News 24 Television
सिधाकुराको पहलमा इराकमा बेचिएका सातमध्ये २ चेलीको उद्धार, अन्य इराकमै
uddhar

काठमाडाैँ । सात नेपाली चेलीलाई दलालहरुले अवैध ढंगबाट इराक पुर्याएका थिए । यसरी इराक पुर्याइएकामध्ये ३१ वर्षकी सिर्जना लिम्बूको हालै उद्दार भएको छ । सातमध्ये केहीलाई इराकमै सहज रोजगारी प्राप्त भएपछि उनीहरु त्यतै छन् । यसअघि म्याग्दीकी अनिता पाइजाको उद्दार भइसकेको छ । अहिले सकुशल स्वदेश फर्किन पाएकी सिर्जना धनकुटाकी हुन् । नेपाल प्रहरी मानव वेचविखन ब्युरो, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् इराक र महिला विकास संघ नेपालसँगको सँगको सहकार्यमा सिर्जनाको उद्दार सम्भव भएको हो ।

इराकमा बेचिएकी धनकुटा भेडेटार गाउँपालिकाकी ३१ वर्षीया सिर्जना लिम्बुको उद्धार भएको छ । कार्यक्रममा सिधा कुरा जनतासँगको सहयोगमा उद्धार भएपछि लिम्बु स्वदेश फर्किएकी हुन् । उद्दारपछि उनले न्यूज २४ टेलिभिजनलाई धन्यवाद दिएकी छिन् ।

कार्यक्रमको एक हजार ८६औँ श्रृखंलामा हामीले सिर्जनासहित सात नेपाली चेलीलाई गैरकानुनी बाटो हुँदै इराक पुर्याएर बेचिएको विषयमा रिर्पोटिङ गरेका थियौँ । सात चेलीहरुमध्ये ६ हजार डलरमा बेचिएकी म्याग्दी बेनी नगरपालिकाकी अनिता पाइजालाई पनि यसअघि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् इराकसँगको सहकार्यमा नेपाल फर्काउन सफल भएका थियौँ । कार्यक्रममा रिर्पोट प्रशारण भएपछि सातमध्येका केही चेलीहरु कम्पनीसँगको आपसी समझदारीमा पुनः काममा फर्किएका थिए । अहिले अर्की धनकुटाकी सिर्जना पनि उद्धारपछि नेपाल फर्कन पाएकी छिन् । सिर्जनाले भने आफुले भोगेको प्रताडना बारे जानकारी गराउँदै उद्धारका लागि पहल गरिदिन भन्दै आग्रह गरेकी थिइन् ।

घरायसी काममा आकर्षक तलब दिने प्रलोभनमा टर्की पुर्याउने भन्दै सेटिङ मिलाएर सिर्जनालाई इराक पुर्याइएको थियो । सात महिनाअघि पोखराका प्रमोद गुरुङले उनलाई भिजिट भिसामा गैरकानुनी तरिकाले इराक पुर्याएर बिक्री गरेका थिए । तर इराकमा रोजगारदाताबाट उनी यौन दुव्यर्वहारको शिकार हुनु पर्यो । रोजगारदाताले यौनजन्य आशयले उनको शरीरको अङ्गमा छुने प्रयास गर्थे । पटक–पटकमाथि यस्तै दुव्र्यवहार हुन थालेपछि उनी एक महिनामै जागीर छाड्न बाध्य भइन् ।

सिर्जनाले आफुमाथि हुने गरेको दुव्र्यवहार बारे एजेन्ट प्रमोद गुरुङलाई पनि जानकारी गराएकी थिइन् । तर गुरुङले उनीमाथि भएको दुव्र्यवहारको विषयलाई गम्भीर ठानेन् । उल्टै अरुलाइ नहुने तिमिलाई मात्रै दुर्व्यहार हुने भन्दै धम्काउने गर्थे ।

बाध्यताले परेदेशिएकी सिर्जनालाई प्रमोद गुरुङले नै इराकमा नारकीय जिवन विताउन बाध्य पारे । अर्कालाई नारकीय जीवन जिउन बाध्य पार्ने प्रमोद अहिले पनि सम्पर्कविहीन भएर बसेका छन् ।

दर्शकहरु, सिधा कुरा जनतासँगको टिमको एक्लैको प्रयासले मात्रै सिर्जनाको उद्धार सम्भव भएको होइन् । नेपाल प्रहरी मानव वेचविखन ब्युरो, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् इराक र महिला विकास संघ नेपालसँगको सहकार्यमा सिर्जनाको उद्धार सम्भव भएको हो । यी सबै सहयोगी हातहरुलाई धन्यवाद व्यक्त गर्दछौँ ।

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update