News 24 Television
बालबालिकाको आवाज बन्न पत्रकार एकजुट, १३ सदस्यीय समूह गठन

ललितपुर । बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राखेर जिम्मेवार पत्रकारिता गर्ने प्रतिबद्धतासहित ललितपुरको गोदावरीमा १३ सदस्यीय बालमैत्री पत्रकार समूह गठन गरिएको छ । बालबालिकासम्बन्धी समाचार लेख्दा उनीहरूको पीडा र व्यक्तिगत विवरणलाई समाचारको मुख्य विषय बनाउनेभन्दा पनि उनीहरूको अधिकार, सुरक्षा र न्यायका लागि आवाज उठाउने उदेश्यसहित बालमैत्री पत्रकार समूह गठन गरिएको हो । मंसिर ८ र ९ गते आयोजित दुईदिने बाल संवेदनशील पत्रकारिता विषयक अभिमुखीकरण कार्यक्रमका क्रममा सुभद्रा धितालको संयोजकत्वमा उक्त समूह गठन गरिएको हो ।

समूहको सहसंयोजकमा नरेन्द्र रौले चयन भएका छन् । समूहका सदस्यहरूमा कृषला भण्डारी, उमा शर्मा, विनोद देवकोटा, शिव गौतम, सपना बोहरा, सुरेशप्रसाद सैँजु, पवित्रा मुडभरी, मनिषा बस्नेत, टोपेन्द्र रोकामगर, सत्यराज भट्ट र दानिस राज अन्सारी रहेका छन् । 

KRishla-(1)-1795674779.jpg
अभिमुखीकरणमा बालबालिकासम्बन्धी समाचार तयार गर्दा उनीहरूको नाम, तस्बिर, परिचय तथा व्यक्तिगत विवरण सार्वजनिक गर्दा पर्न सक्ने मनोवैज्ञानिक र सामाजिक असरबारे विशेष छलफल भएको थियो । बालबालिकाको पीडा प्रस्तुत गर्ने नाममा उनीहरूलाई थप जोखिममा पार्न नहुने र समाचारमा घटनाका जिम्मेवार पक्षको जवाफदेहिता खोज्नुपर्ने सहभागीहरूको निष्कर्ष थियो ।

कार्यक्रममा बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) नेपालका अध्यक्ष तिलोत्तम पौडेलले बाल अधिकारका आधारभूत सिद्धान्त, बाल संरक्षण प्रणाली र नेपालमा बालबालिकाको वर्तमान अवस्थाबारे सहजीकरण गरेका थिए । उनले बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागितालाई बाल अधिकारका प्रमुख आधारका रूपमा प्रस्तुत गर्दै बालबालिकासम्बन्धी नीतिगत व्यवस्था व्यवहारमा कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

दिगो विकासका १७ लक्ष्यमध्ये १० वटा लक्ष्य बालबालिकासँग प्रत्यक्ष सम्बन्धित रहेको उल्लेख गर्दै उनले राष्ट्रिय योजना तथा कार्यक्रममा बालबालिकाका सवाललाई प्राथमिकता दिनुपर्ने बताए ।

KRishla-(1)-1795674797.webp
पौडेलले सोह्रौँ योजनामा समेटिएका बालबालिकासम्बन्धी लक्ष्य, स्थानीय शासन कार्यसम्पादन मूल्यांकन कार्यविधि, २०८२ तथा स्थानीय तहमा रहेका बाल संरक्षण संयन्त्रलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँलयाए ।  उनका अनुसार बालबालिकासम्बन्धी तथ्यांक व्यवस्थापन र संरक्षणका लागि सरकारी निकायबीच प्रभावकारी समन्वय पनि उत्तिकै आवश्यक छ ।

विपद्का समयमा बालबालिका थप जोखिममा पर्ने विषय उठाउँदै उनले भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित छ जिल्लाका बालबालिकाको अवस्थाबारे चर्चा गरे। विपद्पछि बालबालिकाको सुरक्षा, जोखिम पहिचान, मानवीय अवस्था र आवश्यक सेवाको उपलब्धतामा राज्यले विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

त्यस्तै, सञ्चारिका समूहकी पूर्वअध्यक्ष बबिता बस्नेतले बालबालिकासम्बन्धी समाचारमा संवेदनशीलता र लैंगिक उत्तरदायित्व आवश्यक रहेको बताइन् । उनले बालबालिकाको मर्यादा, गोपनीयता र मनोवैज्ञानिक सुरक्षालाई प्राथमिकता दिँदै विशेषगरी बालिका तथा किशोरीका सवाललाई जिम्मेवार ढंगले उठाउनुपर्नेमा जोड दिइन् ।

पीडितको पहिचान र पीडालाई अनावश्यक रूपमा सार्वजनिक गर्नुभन्दा घटनाका दोषी तथा जिम्मेवार पक्षलाई जवाफदेही बनाउने विषयमा पत्रकारिताले ध्यान दिनुपर्ने उनको सुझाव थियो । बालबालिकामाथि हुने विभेद अन्त्य गर्न परिवार र समाजको भूमिका पनि महत्त्वपूर्ण रहने उनले बताइन् ।

सामुदायिक सूचना नेटवर्क (सीआईएन) अकोराबका सम्पादक लिलप्रकाश चन्दले बालबालिकालाई समाचारमा सधैँ पीडित, कमजोर वा असहाय पात्रका रूपमा मात्र प्रस्तुत गर्ने प्रवृत्तिमा परिवर्तन आवश्यक रहेको बताए । बालबालिकाभित्र रहेका क्षमता, सम्भावना र सकारात्मक पक्षलाई उजागर गर्दै समस्या समाधानमा केन्द्रित पत्रकारिता गर्नुपर्ने उनको भनाइ थियो । उनले प्रशंसनीय खोज पद्धतिमा आधारित समाचार संकलन तथा लेखन र जवाफदेही पत्रकारिताको अभ्यासबारे सहभागीलाई सहजीकरण गरेका थिए ।

KRishla-(3)-1795674813.jpg
यसैगरी, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झाले डिजिटल पत्रकारितामा बालबालिकाको गोपनीयता र सुरक्षाको विषय अझ संवेदनशील हुने बताए। उनले डिजिटल माध्यमबाट सामग्री सार्वजनिक गर्दा बालबालिकाको पहिचान र मर्यादामा असर पर्न सक्ने भएकाले पत्रकारले थप जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सहभागी ३९ जना पत्रकारलाई चार समूहमा विभाजन गरी बाल अधिकारको संरक्षण तथा संवद्र्धनमा सञ्चारमाध्यमको भूमिका र बाल संवेदनशील पत्रकारिताको अभ्यासबारे छलफलसमेत गरिएको थियो ।

सिजप नेपाल, सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) र प्लान इन्टरनेसनलको सहकार्यमा आयोजित अभिमुखीकरणको समापनमा सहभागी पत्रकारहरूले बालबालिकासम्बन्धी समाचार तथा सामग्री तयार गर्दा उनीहरूको सर्वोत्तम हित, गोपनीयता, सुरक्षा र मर्यादालाई पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका थिए ।

नवगठित बालमैत्री पत्रकार समूहले पनि पत्रकारितामार्फत बालबालिकाका सवाललाई प्राथमिकताका साथ उठान गर्दै उनीहरूको अधिकार संरक्षण र प्रवद्र्धनमा योगदान पु¥याउने अपेक्षा गरिएको छ । 

प्रकाशित मिति: बिहीबार, मंसिर १०, २०८३  १२:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update