News 24 Television
दिनदहाडै शिशु चोरी : प्रसूति अस्पतालको सुरक्षामाथि प्रश्न
bacha-chori_100
  • सन्दीप शर्मा

काठमाडौं । शुक्रबार काठमाडौंको थापाथलीस्थित प्रसूति गृहबाट काभ्रे घर भएकी २२ वर्षीय सबिना श्रेष्ठकी २६ दिनकी छोरी हराइन् । अस्पतालबाटै बच्चा हराएपछि श्रेष्ठसहित उनका आफन्तले प्रहरीलाई खबर गरे । प्रहरीले सीसीटीभी फुटेजका आधारमा काँडाघारीबाट एक महिलाको साथबाट नाबालकको उद्धार त गर्यो । तर यो घटनाले अस्पताल कति सुरक्षित भन्ने प्रश्न भने उठेको छ ।

गत शुक्रबार थापाथलीस्थित प्रसूति गृहबाट २६ दिने नवजात शिशु चोरी भएपछि सनसनी फैलियो । सीसीटीभी फुटेजको आधारमा शुक्रबार राती नै प्रहरीले बच्चा फेला पार्यो । नाबालकको उद्धार गरी परिवारलाई बुझाई सकिएको छ । तर यो घटनाले भने अस्पतालको सुरक्षा प्रवन्धमाथि प्रश्न उठेको छ ।

कसरी भयो शिशु चोरी ?

प्रसूति गृहमै रहेकी दैलेख घर भएकी मनिषा भनिने मनकुमारी सिंहले काभ्रेकी सबिना श्रेष्ठलाई सहयोग गर्ने भन्दै शिशु समातेकी थिइन् । सहयोग स्वरुप बच्चा समातेकी महिला एकाएक गायब भइन् । केही समय समात्न भन्दै श्रेष्ठसँग शिशु मागेकी सिंह अस्पताल परिसरमा बच्चासहित एकाएक गाएब भएपछि सबिना र उनका आफन्तले प्रहरीलाई खोजी तथा उद्धार गरिदिन खबर गरे । सुचना पाएलगत्तै शिशुको खोजी कार्य तिब्र पारेको प्रहरीले शुक्रबार राति सिंहलाई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकास्थित काँडाघारीबाट पक्राउ गर्यो ।

सिंहसंगै उनका श्रीमान् नरेन्द्र मल्ल र दिदी शारदा शाही पनि पक्राउ परेका छन् । पक्राउ परेका सिंहका श्रीमान् नरेन्द्र नेपाली सेनामा कार्यरत रहेको खुलेको छ । शिशू चोरी गर्ने सिंहले नरेन्द्रसँग ३ वर्षअघि विहे गरेकी थिइन् । तर सिंहको पटक–पटक गर्भपतन भएपछि उनी बिक्षिप्त बनेको प्रहरीको प्ररम्भिक अनुसन्धानमा खुल्न आएको छ ।

पक्राउ परेकी सिंहको पाठेघरबाट अत्याधिक रक्तस्राव भएर बिरामी भएपछि प्रहरीले उपचारका लागि अस्पताल भर्ना गरेको थियो । दुई तीन दिन अगाडिदेखि नै प्रसूति अस्पतालमा उपचारका लागि भन्दै पुगेकी थिइन् । उनले पटक–पटक आफ्नो गर्भ खेर गएपछि शिशुको चोरी गरेको हुन सक्ने प्रहरीको अनुमान छ । यसरी प्रहरीले शिशु चोरी गर्ने सिंह र उनका आफन्तलाई पक्राउ गरेपछि दिनदहाडै अस्पताल परिसरबाटै शिशू चोरी हुनुले अस्पतालको सुरक्षा संवेदनशिलतामाथि गम्भीर प्रश्न उठेको छ ।

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update