News 24 Television
छठको तयारी तीव्र, सर्लाहीमा सजिँदै पोखरी र नदी किनार

सर्लाही । मिथिलाञ्चल लगायत तराई÷मधेसमा हर्षोल्लासपूर्वक मनाइने छठ पर्वको तयारी सुरु भएको छ । नेपाल र भारत लगायत विभीन्न देशमा हिन्दु धर्मावलम्बीले मनाउने छठ एक महत्वपूर्ण पर्व समेत हो । नेपालमा विशेष गरेर तराई क्षेत्रमा मनाउँदै आइएको यो पर्व केहि बर्षदेखि पहाड र हिमाली क्षेत्रमा समेत हर्षोल्लासका साथ मनाउन थालिएको छ । 

सर्लाहीमा आस्था, निष्ठा र भक्तिभावका साथ मनाइने छठ पर्वको तयारी तीव्र पारिएको छ । जिल्लाका विभिन्न पोखरी, नदी, नहर तथा जलाशयका किनारमा सरसफाइ गरी छठ घाट निर्माण र सजावटको काम भइरहेको छ । 

नन्देश्वर छठी घाट पोखरीलाई सिँगार्ने काम अन्तिम चरणमा पुगेको छ भने पोखरी नभएका स्थानमा नदी, कुवा तथा अन्य जलस्रोतका किनारलाई सफा गरेर सजाउन थालिएको छ । अन्न कुट तथा गोधन पर्व सम्पन्न भएलगत्तै मिथिलाञ्चलमा पारिवारिक सुख, शान्ति र समृद्धिको कामना गर्दै छठको तयारी सुरु हुन्छ । अहिले सर्लाहीका बजारमा समेत पूजा सामग्री किन्नेहरूको चहलपहल बढेको छ । सूर्यदेवलाई अघ्र्य दिन नदी, तलाउ, पोखरी र इनारका किनारमा विशेष सजावटसहित घाट बनाइँदै छ ।

चार दिनसम्म मनाइने छठ पर्वमा परिवारका ज्येष्ठ महिला वा बुहारीको नेतृत्वमा व्रत बस्ने परम्परा छ । पर्वको सुरुदेखि समापनसम्म छठका पारम्परिक गीतले गाउँबस्ती गुञ्जायमान हुन्छन् । कात्तिक शुक्ल चतुर्थीदेखि सुरु हुने पर्व सप्तमीको बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न हुन्छ । पहिलो दिनलाई अरबा–अरबाइन वा नहान खान भनिन्छ । यस दिन व्रतालुहरू जलाशयमा स्नान गरी शुद्ध र चोखो भोजन गर्छन् ।

सर्लाही प्रहरीका अनुसार जिल्लाभर करिब ३५० स्थानमा छठ घाट निर्माण भइरहेको छ । जिल्लाका २० वटै पालिकामा जलाशयका किनार सफाइ, बाँसका खट निर्माण तथा बत्ती जडान गरेर घाटलाई आकर्षक बनाउने काम भइरहेको छ । स्थानीयवासी पनि सामूहिक रूपमा घाट व्यवस्थापन र सरसफाइमा जुटेका छन् ।

अहिंसा, प्रकृतिप्रतिको सम्मान र सबै जीवप्रति सहानुभूतिको भावना अभिवृद्धि गर्ने छठ तराई–मधेसको महत्वपूर्ण सांस्कृतिक पर्व हो । दोस्रो दिन साँझ चामल, सक्खर र दूधबाट बनेको खिर प्रसादका रूपमा ग्रहण गरी खरना गरिन्छ । 

तेस्रो दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिन ठकुवा, भुसुवा, फलफूल र अन्य प्रसादसहित व्रतालुहरू घाट पुग्छन् । रातभर सूर्यको आराधना गरेपछि चौथो दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरिन्छ । त्यसपछि प्रसाद ग्रहण गरी व्रत समापन गर्ने परम्परा छ । यसरी सूर्य उपासनासँगै प्रकृति, परिवार र सामूहिक सद्भावको सन्देश बोकेको छठले सर्लाहीका गाउँबस्तीमा धार्मिक उत्साह र सांस्कृतिक रौनक थपेको छ । 

प्रकाशित मिति: शनिबार, कात्तिक २८, २०८३  ०८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update