News 24 Television
रंग बदल्दै मधेसी नेताहरू, मधेस मुक्तिका नाममा स्वार्थको लडाइँ ?
Madheshi-Dal

काठमाडौँ । जसरी नेपालका कम्युनिस्ट पार्टीहरुमा टुटफुटको श्रृंखला चल्छ, त्यसरी नै मधेसवादी दलहरु पनि टुटफुटको श्रृंखलाबाट गुज्रिरहेका छन् । २०४६ सालपछि मधेसका जिल्लाहरुमा नेपाल सद्भावना पार्टीको बाहुल्यता थियो । त्यसैबाट एकपछि अर्को गरी टुट्ने र नयाँ पार्टी बन्ने क्रम हुँदै जाँदा दर्जनौं मधेसवादी दलहरु स्थापना भए । टुटफुटको श्रृंखला अहिले पनि जारी छ ।

जसरी छेपारोले रंग फेर्छ, त्यसरी नै रंग फेर्न खप्पिस् छन्, मधेसी नेताहरु । मधेसको अधिकारको लागि भन्दै क्षेत्रीयतावादी राजनीतिक गर्दै आएका मधेसवादी नेताहरु विभिन्न रंग बदल्दै सत्ता र शक्तिमा आउने गरेका छन् । २०४६ सालपछि स्थापना भएको नेपाल सद्भावना पार्टी विभाजित भई सद्भावना पार्टी, तराई–मधेस सद्भावना पार्टी लगायत विभिन्न नाममा सद्भावना पार्टी बने । ६२/६३ को जनआन्दोलनपछि ‘मधेसी जनाधिकार फोरम’, तराई मधेस लोकतान्त्रिक पार्टी लगायतका पार्टी स्थापना भएका थिए । ती पनि टुक्रिँदै गएर फोरम लोकतान्त्रिक, गणतान्त्रिक लगायत विभिन्न फुर्को झुण्ड्याएर अलग भए । ७२ सालमा संविधान जारी हुँदै गर्दा मधेसको क्षेत्रीय राजनीतिबाट उदाएका शक्तिहरुले संयुक्त आन्दोलन पनि चर्काएका थिए ।

सत्ता स्वार्थका लागि एक हुने र सत्ता नपाए अलग हुने उनीहरुको रोग नै बन्यो । २०७४ बैशाख ७ गते फेरि तिनै विभिन्न ६ पार्टीहरुले ऐतिहासिक एकता घोषणा गरे । महन्थ ठाकुर नेतृत्वको तमलोपा, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, शरदसिंह भण्डारीको राष्ट्रिय मधेस समाजवादी पार्टी, महेन्द्र राय यादव नेतृत्वको तराई मधेस सद्भावना पार्टी, अनिल कुमार झा नेतृत्वको नेपाल सद्भावना पार्टी, राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार नेपाल फोरम (गणतान्त्रिक) बीच एकता गरी ‘राष्ट्रिय जनता पार्टी’ घोषणा भयो । तर यो एकता पनि धेरै दिन टिक्न सकेन ।

पछिल्लो समय उपेन्द्र यादव नेतृवको जनता समाजवादी पार्टी (जसपा) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अस्तित्वमा छन् । पछिल्लो समय सीके राउत नेतृत्वको जनमत पार्टी र पश्चिम नेपालको थारु समुदायको प्रतिनिधित्व गर्ने गरी नागरिक उन्मुक्ति पार्टी पनि चर्चामा छन् । तर मधेसको मुल पार्टी भन्ने जसपाबाट ७९ को निर्वाचनअघि महिन्द्र राय यादव र बाबुराम भट्टराईहरु अलग भए भने लोसपाबाट अहिले राजेन्द्र महतोहरु अलग भएका छन् । लोसपाबाट अलग भई फेरि अर्को क्रान्ति गर्ने घोषणा गरिरहँदा मधेसवादी भिन्न दलका नेताहरु पनि महतोको पछि लागेका छन् ।

पद मिलानकै लागि महन्थ नेतृत्वको लोसपामा तीन जना बरिष्ठ नेता, एक सहअध्यक्ष, ६ जना बरिष्ठ उपाध्यक्ष, १२ जना उपाध्यक्ष र १६ जना त महासचिव बनाइए । बरिष्ठ नेता रहँदै बरियताको दोस्रो नम्बरमा रहेका महतो लोसपा छाडेर नयाँ अभियान थालेपछि बुधबार मात्रै काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएका छन् । सीके राउतले नयाँ आन्दोलन घोषणा गरे लगत्तै महतोको नयाँ अभियानले महन्थ समूहलाई झस्कोएको छ । त्यसैले महन्थ समूह पनि नयाँ रणनीति बनाउन फागुन २७ गतेदेखि महोत्तरीको बर्दिबासमा केन्द्रीय समिति बैठक बोलाएको छ । पटक पटक मधेसको मुक्तिको नारा दिएर सत्ताको वरिपरि रहेका नेताहरु अब कस्तो रंग बदल्दै अघि बढ्ने हुन्, र, जनताले कसलाई साथ देलान्, प्रतिक्षाको विषय बनेको छ ।

https://youtu.be/WtmYmRi3T8o

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update