News 24 Television
काठमाडौँमा जताततै निषेधित क्षेत्र, सरकार किन थर्कमान ?
Surakchya-chunauti

काठमाडौँ । लघुवित्त वित्तीय संस्थाका ऋणी तथा मिटरब्याज पीडितहरुले केही दिनयता काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् । यसअघि काठमाडौंमा प्रदर्शन गरिने अधिकांश स्थान निषेधित क्षेत्र बनाइएकाले आन्दोलनको केन्द्र बदलिएका छन् । त्यसैले जुनसुकै ठाउँमा पनि प्रदर्शन हुन सक्ने भएकाले सुरक्षा सतर्कता बढाइएको छ । यसरी आन्दोलन गर्ने भन्दै संसद भवन छिरेपछि पक्राउ परेकाहरुलाई अदालतले ७ दिन हिरासत राख्न अनुमति नै दिएपछि स्थिति अब के होला भन्ने आशंका थपिदिएको छ ।

लघुवित्त वित्तीय संस्थाविरुद्ध गत वर्षको फागुनमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वमा काठमाडौं उपत्यका बाहिरका विभिन्न जिल्लाहरुमा प्रदर्शन भएका थिए । कपिलवस्तु लगायतका केही जिल्लामा विप्लव समूहले लघुवित्त र मिटरब्याजीलाई प्रतिबन्धकै घोषणा गरेको थियो । लघुवित्त वित्तीय संस्थाबाट र मिटरब्याजीबाट पीडित भएको बताउनेहरु अहिले काठमाडौं केन्द्रित आन्दोलनमा रहँदा विप्लव भने चार दलीय समाजवादी मोर्चाको बैठकका लागि भन्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आउजाउ गरिरहेका छन् ।

लघुवित्त वित्तीय संस्थाबाट ऋणमुक्तको माग गर्दै लघुवित्तबाट ऋण लिएका ऋणीहरु केही दिनयता काठमाडौंका विभिन्न ठाउँमा प्रदर्शन गरिरहेका छन् । उनीहरुले ‘लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपाल’ गठन गरी आन्दोलन थालेको एक वर्ष बढी भइसक्दा अहिले पुनः काठमाडौं केन्द्रित आन्दोलन थालेका हुन् ।

लघुवित्त वित्तीय संस्थाका कर्मचारीहरु कर्जा उठाउन भन्दै ऋणीको घरमा आउँदा कर्मचारीहरु कतिपय ठाउँबाट लखेटिनु परेको छ भने कतिपय ठाउँमा उठीबास लगाउने चेतावनी दिइरहेका हुन्छन् ।

तर आफूले तिरेको ऋणको साँवा ब्याज नै तिरे पनि ऋण मुक्त नभएको गुनासो उनीहरुले केन्द्र सरकारलाई गरिरहेका छन् । पटक पटक काठमाडौं आएर प्रदर्शन गरे पनि सुनुवाई नभएको भन्दै आक्रोशित भएका उनीहरुले सोमवार संसद भवनमा आगामी बजेटको सिद्धान्त र प्राथमिकताबारे छलफल चलिरहँदा दर्जनौं संख्यामा मुलगेटबाटै संसद भवन परिसरमा प्रवेश गरी प्रदर्शन गरेका थिए ।

संसद भवन परिसरमै प्रवेश गरेको विषयले सुरक्षा निकायलाई झस्काइदिएको छ । संसद भवन परिसर प्रवेश गरी भएको प्रदर्शनका क्रममा पक्राउ परेका ४८ महिला र १ पुरुषलाई मुद्दा नै चलाउने तयारी प्रहरीले गरेको छ । निषेधित क्षेत्र समेत पार गरी संसद भवन परिसरमै प्रवेश गरी प्रदर्शन गरिएपछि संसद भवन र सिंहदरबार परिसर वरपर नाइलनको डोरीले बारेर फुटपाथमा बन्द गरिएका छन् । न्याय खोज्दै काठमाडौं आएका प्रदर्शनकारीलाई पक्राउ गरी मुद्दा लगाउनेदेखि विश्राम गरेको स्थानबाट पीडितहरुलाई उठीबास लगाउने कामले आन्दोलनकारीहरुलाई झनै आक्रोश बनाएको छ । यस्तै कार्यले मिटरब्याज पीडितसँगको वार्ता पनि विथोलिएको छ । समस्याको चुरो कुरा पत्ता लगाएर पीडितलाई न्याय दिने भन्दा पनि आन्दोलन निस्तेज पार्ने कार्यले झनै वातावरण विथोलिने देखिएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  ११:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update