News 24 Television
संस्थापनको महाधिवेशनले छायाँमा इतर समूह

काठमाडौं । गगन थापा नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टी नेतृत्व हत्याएर १५ औं महाधिवेशनबाट पुनः नेतृत्व लिने तयारीमा छन् । तर विशेष महाधिवेशनबाट बिच्चिएको पूर्व सभापति शेरबहादुर देउवा तथा नेता शेखर कोइराला पक्ष भने अब नयाँ पार्टी निर्माणको तयारीमा जुटेको छ । 

गत वर्ष भदौमा युवा पुस्ताको विद्रोहले नेपाली कांग्रेसको राजनीतिमा ठूलै हलचल ल्यायो । जेनजी युवा पुस्ताको विद्रोहपछि युवाको माग बोकेर गगन–विश्वप्रकाश अघि बढे । गगन–विश्वले विशेष महाधिवेशनमा पार्टीलाई धकेले । तत्कालिन सभापति शेरबहादुर देउवा लगायतका इतर समूह विशेष महाधिवेशन रोक्न अदालतदेखि निर्वाचन आयोगसमेत पुग्यो । 

विशेष महाधिवेशनबाट गगनले पार्टी नेतृत्व हत्याए । इतर समूह विशेष महाधिवेशनलाई नै अवैध भन्दै सर्वोच्च समेत पुगे पनि काम लागेन । बरु विशेष महाधिवेशन, फागुन २१ को प्रतिनिधिसभा निर्वाचन हुँदै संस्थापन समूहले पार्टीको नियमित १५ औं महाधिवेशन पनि निर्धारित समयसीमाभित्रै गर्ने भन्दै महाधिवेशन प्रक्रिया अगाडि बढाइसक्दा पनि इतर पक्षले भाँड्ने प्रयत्न गरिरह्यो । अन्ततः महाधिवेशनलाई प्रभावित गर्ने गरि चुनदेवीमा छुट्टै कार्यालय स्थापना गरि समानान्तर महाधिवेशनको मिति तय गर्यो । 

मंसिरमा महाधविशेन गर्ने मिति तय गरिएपछि पार्टीभित्रको आन्तरिक ध्रुवीकरण झनै बढ्यो । देउवाकै सारथिहरु चुनदेवीबाट सानेपातिर फर्किए । प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुलाई समेत डाकेर गगन–विश्वले भब्य रुपमा महाविधेशन सम्पन्न गरि बैधानिक पार्टी नेतृत्व लिँदै गर्दा देउवा समूह नयाँ पार्टी बनाउने तयारीमा जुटेको छ । 

विशेष महाधिवेशनले नै काँग्रेसलाई वैचारिक र सांगठनिक रूपमा दुई धारमा बाँडिदिएको भन्दै उनीहरुले अब ‘नयाँ घर’ निर्माणको दिशामा अघि बढ्नुको विकल्प नरहेको बताउन थालेका छन् । 
संस्थापन समूह नरोकिएपछि इतर समूहले सामानान्तर गतिविधि जारी नै राखेको छ । आगामी मंसिर २१, २२ र २३ गते काठमाडौंमा नै महाविधेशन गर्ने तय गरेको इतर समूहले महाधिवेशन प्रक्रियामै होमिएको छ । महाधिवेशन अन्तर्गत वडा अधिवेशन सकेर पालिका अधिवेशन गरिरहेको छ । उनीहरु अब भने पार्टी विभाजन निश्चित भएको ब्रिफिङमा लागेका छन् । 

विहीबार मात्रै काठमाडौं महानगरको अधिवेशन उद्घाटन गर्दै कांग्रेस नेता प्रकाशमान सिंहले अदृष्य शक्तिको इशारामा पार्टी विभाजन गर्न खोजिएको आरोप लगाए । 

कांग्रेस पूर्व सभापति शेरबहादुर देउवालाई महाधिवेशनमा सहभागी हुन संस्थापन समूहले निकै प्रयत्न गर्यो । तर देउवा र उनको समूहले नै असोज १८ देखि शुरु भएको महाधिवेशन बहिष्कार गर्यो । उद्घाटन समारोहको अन्तिम सम्म पनि देउवाका लागि कुर्ची खाली राखिएको गगनले गुनासो गरेका थिए । 

पुरानै नियति दोहो¥याउँदै देउवा 

कांग्रेस पूर्व सपभाति शेरबहादुर देउवाले नै यसअघि नेपाली कांग्रेसलाई फुटाएका थिए । देउवाकै नेतृत्वमा २०५९ सालमा नेपाली कांग्रेस (प्रजातान्त्रिक) बनेको थियो । तर ६२÷६३ को आन्दोलनपछि पहिलो संविधानसभाको निर्वाचनअघि २०६४ सालमा कांग्रेस एक बन्यो । देउवाले अहिले पुनः त्यही नियती दोहोर्याउँदैछन् । 

जेनजी आन्दोलनपछि उपचारका लागि भन्दै लामो समय सिंगापुर र हङकङमा रहेका देउवा झण्डै ५ महिनापछि स्वेदश फर्किएर समानान्तार गतिविधि झनै चर्काएका हुन् । देउवाले इतर पक्षको महाधविशेनको कमाण्डर डा.शशांक कोइरालालाई दिएका छन् । 

देउवासँगै कांग्रेस हस्तीहरु शेखर कोइराला, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, बिमलेन्द्र निधी लगायत जारी महाधिवेशनको गेट बाहिरै छन् । यो समूहले अब कांग्रेस संस्थापन समूहलाई कमजोर बनाउन हरतरहले लाग्ने निश्चित छ । 


 

प्रकाशित मिति: शुक्रबार, असोज २३, २०८३  ०८:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update