News 24 Television
राष्ट्रिय सभाध्यक्ष माओवादीले आफै राख्ने, कांग्रेसले के गर्छ अब ?
Krishna Sitaula

काठमाडौँ । अघिल्लो वर्ष सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ चुनाव हारेका नेपाली कांग्रेसका नेता कृष्ण सिटौलालाई यस वर्ष पार्टीले राष्ट्रिय सभामा भित्र्याएको छ । गत माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट सत्ता साझेदार दल माओवादी केन्द्रलगायत गठबन्धनको समर्थन र आग्रहमा सिटौला राष्ट्रिय सभा सदस्य बन्न सफल भए । कांग्रेसले उनलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने गरी नै उम्मेद्वारी मनोनयन गराएको थियो । त्यसअघि राष्ट्रपतिका आकांक्षीसमेत रहेका सिटौला राष्ट्रपति बन्ने चर्चा थियो । तर अन्तिममा कांग्रेसले राष्ट्रपति भने बनाएन, रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेद्वार बनाएर सिटौलालाई धोका दियो । पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको समेत विशेष पहलमा सिटौलालाई राष्ट्रिय सभामा ल्याइएको बताइन्छ । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाको पदावधि सकिएपछि सिटौलालाई नै अध्यक्ष बनाउने कांग्रेसको तयारी थियो । तर अन्तिममा आएर सिटौलामाथि फेरि धोका हुने देखिएको छ ।

राष्ट्रिय सभामा सबैभन्दा ठूलो दल रहेको नेकपा माओवादी केन्द्रका नेताहरूले राष्ट्रिय सभाध्यक्ष कांग्रेसलाई दिन नहुने र आफैले राख्नुपर्ने अडान बलियो बनाएका छन् । सोमबार माओवादी सांसद एवं पूर्वमन्त्री जनार्दन शर्माले राष्ट्रिय सभाको अध्यक्ष आफ्नो पार्टीकै हुने खुलासा गरे । राष्ट्रिय सभाको ठूलो दलको हिसाबले अध्यक्षमा आफ्नो पार्टीको नै दाबी रहेको र अरुले पाउने अधिकार नभएको तर्क गरे । हालसम्म सत्ता गठबन्धनका दलहरूबीच सभाध्यक्ष पद कसलाई दिने भन्नेमा सहमति समेत नभएको स्पष्ट पार्दै उनले माओवादीले नै उक्त पद आफूसँग राख्ने बताए । आगामी दिनमा सरकारको नेतृत्वमा आलोपालो हुँदा माओवादी केन्द्रसँग मुख्य ठूला पद केही पनि नहुने भन्दै राष्ट्रिय सभा अध्यक्ष भने आफूहरूकै भागमा आउने उनको दाबी थियो ।

मंगलबार पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिटी बैठकमा पनि अधिकांश नेताहरूले राष्ट्रिय सभाध्यक्ष पद छाड्न नहुने धारणा राखेका छन् । राष्ट्रिय सभा निर्वाचनबारे आ–आफनो मत राख्ने क्रममा उनीहरूले राष्ट्रिय सभाध्यक्ष काँग्रेसलाई दिन नसकिने र ठूलो दलको हैसियतले आफैले राख्नुपर्ने बताएका हुन् । स्थायी कमिटीका अधिकांश नेताहरूले सो पद पार्टीले छोड्न नहुने मत राखेको पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

माओवादी स्थायी समिति बैठकमा बैठकमा काँग्रेस महासमिति बैठकको ‘गठबन्धन सम्बन्धी’ एजेण्डाका बारेमा पनि नेताहरूले प्रतिक्रिया दिएका थिए । केही दिनअघि सम्पन्न कांग्रेस महासमिति बैठकमा आगामी चुनावमा कांग्रेसले अन्य पार्टीसँग गठबन्धन नगर्ने र एक्लै चुनाव लड्नुपर्ने प्रस्तावमाथि छलफल भएको थियो । कांग्रेस महामन्त्री गगन थापा लगायन अधिकांश नेताहरूले चुनावका लागि गठबन्धन गर्न नहुने बताएका थिए । हुनत माओवादी नेताहरूले पनि कांग्रेससँगको चुनावी गठबन्धनमा धोकाबाहेक अरु केही नपाएको बताउने गरेका छन् । तर पनि कांग्रेसकै बलियो साथ र गठबन्धनका कारण प्रतिनिधि सभाको तेस्रो दल माओवादीले सरकार चलाइरहेको छ । पछिल्लो समय कांग्रेसको हिन्दू राष्ट्रको अभियानका कारण र अन्य मतभेदका कारण माओवादीसँगको गठबन्धनमा दरार पैदा भइसकेको समेत विश्लेषण हुने गरेका छन् ।

तत्कालीन माओवादी विद्रोहलाई शान्ति प्रक्रियामा ल्याउन कांग्रेस नेता गिरिजाप्रसाद कोइरालाले ठूलो जोखिम मोलेका थिए । गिरिजाका सारथी कृष्णप्रसाद सिटौलाको पनि माओवादीलाई शान्तिको मूलधारमा ल्याउन उत्तिकै महत्वपूर्ण भूमिका रहेको बताइन्छ । प्रचण्डले समेत गिरिजा र सिटौलाको गुन बेलाबेला सम्झने गरेका छन् । यसपटक सिटौलालाई राष्ट्रिय सभामा ल्याउन प्रचण्डको समेत आग्रह रहेको कांग्रेसी नेताहरूले बताउँदै आएका थिए । कांग्रेस महामन्त्री थापाले प्रतिनिधिसभामा पराजित सिटौलालाई ल्याउन आफूहरू तयार नभएको तर माओवादी र एकीकृत समाजवादीको आग्रहमा राष्ट्रिय सभा उम्मेदवार बनाएको बताएका थिए । थापाका अनुसार राष्ट्रिय सभा सदस्यको भागबण्डाबारे सत्ता गठबन्धनमा छलफल हुँदा सिटौलालाई उम्मेदवार बनाएमा उनलाई नै राष्ट्रिय सभा अध्यक्ष मान्ने र त्यसमा आफूहरूले दाबी नगर्ने प्रचण्ड र माधव नेपालको भनाइ थियो । सोहीअनुसार अबको राष्ट्रिय सभाध्यक्षका रुपमा सिटौलालाई हेरिएको थियो । तर, हाल आएर माओवादी नेताहरूले राष्ट्रिय सभाध्यक्ष पद कांग्रेसका लागि नछोड्न अध्यक्ष प्रचण्डलाई दबाब दिइरहेका छन् । अब पार्टीका नेताहरूको इच्छाविपरीत प्रचण्डको कृपा पाएमा मात्रै सिटौला सभाध्यक्ष बन्नेछन्, नत्र भने उनीमाथि फेरि धोका हुने पक्का छ ।

https://youtu.be/4SP41GjZ61o

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update