काठमाडौँ । रेमिटेन्स तथा मनि ट्रान्सफरको कारोबार गर्ने कम्पनीहरूमध्ये आइएमई लिमिटेड सर्वाधिक कर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ। राष्ट्रिय कर दिवस २०८३ का अवसरमा मंगलबार काठमाडौँमा आयोजित एक विशेष समारोहका बीच अर्थमन्त्री स्वर्णिम वाग्लेले आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकाललाई उक्त सम्मान प्रदान गर्नुभएको हो।
सम्मान ग्रहणपछि बोल्दै अध्यक्ष ढकालले उल्लेख्य मात्रामा कर दाखिला गरी राष्ट्र निर्माण र विकासमा योगदान पुर्याउन पाउनु आइएमईका लागि गौरवको विषय भएको बताउनुभयो। विभिन्न देशमा सयभन्दा बढी व्यावसायिक साझेदार नेटवर्क विस्तार गरिसकेको आइएमईले आगामी दिनमा रेमिटेन्स सेवालाई अझ सरल, सहज र सुरक्षित बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा आफ्नो ब्रान्ड पहिचानलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
रेमिटेन्स सेवासँगै आइएमईले सिर्जना तथा विकास गरेको उद्यमशीलताको इकोसिस्टमलाई थप मजबुत बनाउँदै उन्नत प्रविधि, उत्कृष्ट सेवा र व्यावसायिक गतिशीलतालाई निरन्तरता दिने अध्यक्ष ढकालले उल्लेख गर्नुभयो।
सन् २००१ मा स्थापना भएको आइएमईले नेपालको वैदेशिक मुद्रा आप्रवाहलाई संस्थागत र व्यवस्थित तुल्याउन नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ। मुलुकको अर्थतन्त्रमा पुर्याएको यही योगदानको कदरस्वरूप आइएमईले यसअघि पनि पटक–पटक सर्वाधिक कर तिर्ने कम्पनीका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानहरू प्राप्त गरिसकेको छ।


