काठमाडौं । नेपाली कांग्रेसले ४ दिन लगाएर नीति अधिवेशनकै रुपमा महासमिति बैठक सम्पन्न गर्यो । तर ४ दिनको छलफल एउटा ठोस निष्कर्षका रुपमा विकाश हुन सकेन ।
महासमितिमा प्रस्तुत गरिएका प्रतिवेदनहरु हुवहु पारित गरिए, फ्लोरमा उठेका विषयहरुलाई सुझावका रुपमा मात्र ग्रहण गरियो । तर महासमितिमा उठेका प्रस्तावहरुलाई केन्द्रीय समितिले नै अन्तिम रुप दिने निर्णय कांग्रेसले गरेको छ ।
महासमितिका नाममा कांग्रेसले आमजनता र कार्यकर्ता अलमल्याउने काम मात्रै गरेको अधिकांशको आलोचनात्मक विश्लेषण छ ।
नेपाली कांग्रेसको महासमिति बैठक फागुन ७ देखि ४ दिनसम्म ललितपुरको गोदावरीमा चल्यो । तर यसको प्रभावकारीता देशभरका कांग्रेसीजनको भेटघाट भन्दा बढि हुन सकेन ।
महासमितिमा प्रस्तुत गरिने प्रतिवेदनहरुमै सहमति जुट्न नसक्दा दोस्रो दिनमात्र नीति, सांगठनीक तथा समसामयीक राजनीतिक प्रतिवेदन पेश भए ।
तेस्रो र चौथो दिनको विहान २ हजार ३ सय बढि महासमिति सदस्यहरुलाई ४ समुहमा विभाजन गरेर छलफल गरियो । तर महासमितिको समापन गर्दा फ्लोरबाट उठेका विषयहरुलाई सुझावका रुपमा ग्रहण गर्नेगरी तीनवटै प्रतिवेदन हुबहु पारीत भयो ।
अधिकांश महासमिति सदस्यहरुले गठबन्धनलाई रणनीतिक विषय बताउँदै यसबारे अहिल्यै निर्णय गर्न नहुने मत राखेको बताइएको थियो । तर महामन्त्रीद्वयको प्रतिवेदन सदर गर्दै पार्टीले निर्णयनै गरेको भन्ने ढंगले प्रचार गरियो ।
सभापति देउवा लगाएत समग्र महासमितिले पछि केन्द्रीय समितिले परिमार्जन गर्नेगरी प्रस्ताव पारीत गरेको थियो ।
जसका कारण यी प्रस्तावहरु अहिल्यै नीति बनिसकेको छैन । यसलाई केन्द्रीय समितिले परिमार्जन गर्नसक्ने छिद्र बाँकी नै राखेर कांग्रेसले महासमिति पार लगाएको छ ।
नेपाली कांग्रेसको विधानले महासमिति बैठकलाई केन्द्रीय समितिभन्दा ठुलो निकायका रुपमा उल्लेख गरेको छ । तर महासमितिको निर्णयलाई फेरी केन्द्रीय समितिले सच्याउन सक्ने हो भने गोदावरीमा बिताएको ४ दिन आँखामा छारो हाल्ने काम मात्रै भएको विश्लेषक जिकिर गर्छन् ।
महासमिति बैठकको निर्णयबारे समापन समारोहमा प्रतिवेदन प्रस्तुतकर्ता उपसभापति पुर्णबहादुर खड्का तथा महामन्त्रीद्वयले आ–आफ्नै कोणबाट व्याख्या गरे । तर कांग्रेसले प्रचार गरेजस्तो महासमिति बैठकले स्पष्ट रुपमा न त नीति बनाउन सक्यो, न त सांगठनीक स्वरुप निर्धारण गर्न सक्यो, न त वर्तमान राजनीतिबारे स्पष्ट धारणा बनाउन सक्यो ।
यत्रो तामझामका साथ गरिएको महासमितिको प्रभावकारीता के रह्यो भन्नेमा स्वयम्ं कांग्रेस नेताहरु नै अलमलमा छन् ।
