काठमाडौं । सरकारले गरेका केहि नियुक्तिहरुको विवाद सर्वोच्चमा लम्बेतान बन्न पुगेका छन्। केहि प्रक्रियामा छन्। महान्यायाधिवक्ताको नियुक्तिदेखि प्रहरी महानिरिक्षकको नियुक्तिसम्मका केहि चर्चित विवादहरु के छन त ?
प्रधानमन्त्री वालेन्द्र शाहले गरेका केहि नियुक्तिहरु सर्वोच्चमा विचाराधिन अवस्थामा छन्। जसमध्ये हो, महान्यायाधिवक्ताको नियुक्ति। प्रधानमन्त्री वालेन्द्र शाहले महान्यायाधिवक्तामा नियुक्त गरेका नारायणप्रसाद कडेलको योग्यता विवाद सर्वोच्च अदालतमा छ ।
गएको वैशाख ९ गते महान्यायाधिवक्ताविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता भयो। त्यसपछि सर्वोच्चले विभिन्न समयमा पेसी तारेख तोकेपनि सुनुवाईले गति लिन सकेको देखिन्न। जसकारण सर्वोच्च अदालतको निर्णय पर्खाई लम्बिन पुगेको छ। यो मुद्दामा सर्वोच्चका न्यायाधीश कुमार रेग्मीले वैशाख १० गते कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि छलफलमा बोलाए। त्यसपछि विभिन्न इजलासमा मुद्दाको पेसी तोकियो, सुनुवाई हुन सकेन् ।
दुई पटक साप्ताहिक पेसीबाट समेत हटाइयो। यस्तोमा गएको असार ३ गते न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले पूर्ण इजलासमा पठाउने निर्णय ग¥यो । त्यसपछि पटक–पटक पेसी चढ्ने तर सुनुवाई नहुने गरेकोमा अब माघ १७ गतेका लागि तोकिएको सर्वोच्चको वेवसाइटमा उल्लेख छ ।
यस्तै, सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेकी आनी छोइङ डोल्माको नियुक्ति गर्ने सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे आगामी सोमबार १४ मंसीरमा छलफलका लागि बोलाएको छ । यता, सरकारले आइजीपीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरेका दानबहादुर कार्कीको मुद्दा पनि रोचक मोडमा पुगेको छ ।
दानबहादुरबारे के भन्यो सर्वोच्चले ?
सर्वोच्च अदालते दानबहादुर कार्कीले दायर गरेको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। मुद्दाको अन्तिम टुंगो लाग्दा सबै विषय खुल्ने भन्दै सात दिनभित्रै पेसीमा राख्ने र पेसी चढेपछि हटाउन नमिल्ने समेत आदेशमा उल्लेख छ। जसमा भनिएको छ, ’यसमा निवेदकले अन्तरिम आदेश माग गरेको सम्बन्धमा विचार गर्दा, प्रत्यर्थीमध्येका डा. मनोजकुमार के.सी. नेपाल सरकारको मिति २०८३\०७\ १८ को निर्णयानुसार प्रहरी महानिरीक्षक पदमा बढुवा भई सोही दिन नियुक्ति बुझी सो पदको कार्यभार सम्हालीसकेको भन्ने मिसिलबाट देखिएको, निवेदकले अन्तरिम आदेशको माग गरेको प्रस्तुत विषय देशको शान्ति सुरक्षा कायम गर्ने प्रहरी संगठनको नेतृत्वसँग सम्बन्धित सार्वजनिक महत्वको संवेदनशील विषय भएको र रिट निवेदकले माग गरेको न्यायिक उपचार र उठाएका अन्तरिम आदेशको मागसँग अन्तरनिहित कानूनी प्रश्नहरुको रिट निवेदनको अन्तिम सुनुवाई हुँदा निरुपण र सम्बोधन हुने प्रकृतिको देखिंदा सुविधा सन्तुलनको दृष्टिसमेतबाट निवेदन माग बमोजिम हाल अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था देखिएन ।
माथि उल्लेख भए बमोजिम प्रस्तुत रिट निवेदन राज्यको शान्ति सुरक्षा र प्रहरी संगठनको नेतृत्व र नियन्त्रण प्रणाली (ऋजबष्ल इा ऋयmmबलम) सँग सम्बन्धित भई निवेदनमा उठाईएका विषयवस्तुको महत्व, गम्भीरता र संवेदनशीलतातर्फ दृष्टि गर्दा छिटो सुनुवाई र निर्णय हुन वाञ्छनीय देखिएबाट प्रत्यर्थीहरुबाट लिखित परेपछि वा पर्ने अवधि व्यतित भएपछि ७ (सात) दिनभित्रै पेसी चढाई पेसी हटाउन नपाउने पूर्वसूचना दुवै पक्षलाई दिई नियमानुसार पेस गर्नू ।’
यस्ता विवादास्पद नियुक्तिहरु कार्यकारी अधिकारको प्रयोग कि संवैधानिक बलमिच्याई भन्ने कुरामा सर्वोच्चले निर्णय दिनुपर्नेमा लम्बेतान पारेर राख्ने र निर्णय नै नदिने गर्नाले न्यायपालिकाको विश्वासमा आघात पर्ने खतरा बढ्दो छ। न्यायपालिकाप्रतिको विश्वास घटिरहेको बेला सर्वोच्चले किन मुद्दाको गाम्भिर्तयालाई ख्याल गर्दैन ? संसद विघटनविरुद्धको फैसला नगर्दा राजनीतिक रुपमा नै टोकसो खाइरहेको सर्वोच्चले किन बिलम्ब गरेर न्यायिक मनको प्रयोग गर्न खोज्दैन ? तमाम प्रश्नहरु देखिन्छन्। प्रक्रिया र अंग पुगेका मुद्दाहरु समेत सुनुवाईमा नजाने र अनावश्यक मोलाहिजा गर्ने परम्पराले अदालतप्रतिको आस्था खस्किने र आम विश्वास घट्ने खतरा बढ्दो छ। यस्तोमा न्यायपालिकाले आफ्नै शुद्धिकरण र न्यायिक निष्पक्षतासहितको कर्म गर्ला ? यो आम प्रश्न बनेको छ ।


