News 24 Television
इनमको मोबाइलमा भेटियो संवेदनशील सूचना र आर्थिक कारोबारको विवरण !

काठमाडौं । एआईजी वंशीराज दाहालदेखि पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग कनेक्सन देखिएका इनम सापकोटामाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान अघि बढेको छ । सापकोटाको मोबाइलबाट संवेदनशील सूचना र आर्थिक कारोबारसम्बन्धी विवरण भेटिएको दाबी गरिएको छ । बिहिवार काठमाडौँ जिल्ला अदालतले सापकोटालाई थप ५ दिन थुनामा राख्न म्याद थप गरेको छ । 

सशस्त्र प्रहरी बलका निलम्बित एआईजी वंशीराज दाहालदेखि पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग कनेक्सन देखिएका विवादित पात्र इनम सापकोटामाथि प्रहरीले सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान अघि बढाएको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका सापकोटाविरुद्ध बुधबारदेखि नै सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा म्याद लिएर प्रहरीले अनुसन्धान शुरु गरेको हो । काठमाडौं जिल्ला अदालतले बुधबार सापकोटालाई एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । 

अदालतले दिएको म्याद सकिएपछि प्रहरीले बिहीबार पुनः म्याद थपका लागि उनलाई अदालतमा उपस्थित गराएको थियो भने अदालतले ५ दिन म्याद थप गरेको छ । अमेरिकाको पीआर रहेका सापकोटा विभिन्न व्यक्ति र शक्ति केन्द्रबीच बिचौलियाका रूपमा काम गर्ने गरेको आशंकामा अनुसन्धानको घेरामा तानिएका हुन् । 

दिल्ली जान लागेका बेला विशेष ब्युरोको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई नियन्त्रणमा लिएको थियो । एक दिन ब्युरोको नियन्त्रणमा राखेर अनुसन्धान गरेपछि उनलाई काठमाडौं प्रहरीको जिम्मा लगाइएको थियो ।

 सापकोटाको मोबाइल अनुसन्धानका क्रममा प्रहरी अधिकारी तथा उच्च राजनीतिक तहसँग सम्बन्धित संवेदनशील सूचनाहरू आदानप्रदान भएको देखिएको दाबी गरिएको छ । विशेषगरी एआईजी वंशीराज दाहालसँगको उनको सम्पर्क र प्रधानमन्त्री बालेन्द्र शाहका गतिविधिसम्बन्धी सूचना आदानप्रदान भएको विवरणसमेत भेटिएको बताइन्छ । 

आर्थिक कारोबार र रकम उल्लेख भएका संवादसमेत भेटिएपछि अनुसन्धानलाई थप गम्भीर बनाइएको बताइएको छ । यही प्रकरणमा एआईजी दाहालमाथि पनि छानबिन भइरहेको छ । मध्यरातमा प्रहरी नियन्त्रणमा रहेका व्यक्तिलाई जानकारी नदिई भेट्न गएको, सापकोटासँग सम्पर्क रहेको र संवेदनशील सूचना चुहाएको आरोपमा उनलाई निलम्बन गरिएको छ । 

उता पूर्वप्रधानन्यायाधीश चोलेन्द्रमाथि पनि अनुसन्धानको दायरा फराकिलो हुँदै गएको छ । अदालतमा विचाराधीन मुद्दामा अस्वाभाविक भेटघाट र चलखेलको सूचना पाएपछि उनलाई प्रहरीले केही समय नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । सम्पत्ति शुद्धीकरण विभागले बुधबार चोलेन्द्रसहित उनका नातेदार र निकटस्थ व्यक्तिका घरमा छापा मारेर महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ । 

इनमको कनेक्सन कहाँसम्म फैलिएको छ, र त्यसको आर्थिक तथा शक्ति सम्बन्धी जालोमा अरू को–को जोडिएका छन् ? यो खोज्न सरकार सफल हुन्छ कि हुँदैन त्यसैमा यो प्रकरणमा देखाएको सरकारको सक्रियताको सफलता मापन हुनेछ । 

प्रकाशित मिति: शुक्रबार, असोज २३, २०८३  ०८:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update