
- सुजन चालिसे
काठमाडौँ । आठौँ महाधिवेशन पश्चात नेकपा माओवादी केन्द्रमा नेतृत्वको खरो आलोचकका रुपमा नेता जनार्दन शर्मा देखा परेका छन् । पार्टीमा असन्तुष्ट जनार्दनले विद्रोह गर्छन् या नेतृत्वको चेपुवामा पर्छन् भन्नेमा आमचासो छ । प्रचण्डको आलोचना गर्ने माओवादीभित्रै दर्जनौ छन्, तर जनार्दन भने फेस टु फेस आलोचना गर्ने मध्येका एक हुन् । तीन दशक भन्दा बढी अध्यक्ष रहेका प्रचण्डको आलोचना गरेका जनार्दन पनि मोहन वैद्य, नेत्रविक्रम चन्द, बाबुराम भट्टराईजस्तै पार्टी फुटाएरै अलग हुन खोजेका हुन् वा पदका लागि मात्रै सुँगुरी खेलेका हुन् भन्ने चासोको विषय बनेको छ । योसँगसँगै पार्टीमा को कता भन्नेसमेत चर्चा समेत चल्न थालेको छ ।
२०७८ पुसमा सम्पन्न नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन पश्चात पार्टीभित्र आन्तरिक कलह सतहमा आउने गरेको छ । महासचिवको प्रतिस्पर्धामा आउन चाहेका जनार्दन शर्मा र बर्षमान पुनलाई बाइपास गरेर देव गुरुङलाई जिम्मेवारी दिएपछि शर्मा र पुन नेतृत्वसँग सन्तुष्ट छैनन् । यो विषयमा पुन त्यति खुल्न सकेका छैनन् भने शर्माले बेलाबखत आफ्नो असन्तुष्टि सार्वजनिक गर्दै आएका छन् ।
- २०७९ भदौमा एक सार्वजनीक कार्यक्रममा जनार्दनले प्रचण्डकै अगाडि जिम्मेवारी बाँडफाँटलाई लिएर प्रचण्डको आलोचना गरे ।
- २०८० फागुनमा पार्टीको विधान अधिवेशनमा पेश भएको विधान मस्यौदामाथि पूरक प्रस्ताव राखे ।
- २०८० फागुन १७ गते स्थायी कमिटी बैठकले गरेको कार्यविभाजनप्रति असन्तुष्ट हुँदै फरक मत राखे । आफ्नो फरक मत मिडियाबाटसमेत सार्वजनिक गरे ।
जिम्मेवारी बाँडफाँटका बारेमा लिखित रुपमै असहमती जनाउने अर्का नेता हुन् माओवादी स्थायी कमिटी सदस्य खगराज भट्ट । स्थायी समिति बैठकले सुदूरपश्चिम प्रदेशको जिम्मेवारीमुक्त गरेपछि अध्यक्ष प्रचण्डप्रति रुष्ट छन् । सुदूरपश्चिम प्रदेशको सहइन्चार्जमा आफुलाई बाइपास गरेर केन्द्रीय सदस्य बिना मगरलाई जिम्मेवारी दिएकोमा उनले रोष पोखिरहेका छन् ।
अध्यक्ष प्रचण्डको एकमना चल्ने माओवादीमा कुनैबेला फरक मत राख्नुको अर्थ पार्टीबाट बहिर्गमन हुनु हुन्थ्यो । मोहन वैद्यले पार्टीभित्रै फरक राजनीतिक दस्तावेज नै पेश गरी फरक विचार समूह बनाउने गर्दथे भने बाबुरामले छुट्टै गुट चलाउँथे । तर शान्ति प्रक्रियामा आएपछि प्रचण्डसँग सँगै रहन सकेनन् । प्रचण्डसँग सहमत नभएका डा. बाबुराम भट्टराई, मोहन बैद्य, नेत्रविक्रम चन्द विप्लब, मातृका यादव लगायतले सम्बन्ध बिच्छेद गर्दै नयाँ अलग अलग पार्टी बनाए । पार्टीबाट अलग भएका केही प्रचण्डतिरै फर्किए भने तत्कालिन नेकपा विभाजनपछि केही नेताहरु एमालेतिर छन् । पछिल्लो समय निरन्तर असहमति जाहेर गर्दै आएका जनार्दनले पनि अब पार्टी नै फुटाउँदैछन् भन्नेसम्मको चर्चा माओवादी वृत्तमा हुने गरेको छ । यद्यपी पार्टी नेतृत्वविरुद्ध खरो टिप्पणी गर्दै आएका नेता राम कार्की बाहिर आएजस्तो असन्तुष्टी पार्टीमा नरहेको दावी गर्छन् ।
माओवादीलाई नियाल्ने हो भने अहिले पनि आफ्नो आलोचना गर्नेहरुप्रति प्रचण्ड अनुदार देखिने गरेका छन् । हरिबोल गजुरेल, राम कार्की, खगराज भट्ट हुँदै जनार्दन शर्मासम्म कहिँ न कहिँ चेपुवामा परेकै छन् । तर माओवादी अहिले बिस्तारै लोकतान्त्रीक बन्दै गएको छ । जनवादी केन्द्रियताको कुरा गर्ने प्रचण्ड स्वयम् पार्टी केन्द्रीय सदस्यसमेत खुला प्रतिष्पर्धाबाट गर्ने अवस्थामा पुगेका छन् । त्यसैले प्रचण्ड पार्टीभित्र पनि पहिलेजस्तो शक्तिशाली छैनन् । त्यसैले पार्टीभित्रका विद्रोही स्वरहरु विस्तारै बिस्फोट हुने खतरा बढेर गएको छ ।