवाल र जगदम्बा स्टिललाई भुक्तानी गर्न प्रयोग गरेको अयोगपत्रमा उल्लेख छ ।
कसकसले गरे बदमासी गरे ?
अभियोगपत्र अनुसार, यसका मुख्य योजनाकार दीपक भट्टले आफ्नो नाम कतै नदेखिने गरी सासु, श्रीमती र साथीभाइका नाममा नक्कली कम्पनी र बैंक खाताहरू खोलेर बीमाको पैसा आफ्नो खल्तीमा हाले ।
बीमा क्षेत्रमा सुशासन कायम गराउने जिम्मेवारी पाएका नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवालले एलियन्ट कम्पनीको पुँजीको स्रोत के हो, सञ्चालक को हुन् भन्ने कुनै जाँचबुझ नगरी गैरकानुनी रूपमा ब्रोकरको लाइसेन्स दिएर ठगीको बाटो खोलिदिए । हिमालयन रि–इन्स्योरेन्सको सञ्चालक समिति अध्यक्ष शेखर गोल्छासहित सञ्चालकहरू रोहित गुप्ता, अमित मोर, साहिल अग्रवाल, सुभाषकुमार झुनझुनवाला, शुभेच्छा खरेल, राजीव मोर र साक्षी बंशल गुप्ताले सर्वसाधारण र राज्यको लगानी भएको संस्थाको पैसा सुरक्षा गर्ने आफ्नो कानुनी कर्तव्य पूरा गरेनन्। उल्टै, बोर्ड बैठकबाट ती नक्कली खर्च र फर्जी वार्षिक प्रतिवेदनहरू आँखा चिम्लिएर पास गरिदिए ।
मासिक ३० लाख रुपैयाँ तलब खाने तत्कालीन सीईओ उपासना पौडेलले जाँचबुझ नगरी फर्जी हिसाब मिलान गरिदिइन्। भारतीय नागरिक रहेका तत्कालीन सीईओ चन्द्रशेखरन रामामूर्तिले बिना आधार २८ करोड पेस्की दिएका थिए भने कार्यकारी निर्देशक मनिष कुमारले फर्जी भौचर सदर गरेका थिए ।
सहयोगी मनोज कुमार अग्रवालले अञ्जना नेपालको नाममा एलियन्ट कम्पनी खोल्न सुरुवाती २ करोड ४० लाख रुपैयाँ हालिदिएका थिए। साथै,सवारी साधन चढ्नका लागि दीपक भट्टले आफ्नो कम्पनी फक्स ट्राभल्सको नाममा बा १९ च ३४०६ नम्बरको मर्सिडिज बेन्ज कारसमेत किनेर दिएका थिए । उक्त गाडी प्रहरीले दीपक भट्टकै कार्यालयबाट बरामद गरेको थियो ।
अदालतमा के–के माग गरिएको छ ?
सरकारी वकिल कार्यालयले अदालतसमक्ष अभियुक्तहरूलाई हदैसम्मको कारबाही गर्न माग गरेको छ।बीमा ऐनअनुसार ३ देखि ५ वर्ष कैद र सम्पत्ति शुद्धीकरण ऐनअनुसार २ देखि १५ वर्षसम्म थप कैद सजाय माग गरेको छ ।यस्तै, सम्पत्ति शुद्धीकरणतर्फ शुद्धीकरण गरिएको रकमको दोब्बर माग दाबी गरिएको छ । एलियन्ट इन्सुरेन्स ब्रोकर्सको सञ्चालक अध्यक्ष अञ्जना नेपालसँग बीमा कसुरमा २३ करोड ९२ लाख ५ हजार ६४ र सम्पत्ति शुद्धीकरणमा २१ करोड १५ लाख बिगो माग दाबी गरिएको छ । यस्तै एलियन्टकै सुधीरकुमार मल्लिक र आयुष्मा नेपाल भट्टसग २१ करोड १५ लाख बिगो माग दाबी गरिएको छ ।
मनोजकुमार अग्रवाल, सूर्यप्रसाद सिलवाल र फक्स ट्राभल्स एन्ड टुर्स प्रालिबाट २ करोड ४० लाख बिगो मागिएको छ । दिपक भट्टले बीमा कसुर गरेको भन्दै २३ करोड ९२ लाख ५ हजार ६४ रुपैयाँ र सम्पत्ति शुद्धिकरण गरेको भन्दै २१ करोड १५ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ ।
यसअघि सम्पत्ति शुद्धीकरण विभागले गत जेठ २९ गते भट्टविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा मुद्दा दर्ता गर्दा २६ अर्ब ६३ करोड २७ लाख बिगो मागदाबी गरेको थियो । त्यसबाहेक, भट्टका विरूद्ध सेयर कारोबार र बैंकिङ कसुर गरेको अभियोगमा पनि अदालतमा मुद्दा दर्ता भएको छ ।
त्यसबेला भट्टसहित ३९ प्रतिवादीविरूद्ध सम्पत्ति शुद्धीकरण अभियोगमा मुद्दा दर्ता भएको थियो। नेपाल रिइन्सुरेन्स लगायतका कम्पनीको सेयर खरिदमा प्रयोग गरी गैरकानुनी स्रोतलाई शुद्धीकरण गर्न ३ अर्ब ८१ करोड ४६ लाख ४ हजार २३० रुपैयाँ १७ पैसा लगानी गरेको देखिएको अभियोगपत्रमा उल्लेख छ। असोज २२ गते जिल्ला अदालत काठमाडौँमा दर्ता भएको मुद्दामा बीमा कम्पनीबाट प्राप्त रकमलाई लुकाउने तथा अन्य कारोबारमा प्रयोग गर्न सहयोग गरेको आरोपमा विभिन्न व्यक्ति तथा कम्पनी गरेर १४ जनालाई प्रतिवादी बनाइएको थियो ।
ललितपुरको नख्खु कारागारमा रहेका दिपक भट्टले पूर्वप्रधानन्याधीश चोलेन्द्र शमशेर जबरासँग पटकपटक सम्पर्क गरेको पत्ता लागेपछि असोज १३ गते जेल सरुवा गरेर सिन्धुपाल्चोक पु¥याइएको छ ।


