
पोखरा । नेकपा एमालेको गण्डकी प्रदेश संसदीय दलले प्रदेश सभा सचिवालयमा एकसाथ तीन वटा संकल्प प्रस्ताव दर्ता गरेको छ ।
बुधबार गण्डकी प्रदेश सभा सचिवालयमा एमाले संसदीय दलले संकल्प प्रस्ताव दर्ता गराएको हो । जसअनुसार लुम्बिनीमा रहेको सुस्ता गाउँपालिकालाई गण्डकी प्रदेशमा सार्ने, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने र कालीगण्डकी तिनहुँ डाइभर्सन बहुउद्देशीय परियोजना गण्डकी प्रदेशसँग समन्वय नगरीकन अघि बढाउन खोजिएको भन्दै सो विषय खारेज गर्नेगरी संकल्प प्रस्ताव दर्ता गरेको हो ।
संविधानअनुसार सुस्ता गण्डकी प्रदेशको भूगोल भए पनि अहिले लुम्बिनीमा परेको छ । गण्डकीको प्रदेश विकास समस्या समाधान समितिको बैठकले पनि यसबारे निर्णय गरेर संघमा पठाएको थियो । तर अहिलेसम्म कुनै जवाफ आएको छैन । अहिले संकल्प प्रस्ताव नै दर्ता गरेर आफ्नो भूमि फिर्ता ल्याउनुपर्ने माग एमालेले राखेको छ । साथै एमालेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०२३ को नयाँ वर्षबाट सञ्चालनमा आएपनि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेको भन्दै विमानस्थल सञ्चालन गर्न आवश्यक एयर सर्भिस एग्रिमेण्ट लगायतका अन्य आवश्यक पूर्वाधार निर्माण गरी नेपाल एयरलाइन्सको जहाजमार्फत यथाशिघ्र नियमति अन्तर्राष्ट्रिय व्यावसायिक उडान सुचारु गर्न आग्रह गरेको छ ।
त्यस्तै अन्य अन्तर्राष्ट्रिय विमान कम्पनीलाई समेत नियमित अन्तर्राष्ट्रिय उडान गर्न आकर्षित गर्ने नीति, योजना तथा कार्यक्रम तत्काल सञ्चालन गर्न प्रदेश सरकारमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएको बताएको छ । सरकारले अध्ययन गरी सञ्चालन गर्न लागेको कालीगण्डकी तिनहुँ डाइभर्सन बहुउद्देश्यीय परियोजना संविधानअनुसार प्रदेश र स्थानीय तहसँग समन्वय नगरी संघीय सरकारले एकतर्फी रुपमा शुरु गर्न लागेको भन्दै परियोजना तत्काल खारेज गर्न माग गरेको छ ।
संकल्प प्रस्ताव दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका सांसद गोविन्द नेपालीले संकल्प प्रस्तावमा सुस्ता गाउँपालिका गण्डकी प्रदेशमा रहनुपर्ने, कालीगण्डकी तिनहुँ डाइभर्सन बहुउद्देशीय परियोजना गण्डकी प्रदेशसँग समन्वय नगरीकन अघि बढाउन खोजिएकाले खारेजी गर्न माग गरिएको बताए । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सुचारु गर्नका लागि प्रदेश सरकारले गर्नुपर्ने नीतिगत र विविध पहलकदमीहरुका बारेमा प्रदेश सभा सचिवलायमा दर्ता गराएको बताए ।