नेपाल–भारत सम्बन्धमा पञ्चेश्वर बहुउद्देश्यीय आयोजना एउटा यस्तो परियोजना बनेको छ जसको चर्चा हरेक नेपाली प्रधानमन्त्रीको भारत भ्रमणमा छुट्दैन । तर यसको निर्माणको सुरुवात भने दशकौँदेखि हुन सकेको छैन । विद्युत् उत्पादन, सिँचाइ, बाढी नियन्त्रण र आर्थिक समृद्धिको सपना देखाइएको आयोजना प्रत्येक उच्चस्तरीय भेटवार्तामा फेरि ब्युँतिन्छ । संयुक्त वक्तव्यको प्राथमिकतामा पनि पर्छ । डीपीआर छिट्टै टुंग्याउने प्रतिबद्धता आउँछ । तर नेपाल फर्किएपछि फेरि कार्यान्वयनको गति सुस्ताउँछ । प्रधानमन्त्री बालेन्द्र शाहको पछिल्लो भारत भ्रमण पनि यही पुरानो चक्रबाट बाहिर निस्कन सकेन ।
भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यको बुँदा नम्बर १८ मा दुवै प्रधानमन्त्रीले पञ्चेश्वर विकास प्राधिकरण तथा जलस्रोतसम्बन्धी संयुक्त संयन्त्रलाई आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) चाँडै अन्तिम रूप दिन र कार्यान्वयनको प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् । तर पञ्चेश्वरको डीपीआर कहिले अन्तिम हुन्छ । निर्माण कहिलेदेखि सुरु हुन्छ र लगानीको ढाँचा के हुन्छ भन्ने समयसीमा सार्वजनिक भएको छैन । त्यसैले हरेक भ्रमणमा दोहोरिने प्रतिबद्धताले आयोजनाको भविष्यभन्दा राजनीतिक आश्वासनको निरन्तरता बढी देखाउन थालेको छ ।
६ महिनामा डीपीआर, ३० वर्षमा पनि अधुरो
सन् १९९६ फेब्रुअरी १२ मा नेपाल र भारतबीच महाकाली सन्धि भएपछि पञ्चेश्वर बहुउद्देश्यीय आयोजना निर्माण गर्ने आधार तयार भएको थियो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री पीभी नरसिंह रावको कार्यकालमा भएको सन्धिले महाकाली नदीको एकीकृत विकास तथा पञ्चेश्वर आयोजनालाई अघि बढाउने सहमति गरेको थियो । सन्धिको धारा ३ ले आयोजनाको डीपीआर संयुक्त रूपमा तयार गर्ने र महाकाली नदीको पानी उपयोगमा दुवै देशको समान हक रहने सिद्धान्त स्वीकार गरेको छ । आयोजनाबाट प्राप्त विद्युत् बराबर बाँड्ने तथा सिँचाइ, विद्युत् र बाढी नियन्त्रणलगायत समग्र लाभको अनुपातमा निर्माण लागत व्यहोर्ने व्यवस्था गरिएको छ । डीपीआर तयार गर्न ६ महिनाको समयसीमा तोकिएको थियो । त, ६ महिनामा तयार हुनुपर्ने प्रतिवेदन तीन दशकसम्म टुंगोमा पुग्न सकेको छैन ।
सन्धिमा उल्लेख गरिएको समयसीमा कागजमै सीमित रहँदा पञ्चेश्वर नेपाल भारत जलस्रोत सहकार्यको सबैभन्दा लामो प्रतीक्षाको आयोजना बनेको छ । आयोजना अघि बढाउन सन् २०१४ मा पञ्चेश्वर विकास प्राधिकरण स्थापना गरियो । भारतीय सरकारी परामर्शदाता कम्पनी वाप्कोसले अध्ययन गरेर सन् २०१६ मा डीपीआरको मस्यौदा तयार पारेको थियो । तर प्राविधिक अध्ययन पूरा भए पनि पानीको अधिकार, लाभको मूल्यांकन, लगानी बाँडफाँट र विद्यमान पानी उपयोगको व्याख्यामा दुई देशबीच सहमति हुन सकेन । भारत सरकारको सन् २०२१ को संसदीय जवाफमा पनि डीपीआर अन्तिम चरणमा छलफल भइरहेको उल्लेख थियो । अध्ययन र छलफलका प्रक्रिया अघि बढे पनि निर्माण सुरु गर्न आवश्यक राजनीतिक तथा आर्थिक सहमति अझै बनेको छैन ।
