News 24 Television
सुतिरहेका बालकमाथि पल्टियो भारतीय गाडी, ३ जनाको मृत्यु
lahari
  • तारा आचार्य

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका– ४ स्थित प्रगति टोलमा सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकै परिवारको दुई जना र अर्का एक जना गरी तीन बालक रहेका छन् ।

बुढीगंगा गाउँपालिका– ४ की ६० वर्षीया ज्योति अधिकारीकी चार वर्षीया छोरी इसिता अधिकारी, छोरा निशान्त अधिकारी र सन्जु खवासकी ८ वर्षीया छोरी रिहा खवासको मृत्यु भएको स्थानीयले जनाएका छन् । तर प्रहरीले भने उद्धार नभएसम्म घटनाबारे यकीन भन्न नसकिने बताएको छ ।

ज्योतिका छोरा र छोरी भने जुम्लिया हुन् । उनीहरु सुतेको बेला लहरी गाडी पल्टिएर टुङगाले किचेर मृत्यु भएको स्थानियले बताए । ज्योति अधिकारी र सन्जु खवास घाइते भएका छन् । उनीहरुको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।

आज बिहान ७ बजे कच्चा पदार्थ बोकेर उद्योगतर्फ जाँदै गरेको भारतीय आर जे २९ जीबी १५६१ नम्बरको लहरी गाडी दुर्घटना भएको थियो । लहरी अनियन्त्रित भई बुढीगंगा ४ प्रगति टोलमा दुर्घटना भएको हो । दुर्घटना भएर पल्टिएको लहरी ज्योतिको घरमाथि पल्टिएको प्रहरीले जनाएको छ । पल्टिएको लहरीले थिचेर तीन जना बालबालिकाको घटनास्थलमा मृत्यु भएको हो ।

अहिलेसम्म लहरीले थिचेर मृत्यु भएका बालवालिकाहरुको शव निकाल्न प्रहरीले सकेको छैन भने उद्धार कार्य भइरहेको छ । मोरङ प्रहरीका प्रवत्ता डिएसपी रन्जन कुमार दाहालले घटनास्थलबाट ढुङगा पन्छाएर किचिएका मानिस निकाल्ने प्रयास भइरहेको बताए ।

अहिले क्रेनको सहयोगमा उद्धार गर्ने प्रयास भइरहेको छ घटनास्थल वरिपरि बाक्लो भीड लागेको छ भने सुरक्षाकर्मीले उद्धार कार्य गरिरहेका छन् । एम्बुलेन्सहरु तयारी आवस्थामा राखिएको छ ।

पल्टेको लहरी ननिकालेसम्म कति र कस्तो घटना भयो, कतिको मृत्यु भयो भन्न नसिकने डिएसपी दाहालले बताए ।

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  ११:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update