
काठमाडौँ । न्यायको माग राख्दै काठमाडौंमा आन्दोलन तथा शान्तिपूर्ण धर्ना जारी राखेका मिटरव्याज पीडित र सरकारबीच सोमबार बस्ने भनेको वार्ता भंङ्ग भएको छ । सरकारले पीडितहरु बस्दै आएको स्थान भृकुटीमण्डप खाली गर्न भनेपछि पीडितहरुले सरकारसंग वार्ता स्थगित गरेर आन्दोलन गर्ने घोषणा गरेका छन् ।
देशभरका विभिन्न जिल्लाबाट मार्च पास सहित न्यायको माग राख्दै शान्ति पूर्ण धर्ना तथा आन्दोलन जारी राखेका मिटरव्याज पीडित र सरकारबीच सोमबार हुने भनेको वार्ता स्थगित भएको छ । समाज कल्याण परिषद्ले कार्यक्रमका लागि भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँमार्फत उनीहरु बस्दै आएको भृकुटीमण्डप खाली गर्न लगाएपछि पीडितहरुले आफुहरु बस्ने बासस्थानको व्यवस्था नभईन्जेल वार्ता स्थगन गरेर आन्दोलन चर्काउने बताए । वार्ताको लागि भन्दै बोलाउने र बसेको स्थान समेत खालि गराउने रणनीति अनुचित रहेको भन्दै पीडितहरुले आफुहरुको माग सम्बोधन गर्ने भन्दापनि दमन गर्ने निती सरकारको भएको आरोप लगाए ।
सोमबार बिहान जिल्ला प्रशासन कार्यालयको निर्देशन सहितको पत्र बोकेर नेपाल प्रहरीका डिएसपीको नेतृत्वमा पीडितहरु बसेको स्थानमा प्रहरी पुगेको थियो । प्रहरीले पत्र देखाउदै ठाउँ खालि गर्न भनेपछि पीडित र प्रहरी बीच केही समय चर्काचर्की समेत परेको थियो । त्यसपछि पीडितहरुले सोमबारका सबै कार्यक्रम स्थगित गरी मंगलबारदेखि आन्दोलन चर्काे बनाउने बताएका छन् ।
यसभन्दा अगाडि पनि पटक पटक भएको आन्दोलनमा राज्यले वार्ताको नाममा बोलाउने र सम्झौता गर्दै कार्यन्वयन नगर्ने गरेकाले अहिलेको आन्दोलन राज्यको खराब प्रवृत्तिका विरुद्ध समेत भएको उनीहरुको भनाइ छ । राज्यले सोही प्रवृत्ति दोहो¥याउन पुनः गृहमन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा वार्ताटोलि गठन गरेको र सो टोलिले पीडितको मुद्दा किनारा लगाउन नसक्ने पीडितले गुनासो गरे । वार्ताका लागि मन्त्रिस्तरीय वार्ता टोली गठन गर्नु पर्ने उनीहरुको माग छ ।
सरकारले गठन गरेको वार्ता टोलि र पीडितका प्रतिनिधिबीच आइतबार बेलुकी ७ बजे छलफल भएको थियो । सो छलफलमा समेत पीडितहरुले मन्त्री स्तरीय वार्ता टोलि गठन गर्न माग राखेका थिए । तर उनीहरुबीच भएको छलफलमा सहमति नभएपछि सोमवार ११ बजे पून बस्नेगरी आइतवारको वार्ता स्थगित भएको थियो । तर सोमवार पीडितहरु बसिरहेको स्थान खाली गराउन प्रहरी पुगेपछि वार्ताको माहोल भाँडियो । सरकारले आफुहरुको माग सम्बोधन नगरेको भन्दै आन्दोलित हुँदै उनीहरु वार्ता भाँडिएपछि पून अर्को आन्दोलनको तयारीमा जुटेका हुन् ।