
- राजेन्द्र तारकिणी
काठमाडौँ । नेपाली कांग्रेसको महासमिति बैठकमा ‘दाग लागेका मन्त्री’लाई फिर्ता बोलाउने बारे चर्चा चल्यो । बिहीवार महासमिति बैठकको समापन सत्रलाई सम्बोधन गर्दै काँग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचारमा मुछिएका र दाग लागेका मन्त्रीलाई घर फिर्ता गर्नुपर्ने प्रस्ताव गरेका हुन् । महामन्त्री थापाले बलियो कांग्रेस बनाउनका लागि भ्रष्टाचारमा मुछिएका र अन्य विवादित छवि भएका नेता तथा कार्यकर्तालाई पार्टीको वरिपरि राख्न नहुने बताए ।
उनले कांग्रेसबाट संघ सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्री रहेका मोहनबहादुर बस्नेतलाई लक्षित गर्दै भ्रष्टाचारमा मुछिएका मन्त्रीहरूलाई घर पठाउनुपर्ने बताएका थिए । दाग पुछ्नका लागि ऐन मेटेर नहुने भन्दै थापाले दाग पार्टीले नै मेटाउनुपर्ने बताए । आफूमा लागेको दाग मेटाएर पार्टीलाई बलियो बनाउन सकेमा सहकारी ठग्ने, जग्गा किर्ते गर्ने र नागरिकता किर्ते गर्नेहरूलाई समेत कारबाही गर्न सकिने उनको भनाइ थियो । साथै, उनले काम गर्न नसक्ने मन्त्रीदेखि वडाअध्यक्ष सम्मलाई १० वर्ष घरै बसाउनुपर्ने र जिम्मेवारी दिन नहुने बताए । ०४६ सालपछि सार्वजनिक जीवनमा बसेकाहरुको सम्पत्ति समेत छानबिन गर्नुपर्ने समेत उनको भनाइ थियो ।
स्वास्थ्यमन्त्री बस्नेत पछिल्लो समय अख्तियारको अनुसन्धानमा तानिएका छन् । उनको मुद्दा भने ६ वर्ष पुरानो हो । तत्कालीन सूचना तथा सञ्चारमन्त्री रहँदा ०७४ सालमा बस्नेतले नेपाल दूरसञ्चार प्राधिकरणको ‘टेरामक्स प्रणाली’ खरिदसम्बन्धी नीतिगत निर्णय गरेका थिए । सो प्रणाली खरिदमा भ्रष्टाचार भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ठहर छ । दूरसञ्चार क्षेत्रमा हुने गैरकानुनी गतिविधि, भवाइस तथा डेटा सर्भिसको गुणस्तर मापन, अनुगमन र भवाइस् डेटाको कुल भोल्युम परीक्षण गर्ने प्रविधि टेरामक्स खरिदमा सवा ३ अर्ब रकम अनियमितता भएको बताइन्छ ।
बहालवाला मन्त्री नै यति ठूलो भ्रष्टाचार काण्डमा मुछिँदा सकेसम्म त उनी आफैले राजीनामा दिएर अनुसन्धानमा सघाउनुपथ्र्यो । नभए प्रधानमन्त्रीले उनलाई निलम्बन गर्न सक्नुपथ्र्यो या पार्टीले फिर्ता बोलाउनुपथ्र्यो । मन्त्री बस्नेतसँग अख्तियारले गत माघ अन्तिम साता बयानसमेत लिइसकेको छ । तर पनि उनलाई कांग्रेसले घर फिर्ता गरेको छैन । टेरामक्स काण्डमा बहालवाला मुख्यसचिव बैकुण्ठप्रसाद अर्याल, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव विनोदप्रकाश सिंह, तत्कालीन सञ्चार सचिव महेन्द्रमान गुरुङ, प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा लगायत व्यक्ति अनुसन्धानमा तानिएका छन् । तर मुख्य सचिव र सचिवलाई समेत निलम्बन गरिएन । प्रमुख दलहरू मिलेर भ्रष्टाचार आरोपितलाई जोगाउने र प्रकरणलाई सामसुम पार्ने रणनीतिमा छन् ।
संसदमा समेत प्रमुख प्रतिपक्षी दल एमालेले मन्त्री बस्नेतको राजीनामा मागिरहेको छ । संसद बैठकमा लगातार उसले मन्त्री बस्नेतका साथै बालकुमारी घटनाका दोषी भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, पर्यटन मन्त्री सुदन किराती र गृहमन्त्री नारायणकाजी श्रेष्ठको समेत राजीनामा मागेको छ । शुक्रबार राष्ट्रिय सभामा नेकपा एमालेकी सांसद तुलसाकुमारी दाहालले गृहमन्त्री श्रेष्ठले आरती साह र मिटरब्याज पीडितलाई न्याय दिन नसकेको भन्दै उनको राजीनामा माग गरिन् । यस्तै, बालकुमारी घटनामा दोषी ठहर भएकाले र भौतिक पूर्वाधार मन्त्री ज्वालाले पनि तत्काल राजीनामा दिनुपर्ने उनको भनाइ छ ।
यसअघि आइतबार र बिहीबारको प्रतिनिधि सभा बैठकमा एमाले सांसदहरूले भौतिक पूर्वाधार मन्त्री र स्वास्थ्य मन्त्री बस्नेतलाई पदबाट बर्खास्त गर्न माग गरेका थिए । भ्रष्टाचार र व्यक्ति हत्याजस्ता घटनामा छानबिनमा तानिएपछि यी दुई मन्त्रीलाई राजीनामा दिन या सरकारबाट बर्खास्त गर्न दबाब बढेको छ । बहालवाला मन्त्री अख्तियारमा गएर भ्रष्टाचार मुद्दामा बयान दिनु नेपालको राजनीतिक इतिहासमै दुर्लभ घटना भएको विश्लेषकहरू बताउँछन् । तर यसरी भ्रष्टाचार आरोप लागेर अनुसन्धानमा तानिएका मन्त्री नैतिक रुपले पदमा बसिरहन नमिल्ने कानुनविदहरू बताउँछन् । अख्तियारले बयान लिएको बताइए पनि मन्त्री बस्नेतका हकमा कुनै निर्णय गरिसकेको छैन । मुद्दा नचलाएसम्म सायद मन्त्रीलाई प्रधानमन्त्री र कांग्रेसले समेत थमौती गरिरहने रणनीति हो । नत्र भने महासमिति बैठकमा दाग लागेका मन्त्रीको कुरा उठिसकेपछि कांग्रेसले मन्त्री बस्नेतलाई तत्काल सरकारबाट फिर्ता बोलाउन सक्नुपर्छ ।