
काठमाडौँ । नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छ भन्ने कुरा मुलुकका शिर्ष नेतादेखि सरकार प्रमुखले समेत व्यक्त गर्ने सशक्त अभिव्यक्ति हो । नेपालले एक चीन नीतिलाई अख्तियार गर्दै तिब्बती शरणार्थीका विभिन्न कार्यक्रममा समेत बन्देज लगाउने काम गर्दै आएको छ । तर, पछिल्लो समय नेपालले एक चीन नीतिलाई लत्याउन थालेको त होइन ? प्रश्न उठेको छ ।
चीनले छिमेकीलाई मात्रै नभएर मित्रवत् सम्बन्ध स्थापित भएका सबै मुलुकलाई एक चीन नीतिप्रति प्रतिबद्ध हुन अपिल गर्दै आएको छ । एक चीन नीतिमा चीनले दाबी गर्ने गरेका भूमी र त्यसमा देखिएको विवादमा बाह्य मुलुकले त्यस्ता विवादीत भूमीलाई चीनकै मानेर व्यवहार गर्नुपर्नेमा जोड दिन्छ । भूगोलको विषय मात्रै नभई चीनको स्वायत्त क्षेत्र तिब्बत पनि संवेदनशील मानिन्छ । तिब्बतमा बुद्ध धर्मावलम्बीले गर्ने गतिविधिमा चीनले चनाखो भएर हेर्ने गरेको पाइन्छ । यस्तोमा तिब्बतलाई छुट्टै राज्यको रुपमा हेर्ने दलाई लामा समूह अहिले भारतमा निर्वासित जीवन विताइरहेको अवस्था छ । तर, उनै दलाई लामाको जन्मदिन मनाउदा समेत चीनले राख्ने चासोका बाबजूत लुम्बिनीमा उनै विवादित लामाका समर्थकलाई बोलाउन खोज्दा समस्या निम्तिने खतरा बढेको छ ।
‘लौरिएट्स एन्ड लिडर्स शिखर सम्मेलन’ को नाममा लुम्बिनी प्रदेश सरकारले सम्मेलन आयोजना गर्न लागेपछि यो सम्मेलनमा दलाई लामाको कनेक्सन खोज्न थालिएको छ । तिब्बती पृथकतावादी नेता दलाई लामा भारतमा निर्वासित जीवन विराइरहेका छन् । उनलाई अमेरिकासहित युरोपियन मुलुकहरुले समर्थन गर्दै आइरहेका छन् । तिब्बतलाई छुट्टै राज्य बनाउनुपर्ने दलाई लामा समूहको मागमा चीनले आपत्ति जनाउनु स्वभाविक भएपनि पश्चिमा मुलुकले चीनको सार्वभौमिकतामाथि प्रश्न उठाउने गरि कदम चाल्ने त होइनन भन्ने आशंका समेत देखिन्छ । तर, लुम्बिनीका मुख्यमन्त्री डिल्ली चौधरीले भने केन्द्र सरकारको समर्थन रहेको भन्दै अनावश्यक हल्ला फैलाउन खोजिएको दाबी गरेका छन् ।
लुम्बिनीमा भने सभामुखदेखि नेताहरुले नै विरोध गरिरहेका छन् । त्यसो त यो विषय संघीय समसदमा समेत उठेको छ । एमालेले लुम्बिनीमा दलाई लामालाई ल्याउन खोजिएको हो भन्दै प्रश्न समेत गरेको छ ।
दलाई लामा कनेक्सन
मार्च १० लाई तिब्बति पृथकतावादी क्रियाकलाप गर्दै आएका फ्रि तिब्बत पक्षधर नेताहरुले विशेष दिनको रुपमा लिन्छन् । यहि मितिलाई केन्द्रमा राखेर लुम्बिनी सरकारले मार्च १० देखि १३ सम्म तीन दिन सम्मेलन आयोजना गर्न लागेको थियो । नोबेल शान्ति पुरस्कार विजेतालाई बोलाउने कार्यक्रमका आयोजक दलाई लामा निकटका भारतीय व्यक्ति कैलाश सत्यार्थी हुन् । यो कार्यक्रम विभिन्न देशमा यसअघि भइसकेको छ । यसकारण पनि लामाको कनेक्सन खोज्न थालिएको बताइन्छ ।
मितिको संयोजन
लुम्बिनीमा गर्ने भनिएको अन्तराष्ट्रिय सम्मेलनको मिति फ्रि तिब्बत भन्दै पृथकतावादलाई प्रशय दिने नेताहरुले मुक्ति दिवसका रुपमा मनाउने दिनसँग मिलेको थियो । चिनियाँ सेनासँग मार्च १० देखि १७ सम्मको लडाईमा पराजित भएको दिनलाई उनीहरुले मुक्ति दिवसको रुपमा मनाउने भएकाले यहि समयलाई छेको पारेपछि चिनियाँ पक्षले स्वभाविक चासो राखेको बताइन्छ । चिनियाँ चासोपछि प्रधानमन्त्री प्रचण्डले कार्यक्रमलाई एक दिन पछि सारेर दुई दिन गर्न निर्देशन दिएका थिए ।
मुख्यमन्त्रीको शंकास्पद विदेश भ्रमण
लुम्बिनीका मुख्यमन्त्री डिल्ली चौधरी केही समय पहिले दुई पटक व्यक्तिगत भ्रमण भन्दै विदेश उडे । मुख्यमन्त्री चौधरीले भ्रमणको औपचारिक जानकारी नै नदिई विदेश पुगेको विषयले समेत उनले दलाई लामा पक्षधरसँग यो मिति मिलाउनेदेखि संलग्नताको विषयलाई प्रवेश गराएको आरोप व्याप्त देखिन्छ । एक्लै अमेरिका र भारत भ्रमण गरेका चौधरीले यो कार्यक्रमलाई अहिले विवादमा ल्याउन खोजिएको भन्दै चित्त दुखाएको देखिएपनि आशंका रहेको कतिपयको बुझाई छ । यद्यपी दलाई लामा भने लुम्बिनी नआउने पक्का छ ।