
बारा । निजगढ नगरपालिका–७ ‘रोहित वर्कशप’मा बमजस्तो देखिने शङ्कास्पद वस्तु पड्किँदा घाइते भएका थप दुई जनाको मृत्यु भएको छ । यससँगै उक्त विस्फाेटमा मृत्यु हुनेकाे संख्या तीन पुगेकाे छ ।
बमजस्तो देखिने वस्तु वर्कशपमा लिएर काट्न लाग्दा सोमबार बिस्फोट भएकाे थियाे । साे विस्फाेटमा वर्कशप सञ्चालक निजगढ नगरपालिका–९ का रेशम जर्घा मगरको घटनास्थलमै मृत्यु भएको थियो । घाइतेमध्ये मृत्यु हुनेमा भारत गवाहीका ३५ वर्षीय राकेश जयसवाल र वीरगञ्ज महानगरपालिका–९ का रितु रजत रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए । उनीहरुको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
कवाड सञ्चालक राज जैसवालले बमजस्तो देखिने वस्तुमा रहेको तामा निकाल्न वर्कशपमा ल्याएको र उक्त वस्तु काट्ने क्रममा विस्फोट भएको प्रहरीको भनाइ छ ।
घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–९ का फिरोद देवान र भारत राम गढवाका अरीवन साह रहेको प्रहरी प्रवक्ता न्यौपानेले बताए ।
साथै वर्कशपमा सो वस्तु ल्याउने कवाड पसल सञ्चालक भारतीय नागरिक राज जैसवाल र उनकी श्रीमती सुशीलादेवी जैसवाललाई भारत भाग्ने क्रममा पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताएका छन् । घटनाबारे अनुसन्धान जारी रहेको उनले बताए ।