News 24 Television
सरकारी निकाय चुक्दा नागरिकलाई सास्ती
road
  • प्रकाश न्यौपाने

रुपन्देही । रुपन्देहीका दक्षिणी क्षेत्र मर्चवारको लाइफलाइन मानिएको चारलेन सडक निर्माण अलपत्र परेको छ । सिंचाई कार्यालय मातहत रहेको नहरका छेउछाउका रुख कटानमा वन कार्यालय र सिंचाईको समन्वय नहुँदा सडक अलपत्र परेको हो । तर दुई सरकारी निकाय भने एकअर्कामा दोष थुपारेर पन्छिने गरेका छन् ।

रुपन्देहीको बेलबास–बेथरी–मर्चवार सडक अन्तर्गत बनगाई–सेमरा–खैराघाट खण्ड निर्माण अलपत्र परेको छ । कालोपत्रे गर्नका लागि तयारी अवस्थामा रहेको चारलेन सडक खण्डमा पर्ने रुख संघ सरकार मातहत पर्ने भन्दै कटान गर्न जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय र डिभिजन वन कार्यालय, रुपन्देही पन्छिने गरेका छन् । यी कार्यालयले संघबाट स्वीकृत पाएपछि मात्रै रुख कटान गर्ने जनाए पछि अहिले कालोपत्रेको काम रोकिएको हो । सडक निर्माणका लागि ठेक्का लिएको लुम्बिनी–अर्घाखाँची–बाबुल जेभीले गुरवानियाँदेखि मर्चवारको मर्यादपुरसम्म सडक पिच गर्नका लागि तयारी थालेको महिनौं भइसकेको छ । तर सडकको बीचमा रहेका रुखका कारण असफाल्ट कंक्रिटको काम गर्न सकिएको छैन । यो चारलेन सडकले मर्चवारलाई जिल्लाका भैरहवा, बुटवल लगायतका सहरसँग जोड्छ । दुई सरकारी निकायको समन्वयका कारा समस्या उत्पन्न भएपछि यहाँका जनप्रतिनिधि र स्थानीय चिन्तित बनेका छन् ।

चारलेन सडकमध्ये बेलबासबाट बेथरीसम्म निर्माण पूरा भएर सञ्चालनमा आइसकेकोे छ । तर रुख कटान नहुँदा भैरहवा–लुम्बिनी सडक खण्डको गुरवानियाँबाट दक्षिण ५ किलोमिटर पिच निर्माण प्रभावित भएको हो । सडक पूर्वाधार बिकास कार्यालय, रुपन्देहीले २३ करोड १२ लाख ८९ हजार रुपैयाँमा २०७७ कात्तिक १६ गते ठेक्का सम्झौंता गरेर निर्माण सुरु गरेको थियो । सम्झौंता अनुसार २०८० बैंशाख ३१ सम्म यसको निर्माण सकिनु पथ्र्यो । तर तोकिएको मितिमा निर्माण पूरा नभएपछि सडक डिभिजन कार्यालयले एक वर्ष म्याद थप गरेको थियो । थपिएको समयावधिमा पनि सडक क्षेत्रमा रहेका १ सय १७ वटा रुख कटान नभएपछि निर्माण प्रभावित भएको हो ।

निर्माण कम्पनीका अनुसार प्रदेश अन्तर्गत रहेको सडकको अहिलेसम्म ७५ प्रतिशत काम पूरा भइसकेकोे छ । अहिलेसम्म ५८ प्रतिशत रकम भुक्तानी पनि भइसकेको छ । रुख कटानका लागि निर्माण कम्पनी स्थानीय सामुदायिक वन, सिंचाई डिभिजन कार्यालयदेखि मन्त्रालय र विभागसम्म धाइसकेको छ । तर कतैबाट पनि सुनुवाई भएको छैन । रुखको स्वामित्वको विषय प्रष्ट नहुँदा जिल्लास्थित वन कार्यालय पन्छिने गरेको छ भने सिंचाई डिभिजनले केन्द्रबाट जवाफ नआएको भन्दै निर्णय गर्न सकिरहेको छैन ।

लामो समय सडक अपूरो हुँदा स्थानीयले सास्ती खेप्नु परिरहेको छ । सडकको बीचमा भएका रुखका कारण सवारी दुर्घटना बढेको छ । सरकारी निकायबीच समन्वय हुन नसक्दा नागरिकले भोगिरहेका यो समस्या समाधानका लागि संघ र प्रदेशले तदारुकता देखाउनु पर्ने भएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  ११:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update