News 24 Television
चैत्रमै ठूलो शक्ति परीक्षण गरिदै, स्थानीय तहको चुनावमा के हुँदैछ ?

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि सरकारले तयारी नथाल्दै दलहरुले तयारी तीब्र पारिसकेका छन्। प्रमुख दलहरुले स्थानीय तहको निर्वाचनको तयारी तीब्र पारेको बेला निर्वाचन आयोगले चैत्र ५ गते निर्वाचनको प्रस्ताव गरेको छ भने दलहरुलाई छलफलमा समेत डाकेको छ । 

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका निम्ति छलफल गर्न भन्दै राष्ट्रिय मान्यता प्राप्त दलहरुलाई छलफलमा बोलाएको छ। आयोगले पत्राचार गर्दै मंसिर ४ गते छलफलमा डाकेको हो। दलहरुले आयोगले बोलाएको पुष्टी गरिसकेका छन्। यसले अब स्थानीय तहको  निर्वाचनको माहोल गर्माएको संकेतलाई थप बल दिएको छ । 

आयोगले सरकारसमक्ष चैत्र ५  मा निर्वाचन सम्पन्न गर्ने भन्दै प्रस्ताव गरेको छ। भने यहि मितिको बारेमा आयोगले दलसंग छलफल गर्न थालेको हो। प्रतिनिधि सभामा ६ दलले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन् । 

प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति र राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रिय दल छन् । प्रतिनिधिसभामा राष्ट्रिय दलको मान्यता नपाएका जसपा नेपाल र राष्ट्रिय जनमोर्चा पनि राष्ट्रिय दल हुन् । स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल आगामी बैशाखमा सकिँदैछ । 

दलहरुको तयारी

प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तहको उम्मेदवार बन्न चाहनेका लागि आवेदन नै माग गरेको थियो। आवेदन माग गरेपनि वडाध्यक्षको उम्मेदवार नै नपाउने स्थिति बनेपछि सभापति रवि लामिछानेले असन्तुष्टी सार्वजनिक रुपमै व्यक्त गरेका छन् ।

रास्वपाले आवेदनमाट छनोट गरेर क्याण्डिडेट क्लबमार्फत प्रशिक्षित गर्ने समेत भनेको छ भने पालिका अध्यक्षदेखि माथिल्लो पदमा हानाथाप भएपनि वचाध्यक्षका चासो नदेखिएपछि रास्वाभित्र खैलाबैला नै देखिन्छ ।  

यस्तै, रास्वपासंगै अर्को ठूलो दल नेपाली कांग्रेसले समेत स्थानीय तहको निर्वाचनका निम्ति क्याण्डिडटे क्लबदेखि विभिन्न प्रक्रिया शुरु गरिसकेको छ। कांग्रेस सभापति गगन थापाले उम्मेदवारलाई आधारभूत प्रशिक्षणका साथै आवश्यक समन्वय गरेर निर्वाचनमा पठाउने भनिरहेका छन् ।

यता, प्रतिनिधिसभामा तेश्रो ठूलो दल नेकपा एमालेले पनि स्थानीय तहको निर्वाचनलाई केन्द्रमा राख्दै केन्द्रीय समिति हुँदै राष्ट्रिय भेलासम्म नै पुग्ने भएको छ। राष्टिय भेलामार्फत पार्टीओ नेतृत्वसहित स्थानीय तहमा  निर्वाचित प्रतिनिधिको सहभागीता गराउदै आवश्यक सुझाव लिने र जनता केन्द्रित निर्णय लिने जिकिर गरिरहेको छ । 

एमालेले केन्द्रीय समितिमा पनि यो विषयमा गहन छलफल गर्ने भनेको छ भने सक्रियतापूर्वक चुनावको तयारीलाई तीब्र पारेको छ। यता, नेपाली कम्युनिस्ट पार्टीले पनि विभिन्न अभियानको घोषणा गर्दै चुनावलाई केन्द्रमा राखेको छ भने श्रम संस्कृति, राप्रपा, जसपा लगायतका दलहरुले पनि स्थानीय तहको निर्वाचनलाई शक्ति परीक्षणको रुपमा लिने अवस्था बनिरहेको छ ।

के गर्ला सरकार ?

सरकारले स्थानीय तहको निर्वाचनका निम्ति आन्तरिक तयारी थालेको छ। सरकारले फागुन २१ मै निर्वाचन सम्पन्न गराउन चाहेको कुरा खुलिसकेको स्थितिमा चैत्र ५ गतेका लागि गरिएको प्रस्तावलाई तलमाथि गरेर मिति तय गर्ने गरि तयारी चलिरहेको छ । 

सत्तारुढ दल रास्वपाभित्रकै आन्तरिक किचलो र प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका कारण व्यस्त समय रहेकाले निर्वाचनसम्बन्धिका छलफल भने शुरु भइसकेको देखिन्न । यद्यपी रास्वपाले संसदीय दललाई चुनावको तयारीका निम्ति कुनै निर्देशन दिने र सरकारले त्यसलाई अनुमोदन गर्ने गरि जाने विषय समेत अघि बढ्न सक्ने चर्चा गरिन्छ । तर, प्रधानमन्त्री वालेन्द्र शाहले स्थानीय तहको निर्वाचनको मिति घोषणाका निम्ति आन्तरिक  तयारी र छलफल भने चलाइरहेको बताइन्छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २, २०८३  ०९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update