News 24 Television
नागरिकको आशा जगाउने बाटो खोज्दै कांग्रेस

काठमाडौं । गत वर्षको युवा विद्रोह लगत्तै नेपाली कांग्रेसको विशेष महाधिवेशन गरेर पार्टी रुपान्तरण गर्ने अभियान शुरु भयो । शेरबहादुर देउवाबाट युवा नेता गगन थापाको हातमा नेतृत्व हात लाग्यो । तर पनि गत फागुनमा सम्पन्न निर्वाचनबाट कांग्रेसले अपेक्षाकृत नतिजा हासिल गर्न सकेन । विशेष महाधिवेशन हुँदै नियमित महाधिवेशनबाट युवा नेता थापाले पार्टी नेतृत्व सम्हालिरहेका छन् । एकातिर पार्टीभित्रैको इतर पक्षको कचिंगल अर्कोतर्फ सरकार र सत्तारुढ दल रास्वपा समर्थक कार्यकर्ताको घेराबन्दी । तर पनि कांग्रेसप्रति नागरिकको आकर्षण बढाउन विभिन्न कार्यक्रमहरु अघि बढाइएका छन् । 

गत भदौको जेनजी आन्दोलनपछि पार्टीभित्रै विद्रोह गरि विशेष महाधिवेशनमार्फत गगन थापा समूहले कांग्रेस कब्जा गर्न सफल भयो । पार्टीका अग्रजहरुप्रति कटाक्ष गर्दै कांग्रेस सभापति गगन थापाले ‘कांग्रेस दास र लासहरुको पार्टी होइन, कांग्रेस जिउँदो मानिसहरूको पार्टी भएको हो’ भन्दै हुँकार गरे । तर बदलिएको कांग्रेस र बदल्छ भन्दै कांग्रेस २.० भन्दै अघि बढेको कांग्रेसले ८३ फागुनको निर्वाचनमा अपेक्षाकृत नतिजा हासिल गर्न सकेन । चुनावी नतिजाकै कारण कांग्रेस इतर पक्षका नेताहरु खासगरि देउवा समूह गगन नेतृत्वको संस्थापन समूहविरुद्ध आक्रामक ढंगले अघि बढ्न थाल्यो । 

इतर पक्षले सर्वोच्चको आदेशसमेत पुनरावलोकनको मागसहित निवेदन दिनेदेखि पार्टीविरुद्ध सामानान्तर गतिविधिहरु अघि बढायो । 

आगामी मंसिर २१ गतेदेखि सामानान्तर महाधिवेशन नै गर्ने गरि अघि बढेको देउवा समूहको सामानान्तर गतिविधि अहिले पनि जारी नै छ । तर पनि विशेष महाधिवेशन हुँदै नियमित १५ औं महाधिवेशन सम्पन्न गरेर गगन थापाको नेतृत्वमा बनेको नयाँ टिम अर्थात संस्थापन समूहले आगामी स्थानीय तहको निर्वाचन लक्षित गतिविधिहरुलाई अगाडि बढाइरहेको छ । 

यहि मंसिर १ गतेदेखि ‘हामी तयार छौं’ अभियान शुरु गर्दैछ । १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकको निर्णयअनुसार सञ्चालन हुन लागेको यस देशव्यापी अभियानमा वडा तहदेखि केन्द्रसम्मका कार्यसमिति सदस्य र क्षेत्रीय प्रतिनिधिसहित करिब तीन लाख नेता–कार्यकर्ता परिचालित गर्ने तयारी कांग्रेसको छ ।

अभियानका क्रममा केन्द्रीय प्रतिनिधिहरू खटाएर सबै जिल्लाका वडा तहसम्म संगठनात्मक गतिविधि सञ्चालन गर्ने उसको योजना छ । 

संगठन सञ्चालनका क्रममा देखिएका कमजोरी सच्याउँदै पार्टीभित्र चारै पुस्ताको उचित प्रतिनिधित्व सुनिश्चित गर्ने र स्थानीय निर्वाचनमा महिला, सबै जातजाति तथा समुदायलाई उचित अवसर दिने योजना कांग्रेसले बनाएको छ । नेता तथा कार्यकर्ताहरू गाउँ, वडा र टोलस्तरका मतदाताको घरदैलोमै पुगेर उनीहरूका गुनासा सुन्ने, असन्तुष्टिको कारण खोज्ने र विश्वास पुनः आर्जन गर्ने गरी देशव्यापी संवाद सञ्चालन गर्ने तयारी कांग्रेसको छ । 

अभियानकै क्रममा सरकारका काम कारबाहीको आलोचना गर्दै सरकारको भण्डाफोर गर्ने कांग्रेसको रणनीति छ । 
बाइटः प्रदीप पौडेल, महामन्त्री, नेपाली कांग्रेस
पछिल्लो समय नेपाली कांग्रेसको बैधानिकताको सन्दर्भमा नव घोषित विचौलिया इनम सापकोटा प्रकरणमा पार्टी सभापति गगन थापाको नाम जोडिएको छ । 

पार्टीलाई वैधानिकता दिलाउन १८ करोड दिएको इनमको बयान बाहिरिएपछि कांग्रेस सरकारविरुद्ध झनै आक्रामक छ । यो पार्टीकै इतर पक्षका लागि मसला बनिरहेको छ । 

त्यसैले लोकतान्त्रिक मूल्य, विधिको शानस र अभिब्यक्ति स्वतन्त्रताको पक्षमा पनि कांग्रेस दृढ रहने सन्देश पनि अभियानमार्फत अघि बढाउने प्रयत्न कांग्रेसको छ ।  

आफैले विगारेको खुलामञ्च हरियाली बनाउँदै कांग्रेस  
नेपाली काँग्रेसले १५ औँ महाधिवेशन काठमाडौको खुलामञ्चमा गरेको थियो । हप्तौंसम्म चलेको महाधिवेशनका क्रममा खुलामञ्चको मैदान कुरुप बनाएको आरोप कांग्रेसलाई लागेको छ ।

आफूले खुलामञ्च सुन्दरता बनाइदिएर नयाँ पार्टीले कार्यक्रम गर्न पाएको भन्दै प्रधानमन्त्री बालेन्द्र शाहले कांग्रेसलाई ब्यङग्य समेत गरेका थिए । महाधिवेशनका क्रममा प्रयोग गरिएको खुलामञ्चको सुन्दरता फर्काउने उद्देश्यले आइतबार खुलामञ्चमा दुबो रोप्ने काम गरेका छ । महाधिवेशनका क्रममा खुलामञ्चको घाँसे मैदानमा क्षति पुगेपछि त्यसलाई पुरानै अवस्थामा फर्काउने प्रतिवद्धताअनुसार दुबो रोपिएको कांग्रेस नेताहरुले बताएका छन् । 

आगामी फागुनमा नै स्थानीय तहको निर्वाचन गर्ने गरि सरकार अघि बढेको छ । सत्तारुढ दल रास्वपाले स्थानीय तह लक्षित कार्यक्रम शुरु गरि गाउँ छिरेको महिनौं भइसकेको छ । तर कांग्रेस, एमाले र नेकपा लगायतका राजनीतिक दलहरु पार्टीभित्रैको आन्तरिक कचिंगलमै छन् । पार्टीभित्रको अन्तरसंघर्षकै बाबजुद जनतालाई आकर्षण गर्न कस्सिएको कांग्रेस २.० को अभियान कत्तिको प्रभावकारी होला र आगामी निर्वाचनमा कस्तो नतिजा आउला हेर्न बाँकी नै छ । 


 

प्रकाशित मिति: सोमबार, कात्तिक ३०, २०८३  ०९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update