
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले नेताहरुको जिम्मेवारी हेरफेरलाई चुस्त बनाउने दाबी गरेपनि विवादरसहित हुन सकेको छैन । स्थायी समिति बैठकमै असन्तुष्टि छताछुल्ल भएको छ । तत्कालीन समयमा महासचिवको दाबेदार रहेका उपमहासचिव जनार्दन शर्माले प्रचण्डले विधान महाधिवेशनमा पेश भएको विषयलाई लिएर कार्यविभाजन गरेको भन्दै सार्वजनिक असन्तुष्टी मात्रै पोखेका छैनन्, उनले प्रचण्डकी बुहारीले पाएको जिम्मेवारीमा समेत चित्त दुखाएका छन् । राष्ट्रियसभा निर्वाचनमा एक्लै जाने निर्णयमा लतारिएका प्रचण्डले के माओवादीभित्रको विवादलाई समाधान गर्ने बाटो पहिल्याउन सक्लान् ?
नेकपा माओवादी केन्द्र कांग्रेससहित सत्ता नेतृत्वमा छ । सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रले फागुन १ देखि ३ गतेसम्म गरेको विधान महाधिवेशनले पारित गरेको नीति र नेतृत्वको विषयमा छलफल गर्ने भन्दै स्थायी समिति बैठक बोलाएको थियो । स्थायी समितिले विधानबारे भन्दा पनि विधान महाधिवेशनमा उठेका प्रश्न र फरक मतलाई कर्नरमा पार्दै नेताहरुको जिम्मेवारी हेरफेर गरेको भन्दै असन्तुष्टी सार्वजनिक भएको छ ।
जनार्दनले प्रचण्डका भाइ नारायण दाहाल र बुहारी बीना मगरलाई दिएको जिम्मेवारी नै दुषित मनशाय प्रेरित रहेको प्रष्ट पारेका छन् । तर, जनार्दनको असहमतिलाई वास्ता गरिएला ? माओवादीका कैयौं नेताहरुले विश्वास गर्न सकेका छैनन् । तर, यता, गठबन्धन दलको नेतृत्व गरेको माओवादीले राष्ट्रियसभामा आफ्नै उम्मेदवार खडा गर्ने भन्दै गठबन्धनको भविष्यमाथि समेत प्रश्न खडा गरिदिएको छ ।
राष्ट्रियसभामा माओवादीले दाबी गर्ने भनिएको विषयले गठबन्धनभित्र दरार सिर्जना हुने आशंका गर्न थालिएको छ । यता, यो गठबन्धन लामो समयसम्म जान नदिने गरि तयारी गरिरहेका एमाले अध्यक्ष केपी ओलीले यसलाई खरानीको डल्लोसँग तुलना गरेका छन् ।
सत्ता गठबन्धन राष्ट्रियसभा चुनावको सन्दर्भमा नै टुट्ने धेरैले आंकलन गरिरहेका छन् । भने, प्रधानमन्त्रीको पालो कुरिरहेका शेरबहादुर देउवा, माधव नेपाल लगायतले भने गठबन्धनको स्थायित्व खोज्ने प्रयास जारी राखेका छन् ।
प्रचण्डको परिवार मोह
नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डमाथि परिवारवादमा फसेको आरोप लाग्ने गरे पनि पार्टीभित्र यसबारे खुलेर बोल्ने आँट कसैले गरेका थिएनन् । प्रचण्डले आफू परिवारवादमा नफसेको दाबी गर्ने गरेका छन् । पारिवारिक अवस्थालाई देखाएर उनले यस्तो दाबी गरिरहँदा अहिले यसलाई पार्टीभित्रै पनि इस्यु बनाउन थालिएको छ ।
१. बिना मगर
नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य रहेकी बीना मगरले सूदुरपश्चिम प्रदेशमा सह–इन्चार्जको जिम्मेवारी प्राप्त गरेकी छन् । तत्कालीन केपी ओली नेतृत्वको सरकारमा खानेपानी मन्त्री समेत बनेकी बीना अहिले सुदूपश्चिम प्रदेशमा स्थायी समिति सदस्यहरुलाई पाखा लगाउदै प्रचण्ड परिवारको सदस्य भएकै कारण लाभ उठाएको आरोप खुलेआम लागेको छ ।
२. नारायण दाहाल
बागमती प्रदेशसभा सदस्य समेत रहेका नारायण दाहाल पनि बागमतीको सह–इन्चार्ज तोकिएको थियो । तर, जनार्दनले जनप्रतिनिधि भन्दै आफू र वर्षमान पुन लगायतलाई यस्तो विधि लाग्दा दाहाललाई नलाग्ने भन्दै असन्तुष्टि जनाएपछि तत्काललाई यो विषय बाहिर ल्याइएको छैन ।
३. गंगा दाहाल
प्रधानमन्त्री प्रचण्डको स्वकिय सचिव रहेकी छोरी गंगा दाहालले नै प्रधानमन्त्रीसँग कसले भेट्ने, कसलाई भेट्न नदिने लगायतका विषयमा सेटिङ मिलाउने गरेको आरोप लाग्ने गरेको छ । प्रचण्डको सचिवालयमा गंगालाई सन्तुष्ट बनाउन नसके कामै गर्न नसकिने स्थिति सिर्जना गर्ने गरिएको समेत दाबी गरिन्छ । हरिबोल गजुरेलको राजनीनामा समेत यसैको ज्वलन्त उदाहरण भएको धेरैले दाबी गर्ने गरेका छन् । तर, प्रचण्डले भने गंगालाई सोझी भन्दै बचाउ गर्ने गरेका छन् ।
४. जीवन आचार्य
गंगा दाहालका पति जीवन आचार्य कोशी प्रदेशको प्रदेशसभा सदस्य छन् । आचार्य कोशी प्रदेशको आर्थिक मामिला मन्त्री बनेका थिए । उनी मन्त्री बनेपछि माओवादीको कोशी प्रदेश संसददीय दलमा ठूलो बबण्डर नै मच्चिएको थियो । तर, प्रचण्डको ज्वाईँ भएकै कारण उनको बचाउ गर्ने पनि थुप्रै नेताहरु देखिएका थिए ।
५. रेणु दाहाल
प्रचण्डकी छोरी रेणु दाहाल भरतपुर महानगरपालिकामा दोश्रो कार्यकालका लागि महानगर प्रमुखको रुपमा कार्यरत छिन् । उनले भने राजनीतिक संघर्ष र कामबाटै आफूलाई प्रमाणित गर्दै आएको भन्दै प्रशंसा समेत हुने गरेको छ । रेणुमाथि प्रचण्डको परिवार भएकै कारण अवसर पाएको भनेर विरोधका चर्का स्वरहरु भने बाहिर सुनिँदैन ।