
काठमाडौँ । सम्बन्धन बेच्ने आरोप खेपेका प्राध्यापक डाक्टर (प्रा.डा.) केशरजंग बराल त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भएका छन् । माओवादी निकटका बराल त्रिविका माओवादी नेतालाई परिचालन गर्दै उपकुलपतिमा बाजी मार्न सफल भएका हुन् । माओवादीका हाइप्रोफाइल नेताहरुलाई समेत उनले चौका दाउ देखाइदिएका छन् ।
त्रिभुवन विश्वविद्यालयको कुलपति रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेरिटोक्रेसीको नाममा मनपरीक्रेसीको प्रयोग गर्दै प्राडा केशरजंग बराललाई उपकुलपतिको पद थम्याएका छन् । गलत गर्दै नगर्ने र गर्ने छुट हुँदै नभएको भन्दै कुर्लिने प्रधानमन्त्री प्रचण्डले पूर्व–उपराष्ट्रपति नन्दबहादुर पुन र आफ्नै पार्टीका उपमहासचिव वर्षमान पुनको गोप्य प्रस्तावलाई कुनामा राख्दै त्रिविका प्राध्यापकहरुको कानेखुशीमा राजी भएका छन् ।
शिक्षामन्त्रीको संयोजकत्वमा गठित समितिबाट सिफारिस भएका तीन उम्मेदवारहरु चित्रबहादुर बुढाथोकी, केशरजंग बराल र टंकनाथ धमलामध्येबाट प्रचण्डले दोश्रो अंकसहित सिफारिस सूचीमा परेका बराललाई रोजेका हुन् । नाम सिफारिसपछि माओवादी निकट त्रिवि प्राध्यापक संघका नेताहरुले विश्व विद्यालयको कामधन्दा छाडेर बालुबाटार–सिंहदरबार धाउन थालेका थिए ।
पोखरा विश्वविद्यालयको उपकुपति रहेको बेला मापदण्ड नै नपुगेका कलेजहरुलाई धमाधम सम्बन्धन बेच्ने गरेको आरोप खेपेका बराल अब खस्किदै गएको त्रिवि सुधार्ने जिम्मेवारीमा पुगेका छन् । पोखरा विश्वविद्यालयदेखि नै विवादीत बराल उपकुलपति भएसँगै माओवादी निकटका प्राध्यापकहरुले अब डाडु–पुन्यू समातेर सम्बन्धनको व्यापारदेखि त्रिविको हालत थप खराब बनाउने बाटोमा त लग्दैनन् ? चर्चा, चासो र आशंका पोख्न थालिएको छ ।
माओवादी उपमहासचिव समेत रहेका वर्षमान पुन र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनले चित्रबहादुर बुढाथोकीलाई नै नियुक्त गर्न दबाब दिएका थिए । पुनद्वयले बुढाथोकीलाई माओवादी निकट भनेर चिनाउने र विभिन्न किसिमको अपारदर्शी लेनदेन समेत गर्ने गरेको हल्ला माओवादी वृत्तमा व्यापक छ । नाम उल्लेख नगर्ने सर्तमा प्राध्यापकहरुले बुढाथोकीले नै बाजी मार्ने कारण बताउँदै आएका थिए । बुढाथोकीविरुद्ध चलखेल शुरु भएपछि उनीहरुले प्रधानमन्त्री प्रचण्डलाई दबाबमा पार्नका लागि नियुक्त नहँुदै नियुक्त भएको भनेर बधाई दिँदै नैतिक दबाब समेत सिर्जना गरे । यसबाट पनि प्रचण्डले सचेतता अपनाउँदै बराललाई रोज्न पुगेको कतिपयले दाबी गरेका छन् ।
यस्तोमा प्रचण्डले पुनद्वयलाई चौका दाउ देखाउँदै सम्बन्धन बेच्ने गिरोहको नाइके आरोपितलाई त्रिवि सुधारको चाबी सुम्पिने काम गरेका छन् । बराल व्यवस्थापन संकायका प्राध्यापक हुन् । उनले भारतको दिल्ली विश्वविद्यालयबाट विद्यावारिधी गरेका छन् । पोखरास्थित पृथ्वीनारायण क्याम्पसका प्राध्यापक बराल २०६४ देखि ०६८ सम्म पोखरा विश्वविद्यालयका उपकुलपति थिए ।