News 24 Television
पशु-पन्छीका माया-पिरतीदेखि गाँस-बासका कुरा समेटिएकाे ‘जीवगाथा’ सार्वजनिक
jibgatha

काठमाडौं । फ्रान्सलाई कर्मथलो बनाएका पत्रकार ददि सापकोटाको पाचौँ कृति ‘जीवगाथा : गाँस, वास र सहवास’ काठमाडौँमा सार्वजनिक गरिएको छ । यसअघि उनका पन्छी जगत्, त्यो नेपाल, दुखेको युरोप र वनको वैभव कृति प्रकाशित थिए ।

वातावरण, प्रकृति र जीवजन्तुका विषयमा चासो राख्ने लेखक एवम् पत्रकार सापकोटाको नयाँ कृति शनिबार नेपाल प्रज्ञा–प्रतिष्ठानमा एक विशेष कार्यक्रममाझ वन्यजन्तुविद् राजेन्द्र सुवाल र लेखक स्वयंले सार्वजनिक गरेका हुन् । कार्यक्रममा वन्यजन्तुविद् सुवालले प्रकृति एवम् जीव जनावरसम्बन्धी पुस्तक कम लेखिएको र त्यसमा सापकोटाको ‘जीवगाथा’ विशेष रहेको बताए । जीव–जनावरका आनीबानी र क्रियाकलाप सरल किसिमले लेखिएको यो पुस्तकको विशेष महत्त्व रहेको उनको भनाइ थियो ।

वर्षौंअघि चितवनको सौराहामा बसेर पथप्रदर्शक बन्दा आफू प्रकृतिका विविध पक्षसित मोहित भएको र त्यसले आफूलाई बिस्तारै जीव–जनावर आदिमा आकर्षित गरेको लेखक ददि सापकोटाले बताए। ‘सौराहामै बसेर पर्यटकलाई प्रकृतिको रसास्वादन गराउँदै जाँदा मलाई थाहा भयो— कोटेरो चराको बिहे हुन निकै गाह्रो रहेछ। जाडो याम लाग्नासाथ भालेहरू हतारिएर उड्दै तराईतिरका अग्ला रूखमा बाघकाने टोपी जस्ता गुँड बनाउन हतार गर्दा रहेछन्,’ उनले भने, ‘जसले सुन्दर, राम्रो, पानी ओत्ने, बचेरा हुर्काउन सजिलो हुने गुँड बनायो, पोथी उसैसित फकिने रहेछ। हतारिँदै निकै दिन लगाएर खाई नखाई बनाएको गुँड मन नपराइदिएपछि पोथीको मन जित्न भालेले फेरि अर्को गुँड देखाउने, गुँड बनाइसकेपछि त्यसको छतमा उभिएर प्यारी, मेरो गुँड हेर्न आइदेऊ न भन्दै बिलौना गर्ने गर्छन् । यति गर्दा पनि पोथीले मन नपराइदिएपछि भाले हेरेको हे¥यै हुन्छन् । पोथी जति अन्य सिपालु भालेले ओगटिसकेका हुन्छन्। त्यसैले कुनै कुनै भाले त्यो यामभरि पोथी नपाएरै जिल्ल पर्छन् ।’

यस्ता विविध पक्षबाट आफू आकर्षित भएको र ती जानकारी पुस्तकमार्फत दिन ‘जीवगाथा’ लेखेको लेखक सापकोटाको भनाइ छ । ‘जुँगा–दाह्री चट्ट पार्ने, तेल घसेर कपाल लरक्क लर्काउने र स्त्रीलाई आकर्षित गर्ने स्वभाव चरा र अन्य जीवमा पनि हुने रहेछ,’ उनले भने, ‘मानव समाजमा जस्तै जीवजन्तुमा पनि बलात्कारीहरूले पोथीलाई दुःख दिने रहेछन्। तिनलाई तह लगाउने पहलमान पनि हुने रहेछन् । चोरी चकारी अनि लुकीचोरी माया प्रेम त जीवजन्तुले पनि गाँस्ने रहेछन् ।’

प्रकृतिका अनेक रहस्यमय पाटा खोज्दाखोज्दै, तिनको रसास्वादन गर्दागर्दै आफू यसपटक ‘जीवगाथा’मा आइपुगेको उनले सुनाए। ‘प्रकृतिका यस्तै रहस्यमय, कौतूहलपूर्ण विषयबारे ‘वनको वैभव’ पुस्तक लेखिसकेको मैले यस पटक थप जीवजन्तुका रोचक आनीबानी, कौतूहलपूर्ण व्यवहार र लुकेका पाटा समेटेर जीवगाथा पस्किएको छु,’ सापकोटाले भने, ‘मलाई विश्वास छ, यस पुस्तकले पनि पाठकलाई वन, जीवजन्तुको गाथा वा समग्रमा प्रकृतिका थप रहस्य खोतल्न मद्दत गर्नेछ ।’

जीवजन्तुबीच पनि माया, प्रेम, स्नेह, भाषा र सङ्केत हुन्छ । चरा, पुतली अनि वनस्पतिले पनि मानिसले जसरी यात्रा गर्छन् । चरा पनि विश्वकै अग्ला अग्ला हिमाल आरोहण गरेर नेपाल आउजाउ गर्छन् । तिनले पर्वतारोहीले जस्तै समस्या भोग्छन् । राम्रा र असल, बलिया र निरोगी प्रेमी प्रेमिका जीवजन्तुको पनि छनोट हो। कतिपय जीवले त गर्भमै जीवनको पाठसमेत सिकाउँछन् ।

तिनै जीवजन्तुका फरक आनीबानी, जीवनशैली र विविध क्रियाकलापबारे बुझाउने पुस्तक हो— ‘जीवगाथा’। वैज्ञानिक तथ्य र सन्दर्भसामग्रीसहितको यो पुस्तक पढ्दा पाठकले जीवजन्तुसँगै हेलमेल भइरहेको अनुभूति गर्छन् । उक्त पुस्तकको प्रकाशन फाइन प्रिन्टले गरेको हो ।

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update