
काठमाडाैँ । सत्ता साझेदार दल नेपाली कांग्रेसले आगामी निर्वाचनमा अन्य दलहरुसँग गठबन्धन नगर्ने निर्णय गरेसँगै चार दल सम्मिलित समाजवादी मोर्चा पनि नयाँ रणनीतिमा जुटेको छ । कांग्रेस महासमिति बैठकले आगामी निर्वाचनमा अन्य कुनै पनि दलसँग गठबन्धन नगर्ने भनी महामन्त्री गगन थापाको सांगठिनक प्रस्ताव पारित गरेको थियो । नेकपा माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादीले २०७९ को निर्वाचनमा कांग्रेससँग गठबन्धन गरेको थियो । समाजवादी मोर्चालाई बलियो बनाउँदै आगामी निर्वाचनमा जाने रणनीतिमा मोर्चाका नेताहरु लागेका छन् ।
२०७९ को आम निर्वाचनमा ठूला राजनीतिक दलहरु गठबन्धन कायमै गरेरै चुनावी मैदानमा उत्रिएका थिए । वर्तमान सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र र गठबन्धनमै रहेको नेकपा एकीकृत समाजवादी नेपाली कांग्रेससहितको गठबन्धनमा थिए । संघ र प्रदेशको निर्वाचनअघि यहि गठबन्धनमै रहेको जनता समाजवादी पार्टी (जसपा) भने चुनावका बेला सिट बाँडफाँडमा कुरा नमिल्दा एमालेसँग नजिकिएको थियो । स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार तथा आम निर्वाचनमा नयाँ दलहरु हावी भएका कारण पनि दलहरुलाई आगामी निर्वाचन झनै चुनौतिपूर्ण छ ।
यही चुनौतिका बीच वर्तमान संसदको सबैभन्दा ठूलो दल कांग्रेसले आगामी निर्वाचनमा अरु दलसँग गठबन्धन नगर्ने भनी महासमिति बैठकबाटै निर्णय गरेपछि मोर्चामा आवद्ध दलहरु नयाँ रणनीतिमा लागेका हुन् । सत्ता गठबन्धन दलहरुको धरमरबीच गत असार ४ गते संसदीय ब्यवस्थाकै विरोध गर्दै आएका विप्लव समेतको ४ दलीय समाजवादी मोर्चा घोषणा गरिएको थियो । समाजवादको बाटो अवलम्बन गर्ने जनाएको मोर्चाले संविधानको रक्षा तथा संघीयता धर्म निरपेक्षता, समानुपातिक समावेशिता लगायत प्राप्त उपलब्धीको रक्षा गर्ने लगायत १५ बुँदे प्रतिवद्धता जनाएको छ ।
सात प्रदेश हुँदै जिल्ला जिल्लामा पनि समाजवादी मोर्चा बनाउने तथा सन्देशसभाहरु गर्ने निर्णय गरेको मोर्चाले प्रदेश स्तरीय सभाहरु भने सम्पन्न गरिसकेको छ । पछिल्लो समय सुस्ताएको मोर्चाले हालैमात्र विप्लवलाई अध्यक्ष बनाएको छ । ६, ६ महिनामा मोर्चाको अध्यक्ष आलोपालो बन्ने निर्णय भए पनि दुई कार्यकाल एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले अध्यक्ष सम्हालेका थिए । अहिले विप्लव अध्यक्ष बनेपछि भने मोर्चालाई सशक्त बनाउन लागि परेका छन् ।
आगामी निर्वाचनमा कांग्रेससँग गठबन्धन नहुने निश्चित भएपछि समाजवादी मोर्चाको आवरणमा बाम सहकार्य गर्ने नयाँ रणनीति अख्तियार अख्तियार गरिएको छ । शनिवार मात्रै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले नेकपा एमालेसहित अन्य बाम घटकहरुलाई समाजवादी मोर्चामा सामेल गर्न प्रयत्न गर्ने निर्णय गरेको छ । एमालेसहित संसद बाहिर रहेका पूर्व माओवादी घटकहरुलाई समाजवादी मोर्चामा आवद्ध हुन औपचारिक रुपमै पत्राचार गरिने भएको छ । यसअघि विप्लव, मोहन वैद्य, आहुती र ऋषि कट्टेल नेतृत्वको चार दलीय रणनीतिक मोर्चा बनेको थियो ।