
काठमाडाैँ । सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रभित्र कांग्रेससँगको गठबन्धनको विषय जोडतोडका साथ उठेको छ । माओवादी केन्द्रले गठबन्धन र राष्ट्रियसभा अध्यक्षको विषयमा कांग्रेससँग तत्काल कुराकानी गर्नुपर्ने दबाब दिएपछि प्रचण्डले पनि छलफलको आश्वासन दिएका छन् । के कांग्रेसले माओवादीलाई राष्ट्रियसभा अध्यक्ष देला वा भाग नमिले माओवादीले सत्ता गठबन्धन तोड्ला ? सम्भावना के छन् त ?
माओवादी स्थायी समिति बैठकमा कांग्रेससँगको सहकार्य, कांग्रेस महासमितिमा उठेको विषय लगायत कुरामा गहन छलफल भएको छ । स्थायी समिति सदस्यहरुले कांग्रेसले गठबन्धनप्रति इमान्दारिता नदेखाएको र प्रतिगमनतर्फ जान खोजेको गम्भीर आरोप समेत लगाएका छन् । उसोतः कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले पनि माओवादी युद्धलाई अनाहकको हिंसा भन्दै गम्भीर आरोप लगाएका छन् ।
कांग्रेस महासमिति बैठकले माओवादी जनयुद्धलाई हिंसाको रुपमा अर्थ्याएको छ । जुन विषयलाई माओवादी नेताहरुले गम्भीर रुपमा लिनुपर्ने र कांग्रेसले संविधानविपरित माओवादी युद्धमाथि टिप्पणी गरेको भन्दै आक्रोश पोखेका छन् । महामन्त्री गगन थापाले पेश गरेको संगठनात्मक प्रतिवेदनमा चुनावी गठबन्धन नगर्ने विषयमात्रै छैन, गठबन्धनले कांग्रेसको मत घटेको, लोकप्रियता खस्किएकोदेखि थुप्रै विषय उठाइएको छ र इतर पक्षका नेताहरुले चुनावी गठबन्धन नगर्ने विषयलाई राजनीतिक मुद्दा नै बनाएर कामग्रेस सभापति शेरबहादुर देउवामाथि दबाब बढाए । यसरी देउवा पनि गलेपछि माओवादीभित्रको ठूलो पंक्ति कांग्रेसमाथि सशंकित देखिन्छ । तर, कांग्रेस सभापति भने प्रतिवेदनलाई केन्द्रिय समितिले परिमार्जनसहित पारित गर्ने बताइरहेका छन् ।
कांग्रेसले गठबन्धनप्रति देखाएको व्यवहारकै कारण त्रसित माओवादीभित्र यसबारे छलफल भएको विषय नेकमा माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका प्रवक्ता अग्निप्रसाद सापकोटाले समेत स्वीकार गरेका छन् ।
कांग्रेस महासमिति बैठक र राष्ट्रियसभाको अध्यक्षमा माओवादीको दाबेदारी नै गठबन्धन टुट्ने प्रमुख कारण बन्न सक्ने विश्लेषण भइरहेको छ । माओवादीले राष्ट्रियसभामा अध्यक्ष पद नलिए प्रचण्डले प्रधानमन्त्री पद हस्तान्तरण गरेपछि संवैधानिक परिषदमा समेत माओवादीको उपस्थिति रिक्त हुनेछ । यसकारण पनि माओवादीभित्र अध्यक्ष पद प्रमुख विषय बन्न पुगेको छ । यस्तोमा कांग्रेसले माओवादीमाथि देखाएको व्यवहार, महासमिति बैठकको निष्कर्ष र एमाले नेतृत्वले गरिरहेको सत्ता फुटाउने प्रयास सार्थक नबन्ला भन्न सकिने स्थिति पक्कै छैन् ।