बर्दिया । बर्दियामा सार्वजनिक यातायातका साधनले ट्राफिक नियम उल्लंघन गर्दै सञ्चालन हुँदा दुर्घटनाको जोखिम बढ्दै गएको छ । यातायात क्षेत्रमा एकाधिकार तोड्ने नीतिपछि जथाभावी खुलेका यातायात प्रालिबीचको होडबाजीले सडक सुरक्षा चुनौतीपूर्ण बनेको छ ।
बर्दियामा एक दर्जन यातायात प्रालीहरु सञ्चालन छन । पछिल्लो समय यातायात क्षेत्रमा प्रतिस्पर्धा बढदै जादा बर्दिया जिल्लामा दुर्घटनाको जोखिम बढदै गएको पाईन्छ । भने हुलाकी सडक र पुर्व पश्चिम राजमार्गमा यात्रुहरु समेत त्रासमा देखिएका छन ।
बर्दियाको हुलाकी सडकमा सञ्चालनरत रहेका साना सवारी साधनको गति र ट्राफिक नियमको उल्लघनका कारण दुर्घटनाको जोखिम बढेको देखिन्छ । सडकमा सञ्चालन भएका सवारी साधनहरुलाई सवै मिलेर दुर्घटनाको जोखिम कम गर्नु पर्ने यातायत ब्यवसायीहरुले बताउँदै आएका छन् ।
सडकमा सञ्चालन भईरहेका सवारी साधनहरुले जथाभावी यात्रु बोक्ने, जथाभावी यात्रु ओराल्ने र झराल्ने त्यसै गरी सडकका बिच भागमा सवारी साधन रोक्ने र सवारी साधनको अत्याधिक गतिका कारण दुर्घटनाको जोखिम बढेको छ भने सवारी साधन सञ्चालकहरुले पनि ट्राफिक नियमको पालना गरेको देखिदैन । हुलाकी सडकमा सञ्चालन भएका विद्युतिय सवारी साधनको दुर्घटनाको दर समेत अत्याधिक देखिएको छ ।
बर्दियाको गुलरियादेखि नेपालगञ्ज र गुलरिया देखी राजापुर सम्म पुग्ने हुलाकी सडकमा दुर्घटनाको जोखिम बढदै जाँदा जिल्ला ट्राफिक प्रहरी कार्यालयले समेत पटक पटक सुरक्षा चेक जाँच गर्दे आइरहेको छ । तर ट्राफिक प्रहरी कार्यालय बर्दियाले पटक पटक जरिवाना र सजग गराउदा समेत अटेर गर्ने गरेको जिल्ला टाफिक प्रहरी कार्यालयको भनाई छ ।
टाफिक प्रहरीको तथ्यांक अनुसार बर्दियामा यस आर्थिक वर्षमा मात्र एक सय तिस सवारी साधन दुर्घटना परेका छन् । दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ भने एक सय ४९ जना घाइते भएका छन् । दशै तिहार जस्ता चाडपर्वमा पनि दुर्घटनाको जोखिम बढदै गएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले हुलाकी सडक, राजमार्ग सहित भित्रि सडकहरुमा पनि दुर्घटना बढेको बताएका छन् । यसमा पनि अझ यातायात सञ्चालकले सावधानी नबढाउने हो भने दुर्घटना र मृत्यु हुने दर समेत बढने देखिएको छ ।


