काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकै बेला पार्टीभित्रको आन्तरिक द्वन्द्व थप चर्किएको छ ।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयबाट सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा समूहमा सहभागी जनप्रतिनिधिलाई कारबाहीको चेतावनी दिएपछि कांग्रेसको राजनीति झनै तरंगित बनेको छ ।
नेपाली कांग्रेसको आन्तरिक विवाद र पार्टीको वैधानिक आधिकारिकतासम्बन्धी मुद्दा यतिबेला सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छ । तर अदालतबाट अन्तिम निर्णय आउनुअघि नै पार्टीभित्रका दुवै पक्ष आ–आफ्ना राजनीतिक तथा सांगठनिक गतिविधिमा सक्रिय देखिएका छन् ।
गगन थापा नेतृत्वको समूहले १५औँ महाधिवेशन सम्पन्न गरिसकेको छ भने पूर्वसभापति शेरबहादुर देउवा समूहले आगामी मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने गरी तयारी गरेको छ ।
देउवा पक्षले वडा तहदेखि जिल्ला हुँदै प्रदेश अधिवेशनमार्फत केन्द्रीय महाधिवेशनको प्रक्रिया तीव्र पारेपछि पार्टीभित्रको शक्ति संघर्ष थप पेचिलो बन्न थालेको छ । देउवा समूहले ५९ जिल्ला र दुई प्रदेशमा सामानान्तर अधिवेशन सम्पन्न गरिसकेको छ ।
देउवा समूह कुनै पनि हालतमा पार्टीको समानान्तार महाधिवेशन गर्ने तयारीमा पुगेपछि कांग्रेस संस्थापन समूह आक्रामक देखिएको हो ।
मंगलबार मात्रै कांग्रेस केन्द्रीय कार्य समिति बैठकमा पार्टी सभापति थापाले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुलाई पार्टी विधान अनुसार कारबाही गर्ने संकेत गरे ।
राष्ट्रियसभा, प्रदेशसभा तथा स्थानीय तहमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुलाई विधान अनुसार कारबाही गर्ने थापाले चेतावनी दिएका थिए । पार्टी विरुद्ध गतिविधि गरेको भन्दै कारबाही हुने संकेतपछि देउवा पक्षमा लागेका निर्वाचित जनप्रतिनिधिहरुलाई झस्काएको छ । तर देउवा पक्षले पार्टीको आधिकारिकताको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा कसैलाई पनि कारबाही गर्ने वैधानिक हैसियत गगन थापासँग नभएको दाबी गरेका छन् ।
निर्वाचन आयोगले थापा पक्षलाई आधिकारिकता दिँदा आफूहरूले सानेपा छोडे पनि मूल कांग्रेस आफूहरू नै रहेको दावि देउवा पक्षको छ ।
अहिले नेपाली कांग्रेसभित्र एक पक्षले १५औँ महाधिवेशन सम्पन्न गरिसकेको दाबीसहित विधान कार्यान्वयन र कारबाहीको चेतावनी दिइरहेको छ, भने अर्को पक्ष मंसिरको महाधिवेशन तयारीसँगै मूल कांग्रेस आफू नै रहेको अडानमा छ ।
एकातिर निर्वाचन आयोगबाट प्राप्त आधिकारिकता र अर्कोतिर सर्वोच्च अदालतमा विचाराधीन मुद्दाका कारण दुवै समूह आ–आफ्नै रणनीतिमा अघि बढेका छन् । सानेपाबाट सुरु भएको कारबाहीको चेतावनी र देउवा समूहको अस्वीकारकाबीच नेपाली कांग्रेसको आधिकारिकताको अन्तिम निर्णय सर्वोच्च अदालतको फैसलामा निर्भर रहनेछ ।
निर्वाचन आयोगमा अध्यावधिक
नेपाली कांग्रेसको असोज १८ देखि २३ गतेसम्म भएको १५ औं महाधिवेशनबाट निर्वाचित कार्य समितिको विवरण निर्वाचन आयोगले अध्यावधिक गरेको छ । महाधिवेशनबाट निर्वाचित कार्यसमितिको विवरण अध्यावधिक गर्न भन्दै कांग्रेसले गत कार्तिक १६ गते निर्वाचन आयोगलाई पत्राचार गरेको थियो ।


