
- एलिसा अर्याल
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. केशरजंग बरालले स्नातक तहका चारवर्षे कार्यक्रमलाई पुनः तीन वर्षमा झार्ने योजना अघिसारेसँगै यसमाथिको बहस सुरु भएको छ । सरकारले शिक्षाशास्त्र, मानविकी र व्यवस्थापन संकायका विषयलाई ०७१।७२ देखि चारवर्षे बनाएको थियो । चारवर्षे कार्यक्रमका कारण ड्रपआउट बढिरहेको भन्दै तीन वर्षको बनाउने तयारी थालिएको छ । पछिल्ला दिनहरुमा यसबारे पुनः बहस छेडिएको छ ।
नेपालमा पछिल्ला ९ वर्ष यता स्नातक तह पास गर्न चार वर्ष खर्चिनु पर्ने अवस्था छ । झन् त्यसमाथि परीक्षाको नतिजा समयमा प्रकाशन नहुँदा स्नातक तहको लागि मात्रै पाँच वर्षभन्दा बढी समय खर्च गर्नुपर्ने बाध्यता छ, विद्यार्थीहरूको । कोरोना संक्रमण गर्दा पछिल्लो ब्याचका विद्यार्थीले त झनै पाँच वर्ष बढी समय ब्यतित गर्नु पर्यो । स्नातक अध्ययनको लम्बेतान समयले गर्दा विद्यार्थी १२ कक्षा पास भएपछि वैदेशिक शिक्षाका लागि भन्दै विदेशिने क्रम बढिरहेको छ । यसैलाई मध्य नजर गर्दै नवनियुक्त उपकुलपति प्रा.डा. बरालले चारवर्षे स्नातक तह तीनवर्षेमा झार्ने योजना अघि सारेका छन् । चार वर्षे प्रावधानले विद्यार्थी घटेको र बढी समय लागेकाले उपकुलपतिले नयाँ प्रणालीसहितको पुनः तीन वर्षे प्रणालीमै फर्कने योजना अघि सारेका हुन् । त्रिविका शैक्षिक कार्यक्रमलाई उत्पादन र बजारसँग जोड्ने भन्दै देशको मौलिक र रैथाने ज्ञानलाई विश्वविद्यालयको प्राज्ञिक अध्ययन–अनुसन्धानसँग जोड्नका लागि दीर्घकालीन योजना बनाइने उपकुलपतिको दाबी छ ।
सरकारले तीनवर्षे कोर्षलाई चारवर्षे बनाउन २०७१ मै नयाँ कोर्ष तयारसमेत पारेर अभ्यासमा लगेको थियो । त्यसपछि २०७२ मा शिक्षाशास्त्र, ०७३ मा बिबिएस र २०७४ मा मानविकी शंकायमा चारवर्षे नियम लागू भयो । विद्यार्थीहरूलाई धेरै वर्ष पढाएर धैरै ज्ञान दिन सक्ने भन्दा पनि ‘क्रेडिट आवर’ तर्फ ध्यान दिन जरुरी रहेको शिक्षाविद्को भनाई छ । यति नै वर्षको पढाई हुनुपर्छ भन्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्नेमा विज्ञहरूको जोड छ । विद्यार्थीहरूलाई चार वर्ष अल्झाउनु भन्दा उनीहरूलाई नै विकल्प दिनु उत्तम रहने भनाई शिक्षाविद्को छ ।
विश्वविद्यालयको गत असार १४ गते बसेको प्राज्ञिक समितिको बैठकमा स्नातकलाई तीन वर्षमै झार्नुपर्ने विभिन्न सङ्कायका डिनले प्रस्ताव राखेका थिए । परीक्षा नियन्त्रण कार्यालयले समेत स्नातकलाई चारवर्षेबाट झारेर तीनवर्षे नै बनाउनुपर्ने राय व्यक्त गरेको थियो । तर, चारवर्षे कोर्षलाई तीन वर्ष पढेर एक वर्ष रोजगारीसँग जोड्ने गरी इन्टर्नसिपमा पठाउने कि पाठ्यक्रम नै परिमार्जन गर्ने भन्ने विषयमा बृहत छलफल हुन आवश्यक छ ।