देउवा, प्रचण्ड हुँदै बालेनसम्म : उही प्रतिबद्धता
पञ्चेश्वर आयोजना अघि बढाउने विषय नेपालका प्रधानमन्त्रीहरूको भारत भ्रमणमा पटकपटक उठ्दै आएको छ । सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा पञ्चेश्वरलाई प्राथमिकतामा राख्दै डीपीआर टुंग्याउने र निर्माण प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको थियो । त्यसपछि पनि आयोजना चर्चामा रह्यो । तर कार्यान्वयनको गति सधै उस्तै सुस्त रह्यो । २०७४ सालमा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा डीपीआर एक महिनाभित्र अन्तिम रूप दिने सहमति भयो ।
उक्त समयसीमा पनि पूरा भएन । त्यसपछि २०७९ सालमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा तीन महिनाभित्र डीपीआर टुंग्याउने प्रतिबद्धता दोहोरियो । तर प्राविधिक तथा संयुक्त विज्ञ समूहका छलफलबाट पनि निर्णायक सहमति जुट्न सकेन । पञ्चेश्वरलाई राजनीतिक स्तरमा प्राथमिकता दिइएपनि कार्यान्वयनका लागि आवश्यक विवाद समाधानको जिम्मा प्राविधिक संयन्त्रलाई दिइएको छ । ती संयन्त्रले वर्षौँदेखि छलफल गरे पनि दुई देशका मूलभूत अडानमा सहमति जुटाउन सकेका छैनन् । त्यसैले प्रधानमन्त्रीस्तरीय प्रतिबद्धता आयोजनाको निर्माणमा परिणत हुन सकेको छैन ।
पञ्चेश्वरको सबैभन्दा ठूलो गाँठो !
पञ्चेश्वर निर्माणमा सबैभन्दा ठूलो गाँठो आयोजनाबाट प्राप्त हुने लाभको मूल्यांकन र त्यसअनुसारको लागत बाँडफाँट हो । महाकाली सन्धिले विद्युत् बराबर बाँड्ने स्पष्ट व्यवस्था गरे पनि सिँचाइ, बाढी नियन्त्रण र अन्य लाभको मूल्यांकन कसरी गर्ने भन्नेमा दुई देशको मत मिलेको छैन । नेपालको प्रस्तावअनुसार भारतले आयोजनाको करिब ७० प्रतिशत र नेपालले ३० प्रतिशत लागत व्यहोर्नुपर्छ । भारतले भने ६५ प्रतिशत लागत व्यहोर्ने र नेपालले ३५ प्रतिशत योगदान गर्नुपर्ने प्रस्ताव राख्दै आएको छ । पाँच प्रतिशतको अन्तर देखिएपनि यसको पछाडि आयोजनाबाट प्राप्त हुने लाभको गणना र पानीको अधिकारसम्बन्धी पनि गम्भीर विवाद छ ।
भारतले तल्लो तटीय क्षेत्रमा सिँचाइ तथा बाढी नियन्त्रणबाट बढी लाभ प्राप्त गर्ने भएकाले नेपालले लागत बाँडफाँट लाभको अनुपातमा हुनुपर्ने अडान राखेको छ । महाकाली सन्धिको धारा ३ ले पनि आयोजनाबाट प्राप्त लाभका आधारमा लागत व्यहोर्ने व्यवस्था गरेको छ । त्यसैले कुन देशले कति लाभ पाउँछ भन्ने हिसाब नै अन्तिम लगानी निर्धारण गर्ने मुख्य आधार बनेको छ । भारततर्फ करिब दुई लाख ४० हजार हेक्टर र नेपालतर्फ करिब एक लाख ३० हजार हेक्टर क्षेत्रमा सिँचाइ लाभ पुग्ने अनुमान सार्वजनिक हुँदै आएका छन् । भारतले सिँचाइ तथा बाढी नियन्त्रणबाट बढी लाभ प्राप्त गर्ने नेपालको तर्क छ । तर लाभको आर्थिक मूल्यांकनमा सहमति नहुँदा लागत बाँडफाँट पनि टुंगिन सकेको छैन ।
लगानीमा मात्रै छैन विवाद
