
कञ्चनपुर । गुगुल्डि वाङमय प्रतिष्ठानको आयोजनामा स्रष्टाद्वय कर्ण दयाल ‘सोराडी’ र कृष्णसिंह पेलाका मुक्तक कृतिमाथि समीक्षात्मक विमर्श कार्यक्रम सम्पन्न भएको छ। प्रतिष्ठानका अध्यक्ष वीरवहादुर चन्दको अध्यक्षतामा शनिबार महेन्द्रनगरमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा मुक्तककार कर्ण दयालको कृति ‘रूपान्तरण’माथि साहित्यकार कविराज भट्ट विलौना तथा प्रगतिशील लेखक संघ कञ्चनपुरका अध्यक्ष धर्मानन्द भट्टले समीक्षात्मक प्रस्तुति दिएका थिए । यस्तै, चर्चित गीतकार तथा मुक्तककार कृष्णसिंह पेलाको कृति ‘फूलको प्रहार’ माथि साहित्यकार नारायण गिरी र श्रीजन श्रीले समीक्षात्मक मन्तव्य प्रस्तुत गरे ।

कार्यक्रममा गुगुल्डि वाङमय प्रतिष्ठानका सचिव जगदीश ओझाले प्रतिष्ठानका गतिविधि, कार्यक्रमको उद्देश्यका साथै स्वागत मन्तव्य प्रस्तुत गरेका थिए । मानसखण्ड फाउण्डेशनका अध्यक्ष एवम् साहित्यकार नारा जोशी र सुदूरपश्चिम साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए । त्यसैगरी, मुक्तककारद्वय दयाल र पेलाले लेखकीय मन्तव्य व्यक्त गरेका थिए ।
कविता, गजल, मुक्तक तथा कथा लेखनमा सक्रिय कर्ण दयालको आठौँ कृतिका रूपमा रुपान्तरण मुक्तक संग्रह प्रकाशित छ । जसमा २७० वटा मुक्तकहरु संकलित छन्। त्यसैगरी २०५० कै दशकमा ‘आँसु’ गीति एल्बमका सर्जकको रूपमा चर्चित तथा बहरबद्ध गजलकारका रूपमा समेत परिचित कृष्णसिंह पेलाको ‘फूलको प्रहार’ मुक्तकसंग्रहमा २०० वटा मुक्तक संकलित छन् । शब्द तथा भाव संयोजनमा सशक्त देखिएका दुबै मुक्तककारहरू गुगुल्डि वाङ्मय प्रतिष्ठानबाट विगतमा सम्मानित स्रष्टा समेत हुन् । साथै अन्य विभिन्न संघ–संस्थाहरूबाट समेत उनीहरुले सामाजिक साहित्यिक योगदानका लागि सम्मान तथा पुरस्कार प्राप्त गरिसकेका छन् ।

साहित्यकार रमेश पन्त मीतबन्धुको संयोजनमा सम्पन कार्यक्रममा गजलकार गगन चुम्बनको नविनतम गजलसंग्रह ‘गगनाँसु’ प्रेमराज भट्टमार्फत तथा साहित्यकार ‘आर.डी. प्रभास अभिनन्दन ग्रन्थ’ उप–प्राध्यापक यज्ञराज पन्तमार्फत कार्यक्रमका सहभागीहरूलाई उपहार समेत प्रदान गरिएको थियो ।
कविद्वय कविराज भट्ट तथा जगदीश ओझाको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा कैलाली तथा कञ्चनपुरका ३ दर्जन बढी साहित्यकारहरूको सहभागिता रहेको थियो । साहित्यकार पञ्चमराज भट्ट, संविधान सभा सदस्य एवम् साहित्यकार पुरनसिंह दयाल, मानसखण्ड फाउण्डेशनका सचिव हेमबाबु लेखक, सुप साहित्य समाजका सचिव गणेश नेपाली, साहित्यकार मीना पन्त, हिरा जोशी भट्ट, मधु हमाल, खिमानन्द बडू, पदम सार्की, प्रेम प्रकाश कलौनी, तुलसीप्रसाद पण्डित, पत्रकार प्रेमराज भट्ट, खडक ब. कोली, पश्चिम प्रेसका संयोजक धीरज जोशी, महादेव अवस्थी, नरेश जोशी लगायतको उपस्थिति रहेको थियो ।

साहित्यिक उन्नयनका लागि डोट्याली भाषाको साहित्यिक मासिक पत्रिका निरन्तर प्रकाशन गर्दै आएको प्रतिष्ठानले नियमितरुपमा अन्य प्रकाशन, प्रशिक्षण, कार्यक्रम आयोजना, साहित्यकार सम्मान गर्दै आएको छ । आगामी दिनहरूमा साहित्यिक श्रीवृद्धिका लागि सबैको साथ र सहयोगका साथै लेखनमा सक्रियता आवश्यक रहेको कुरा सभाध्यक्ष वीरबहादुर चन्दले समापन मन्तव्यमा व्यक्त गरेका थिए ।

(प्रस्तुति : जगदीश ओझा)