
काठमाडौँ । टुटफुट र विभाजनबाट अत्तालिएका कम्युनिष्ट वामपन्थी शक्तिहरु फेरि एकताको प्रयासमा जुट्न थालेका छन् । ठुलो मात्रामा जनमत भएपनि विभाजित हुँदा शक्ति सञ्चयमा असर परेको भन्दै तकालीन समयमा नेकपा एमाले र माओवादी केन्द्रबीचको गठबन्धनपछिको जनमतलाई हेर्दा पनि यस्तो तथ्य पुष्टी हुन्छ । तर, पछिल्लो समय नयाँ राजनीतिक शक्तिको दबदबा बढ्ने संकेत देखा परिरहेको बेला फेरि वाम एकताको चर्चा र आन्तरिक तयारी शुरु भएको छ ।
नेपालमा कम्युनिष्ट जनमतको बाहुल्यता छ । विभिन्न चुनावी नतिजालाई हेर्दा पनि कम्युनिष्ट मतदाता धेरै भएको मात्रै देखिएको छैन, छरिएर रहेका पार्टीहरुको मतलाइ हेर्दा पनि उनीहरुको मत बढि नै छ । तर, कम्युनिष्ट पार्टीहरु एकतामा भन्दा बढि टुटफुटमा रहेकै कारण मत विभाजनको अवस्था छ ।
पछिल्लो समय नयाँ राजनीतिक दलको उदय, जनतामा देखिएको निराशा र मुलुकमा केहिपनि छैन भन्ने भाष्य निर्माण भएकाले पनि नेता र पार्टीहरुलाई शाख जोगाउनै हम्मे हुने अवस्था सिर्जना हुने डर पैदा भएको छ । कुनै बेला लामो समय एमालेको नेतृत्व गरेका माधव नेपाल र झलनाथ खनाल नेतृत्वको नेकपा एकीकृत समाजवादी राष्ट्रिय दलको मान्यता नै पाएन् । यसरी हेर्दा अब नेताको अनुहार हेरेर मात्रै मत आइहाल्छ भन्ने स्थिति फेरिएको छ । यस्तो अवस्थालाई हेर्दा पनि वामपन्थी एकताको विषयमा नेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।
वामपन्थी एकतामा इगोको समस्या
कम्युनिष्ट वामपन्थी एकतामा नेतृत्वमा इगो र जनवादी केन्द्रियताको नाममा गरिने व्यवहार नै एकताको बाधक बन्ने अवस्था देखिन्छ । सानो पार्टी भएपनि अध्यक्ष बनेर नेतृत्व गर्ने रहरका कारण पनि नेताहरु अध्यक्षको लालसामा देखिन्छन भने ठूला भनिएका पार्टीमा पनि इगोको समस्या बढ्दोक्रममा छ । यसलाई हेर्न केहि समय पहिले माधव नेपाल र केपी ओलीबीच चलेको घोचपेच र सहकार्यको विषयलाई हेर्नुपर्ने हुन्छ ।
नेपालले केपी ओलीसहित वामपन्थी नेताहरुलाई देश बनाउने गरि एकताको प्रस्ताव गरेको केहिसमय पछि एमाले अध्यक्ष केपी ओलीको आक्रोश यसरी पोखिएको देखिन्छ ।
ओलीले माधव नेपाललाई तल्लोस्तरमै पुगेर दिएको यस्तो अभिव्यक्तिले वाम एकता होला ? प्रश्न भने छ । तर, समग्रमा जनमतमा आएको ह्रासले उनीहरु अन्ततः एकता र सहकार्यको बाटोमा भने पुग्ने स्थिति बन्दै गएको छ ।
सत्तारोहणसँग एकता कार्ड
राजनीतिको अन्तिम गोल सत्ता हो । सत्तामा पुगेर पार्टीका नीति, विचार, सिद्धान्त कार्यान्वयन गराउने र आफ्नो पकड जनतामा स्थापित गर्न खोज्ने विषय सामान्य र राजनीतिक विषय नै हो । यसैको पछिल्लो कडीको रुपमा फेरि माओवादी केन्द्र र एमालेबीचको एकता सहकार्यको आन्तरिक छलफल तीब्र बनिरहेको छ ।
माओवादी केन्द्रले नेपाली कांग्रेससँगको गठबन्धनलाई गम्भीर छलफलको विषय मात्रै बनाएको छैन, राष्ट्रियसभा अध्यक्षको चुनावसम्म नयाँ स्थिति सिर्जना गर्ने गरि कार्यसम्पादन अघि बढाएको छ ।
माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षमा आफ्नै पार्टीबाट उम्मेदवार उठाउने निर्णय गरेको विषयदेखि कांग्रेस महासमिति बैठकमा माओवादी युद्धबारे उठेको विषयलाई गम्भीर मुद्दाको रुपमा हेरिएको छ । यता, कांग्रेसबाट धोका पाएकोदेखि विभिन्न प्रकरणले पनि माओवादीलाई गठबन्धन फेर्ने उचित वातावरण बनिरहेको छ । यसर्थ अबको ५/७ दिनमै राजनीतिमा नयाँ अभ्यास हुनसक्ने कतिपयको आंकलन छ ।
समाजवाद र मोर्चा अभ्यास
माओवादी केन्द्रसहित अन्य चार दल सम्मिलित समाजवादी मोर्चाको रुपमा समेत राजनीतिक गतिविधि सक्रिय रहिरहेका छन् । प्रचण्डले शक्ति सञ्चयको नयाँ जुक्ति निकालेरै यस्तो अभ्यास गर्न खोजेको चर्चा जताकतै देखिन्छ । सकेसम्म एमालेसँग एकता वा गठबन्धन गर्ने नभए समाजवादी मोर्चालाई नै अघि बढाउने गरि माओवादी केन्द्रले योजना बनाएको देखिन्छ । यस्तोमा मोर्चा घटक दलमा पूर्वमाओवादीबीचको एकता र सहकार्यको विषय समेत जोडतोडले उठेको छ । के अब यो सम्भव होला ? यो विषय पनि सत्ता गठबन्धनको भविष्यले धेरैहदसम्म निर्धारण गर्ने विश्लेषण चलिरहेको छ ।