पञ्चेश्वरको विवाद लगानीमा मात्रै सीमित छैन । महाकाली नदीको पानीमा दुवै देशको समान हक हुने सन्धिको व्यवस्था र विगतदेखि भइरहेको पानीको उपभोगलाई असर नपर्ने प्रावधानबीचको व्याख्या पनि विवादको अर्को प्रमुख कारण हो । भारतले तल्लो शारदा बाँधमा सन् १९७५ देखि भइरहेको पानी उपयोगलाई विद्यमान उपभोगका रूपमा मान्यता दिनुपर्ने अडान राख्दै आएको छ । नेपालले भने त्यसको व्याख्या र आयोजनाबाट सिर्जना हुने नयाँ लाभको हिसाबमा प्रश्न उठाएको छ ।
भारतको संसदीय समितिमा सन् २०२५ मा प्रस्तुत विवरणअनुसार, नेपालले तल्लो शारदामा भइरहेको भारतको पानी उपयोगलाई डीपीआरमा भविष्यको उपयोगका रूपमा गणना गर्नुपर्ने धारणा राख्दै आएको छ । त्यस्तै दोधारा–चाँदनी क्षेत्रमा सिँचाइका लागि उपलब्ध गराउनुपर्ने १० घनमिटर प्रतिसेकेन्ड पानीलाई नेपालले आफ्नो विद्यमान अधिकारका रूपमा गणना गर्नुपर्ने अडान राखेको छ । भारतले भने यी विषयको व्याख्यामा फरक धारणा राख्दै आएको छ । पानीको विद्यमान उपयोग, भविष्यमा थपिने सिँचाइ सुविधा र आयोजनाबाट सिर्जना हुने लाभको गणना नमिल्दा लागत बाँडफाँटमा समेत सहमति बन्न सकेको छैन ।
५ हजार ४० मेगावाटमा झरेको आयोजना
पञ्चेश्वरलाई नेपालको ऊर्जा विकासका लागि रणनीतिक आयोजना मानिन्छ । प्रारम्भिक अवधारणामा ६ हजार ४८० मेगावाट क्षमताको आयोजना प्रस्ताव गरिएको थियो । तर पछिल्ला अध्ययनमा मुख्य पञ्चेश्वरबाट ४ हजार ८०० मेगावाट र रूपालीगाडबाट २४० मेगावाट गरी कुल ५ हजार ४० मेगावाट विद्युत् उत्पादन गर्ने प्रस्ताव अघि सारिएको छ । आयोजना बनेमा दुवै देशले बराबर विद्युत् प्राप्त गर्नेछन् । जलाशययुक्त आयोजना भएकाले वर्षायाममा पानी सञ्चित गरेर हिउँदमा विद्युत् उत्पादन गर्न सकिनेछ ।
यसले विद्युत् उत्पादनसँगै नदीको बहाव व्यवस्थापन, सिँचाइ र तल्लो तटीय क्षेत्रमा बाढी नियन्त्रणमा समेत सहयोग पु¥याउने विश्वास गरिएको छ । पञ्चेश्वर निर्माणको अनुमानित अवधि करिब १० वर्ष रहने बताइएको छ । तर निर्माण सुरु हुनुअघि डीपीआर अन्तिम गर्नुपर्ने, वातावरणीय स्वीकृति लिनुपर्ने, लगानी सुनिश्चित गर्नुपर्ने र दुवै देशबीच लाभ तथा पानीको अधिकारसम्बन्धी विवाद समाधान गर्नुपर्नेछ ।
बनाउने इच्छा तर अवरोध पनि उस्तै
तीन दशकसम्म पञ्चेश्वर आयोजना प्रधानमन्त्रीस्तरीय वार्ताको एजेन्डा बन्नु असफल कूटनीतिक निरन्तरताको संकेत हो । आयोजना अघि बढाउने इच्छा दुवै देशले व्यक्त गर्दै आएका छन् । तर इच्छा र कार्यान्वयनबीचको दूरी अझै घट्न सकेको छैन । हरेक भ्रमणमा डीपीआर शीघ्र टुंग्याउने सहमति हुन्छ । त्यसपछि प्राविधिक समिति गठन, बैठक र नयाँ छलफलको चरण सुरु हुन्छ ।
तर विवादको मूल विषय पानीको अधिकार, लाभको मूल्यांकन र लागत बाँडफाँटमा दुवै देश निर्णयमा पुग्नै सक्दैनन् । पञ्चेश्वर नेपालको ऊर्जा सुरक्षा, सिँचाइ विस्तार र आर्थिक विकाससँग जोडिएको ठूलो सम्भावना हो । तर तीन दशकदेखि एउटै प्रतिबद्धता दोहो¥याइरहँदा यो परियोजना प्रति नै विश्वास लाग्न छोडेको अवस्था छ । त्यसैले यसको सफल कार्यान्वयनका लागि डीपीआर छिट्टै टुंग्याउने भाषाभन्दा विवाद समाधान गर्ने निश्चित समयसीमा, लगानीको स्पष्ट ढाँचा र निर्माण सुरु गर्ने कार्ययोजना आवश्यक छ ।


